पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले योग्यलाई विश्वविद्यालयको उपकुलपति बनाइनुपर्ने र पदाधिकारी भागबण्डाको अन्त्य हुनुपर्ने तर्क गरे । जबसम्म विश्वविद्यालयको उपकुलपतिको भिख माग्न नेताको दैलो चहार्नुपर्छ तबसम्म शिक्षामा सुधार नहुने पनि उनीहरुको भनाइ थियो ।
नेपाली कांग्रेस निकट प्राध्यापकहरुको भेलामै सही, उठान गरिएका विषयहरु जायज थिए । उनीहरुले विमर्शकै क्रममा कांग्रेसले शिक्षाजस्तो महत्वपूर्ण मन्त्रालय आफूले लिनेतर्फ ध्यान नदिएको भन्दै असन्तुष्टि पनि जनाए । असन्तुष्टिको अर्थ हो,कांग्रेसले शिक्षा मन्त्रालय पाउँदा त्यसमा कांग्रेस निकटकै व्यक्तिले भर्ना पाउँछन् ! त्योभन्दा पर गएर त्यहाँ बोल्ने वक्ताहरुले अयोग्यलाई उच्चस्थान पु¥याउँदा योग्यको मानमर्दन गरिएको त्यसले विज्ञहरुको पलायनलाई सघाउने चिन्ता पनि जताइयो । हो, नेपालका विश्वविद्यालयमा विज्ञको ठाउँमा कार्यकर्ता भर्ती गरिँदै आइएको छ । राजनीतिक दलहरुले उपकुलपति,रजिष्ट्रार, रेक्टरजस्ता महत्वपूर्ण पद भागबण्डा गर्दा त्यसले विश्वविद्यालयको प्राज्ञिक वातावरण बिग्रेको छ । पञ्चायती व्यवस्थामा बरु यस्तो थिएन । विज्ञहरुलाई नै उचित स्थानमा पु¥याइन्थ्यो । विश्वविद्यालय र प्राध्यापकहरु आफ्नो काममा नै लाग्ने परिपाटी बनेको थियो । तर,२०४६ सालको राजनीतिक परिवर्तनपछि विश्वविद्यालयमा पनि हस्तक्षेप थालियो । योग्य हैन आफ्ना मान्छेले महत्वपूर्ण पद पाउन थाले । पढाउने र सोध गर्ने काम हुन छाड्यो । जसले गर्दा प्राज्ञिक कर्म गर्नेहरु पलायन हुन थाले । विश्वविद्यालयमा राजनीतिक नियुक्ति नगर्ने सहमति नै भए पनि यसअघिका प्रधानमन्त्रीले घुमाउरो बाटोबाट आफ्नै मान्छे रोजे । भर्खरै त्रिभुवन विश्वविद्यालयमा पुनः केही नियुक्तिहरु भएका छन् । महत्वपूर्ण पदमा गरिएका नियुक्तिहरु विशुद्ध क्षमताको आधारमा भएको उपकुलपतिको भनाइ छ तर त्यसमा पनि आशंकाहरु जताइएको छ । जसले गर्दा विश्वविद्यालय राजनीतिक छायाँबाट मुक्त हुन नसकेको देखिएको छ । परीक्षा सुधार,प्राध्यापकहरुको बेतनवृत्तिमा बढोत्तरी हुनैपर्छ तर रजिष्टार राजनीतिक भागबण्डाको आधारमा भन्दा निष्पक्ष प्रतिस्पर्धाको आधारमा नियुक्त हुनुपर्छ । विश्वविद्यालय विशुद्ध प्राज्ञिक क्षेत्र हो । यसले बेरोजगार हैन, दक्ष जनशक्ति उत्पादन गर्न पर्छ । तर, पहिलो सर्त चाहिँ राजनीतिक हस्तक्षेपमुक्त बनाउँदै अनुशासनहीन विद्यार्थी, जिम्मेवारी र दायित्व भुल्ने प्राध्यापक र अल्छी कर्मचारीहरु पनि सुध्रनुपर्छ ।




