बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हरियोखर्क अस्पताल र योगदान

हरियोखर्क अस्पताल र योगदान


  • Dhorpatan News
  • मंसिर ४ २०८१, मंगलबार

नेपालमा कुष्टरोग लाग्नुलाई देवताको श्रापको रुपमा लिने अन्धविश्वास व्याप्त थियो । कुष्टरोग लागेकाहरुलाई ओडार वा एकान्त ठाउँमा लगेर राखिन्थ्यो । कुष्टरोगको उपचार सम्भव छ भन्ने नै थिएन । एकान्तमा राखिएका रोगीहरुको जीवन असाध्यै कष्टकर थियो । उनीहरुले आवश्यक उपचार त के सेवासम्म पनि पाउँदैनथे । हो,त्यस्तै परिवेशमा इसाई मिसनरीमार्फत् दुईजना युवतीहरु पोखरा आइपुगेका थिए । सन् १९३२ मा नेपाल आएका उनीहरु स्वास्थ्यकर्मी थिए । पोखरामा त्यो बेलासम्म आधुनिक चिकित्सा पद्दति भित्रिसकेको थिएन । वैद्यकै भरमा उपचार हुन्थ्यो । सन् १९५२ सालतिर पोखरा आएका उनीहरुले पोखराको रामघाटतिर एउटा क्लिनिक खोले । आधुनिक चिकित्सा पद्दतिमार्फत् सेवा दिन थाले । उनीहरुकै पहलमा सन् १९५२ मै पोखरा–१, टुँडीखेलमा साइनिङ अस्पताल स्थापना भयो । इन्टरनेसनल नेपाल फेलोसीप( आइएनएफ) ले त्यसको स्थापनामा सघायो । त्यो अस्पताल पछि रामघाटमा स¥यो अनि पश्चिमाञ्चल अञ्चल अस्पताल हुँदै अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बदलियो । उता, आइएनएफले चाहिँ पोखरा १५ नयाँगाउँमा हरियोखर्क अस्पताल संचालमा ल्यायो । कुष्टरोगीहरुको सेवा गर्ने उद्देश्यले स्थापित सो अस्पतालले सेवामात्र दिएन, कुष्टरोगीलाई आश्रय पनि दियो । यो अवधिमा हरियोखर्कले हजारौं कुष्टरोगीलाई उपचार प्रदान गरिसकेको छ । कुष्टरोगका अलावा अन्य रोगका बिरामीले पनि त्यहाँबाट उपचार पाउने गरेका छन् । सुलभ दरमा विशिष्ठ सेवा हरियोखर्कको विशेषता हो । इसाई मिसनरीबाट संचालनमा रहेको र यदाकदा इसाई धर्म प्रचारको आरोप लाग्ने गरे पनि यो अस्पतालले दिएको योगदान अतुलनीय रहेको छ । कुष्टरोग सर्दैन भन्ने मान्यता स्थापित गराउन तथा उनीहरुलाई घरमै राखेर उपचार गराउन सकिन्छ भन्ने तथ्य प्रमाणित गरेकै आधारमा पनि त्यो कुरा पुष्टि हुन्छ । सेवाको कुरा त छँदैछ ।
यही आइएनएफले स्थापनाको ७२ औं वार्षिकोत्सव मनाएको छ । ७२ वर्षको यात्रा क्रममा अस्पतालले दीर्घरोगीका लागि ‘प्रशामक’ सेवा दिने घोषणा गरेको छ । कुनै पनि रोग लागि मानसिक, सामाजिक, भौतिक रुपमा निकै कष्ट खेपेर बसेकाहरुलाई मनोसामाजिकसँगै हेरचाह र उचित तरिकाले उपचार गराउनु नै प्रशामक भएको अस्पतालको भनाइ छ । पछिल्लो समय नेपालमा दीर्घरोगीको संख्या बढ्दै गएको छ । दीर्घरोगीहरुले उचित स्याहारमात्र नपाउनु त छँदैछ, अवहेलना पनि भोगेकै छन् । यस्ता रोगीमा हीनताभाव जाग्नुलाई अन्यथा भन्न नमिल्ला तर मनोसामाजिक परामर्शले त्यसको निदान सम्भव छ । अस्पतालले अहिले जे घोषणा गरेको छ, त्यसमा सफलता प्राप्त होस् । आइएनएफले नेपालका अति विपन्न बर्गको सेवामा जे जति योगदान गरेको छ, त्यो स्तूत्य अनि प्रशंसनीय छ । राज्यबाट यस्तो काम गर्ने संस्थालाई आवश्यक सहुलियत दिनुपर्छ । ७२ वर्षे अनवरत र सफल यात्राका निम्ति हरियोखर्कलाई बधाई ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->