मित्रराष्ट्र जापानको सहयोगमा पोखराको खानेपानी सुदृढीकरण परियोजना सम्पन्न भएको छ । जापानी सहयोग नियोग जाइकाले करीब ४ अर्व ५२ लाखको मेलम्चीपछि दोस्रो ठूलो परियोजना सम्पन्न गरेको हो । २०७३ साल फागुन ४ गते सम्झौता भइ २०७५ साल जेठ २९ गते उद्घाटन भएको परियोजनाले धारामा शुद्ध खानेपानी झार्ने महत्वकांक्षा बोकेको थियो । तर,केही ढिलो गरी सम्पन्न यो परियोजना लक्ष्य अनुसारको शुद्ध पानी खुवाउन भने तत्काल असफल देखिएको छ । नेपाल खानेपानी संस्थानको तर्फबाट गर्नुपर्ने कामहरु बाँकी नै रहेको तथा हाल आपूर्ति भएकोभन्दा कम परिणाममा पानी आउने भएपछि यो अवस्था आएको हो । अहिले पोखराका १९ वटा सहरी वडामा दैनिक करिब ९ करोड लिटर पानीको माग छ । तर, आपूर्ति भने ५ करोड लिटरको हाराहारीमा मात्रै हुँदै आएको छ । मर्दी खोलामा पानी संकलनको लागि बनाइएको मुहानबाटै करिब ५० लाख लिटर पानी कम आउने खानेपानी संस्थानको भनाइ छ । हालको मुहानभन्दा तलबाट पानी ल्याइएकोले परिणाम कम आएको हो। अर्कोतर्फ नागरिक उड्डयन प्राधिकरणको अवरोधका कारण पोखरा १५ मा निर्माण गरिएको ट्याङ्की संचालनमा नआउने भएको छ । जसले गर्दा सो क्षेत्रमा पानी वितरणमा समस्या देखिएको हो । भोटीखोलामा ट्रिटमेन्ट प्लान्टको ८० प्रतिशतमात्र काम सकिनु्, कालिमुडा–माझकुना–घट्टेकुना मुहानको पानी शुद्धीकरण प्लान्ट बनाउनको लागि हालसम्म जग्गाको व्यवस्था नहुनले पनि पोखरेलीको शुद्धपानी खाने सपना पर धकेलिएको हो । सार्दीखोलाबाट थप पानी ल्याउने योजना बल्ल तयार हुँदैछ । जाइकाले परियोजना हस्तान्तरण गरिसक्दा पनि सहरी क्षेत्रमा बिच्छ्याइएको पाइनहरु ‘इन्टरकनेक्सन’को काम भएको छैन । यी सबै काम सक्न थप तीन वर्ष लाग्ने अनुमान छ ।
शुद्ध खानेपानी जनताको नैसर्गिक अधिकार हो । जनताले पानी उपयोग गरेबापत् शुल्क तिर्छन् । शुल्क तिर्ने जनतनलाई शुद्ध तथा आवश्यकता अनुसारको पानी उपलब्ध गराउनैपर्छ । मित्रराष्ट्रले दिल खोलेर सहयोग गर्दा पनि आफ्नोतर्फबाट गरिनुपर्ने काम नगर्नुु खानेपानी संस्थानको लापर्वाही हो । परियोजना हस्तान्तरण भइसकेको सन्दर्भमा खानेपानी संस्थानले बाँकी कामहरु तत्काल सम्पन्न गर्नेतर्फ ध्यान केन्द्रीत गर्नुपर्छ । यसका अलावा हाललाई वैकल्पिक व्यवस्था नै गरेर भए पनि जनतालाई पानी चाहिँ खुवाउनुपर्छ ।




