बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एनपीएलको सफल आयोजना र पूर्वाधार

एनपीएलको सफल आयोजना र पूर्वाधार


  • Dhorpatan News
  • पुष ६ २०८१, शनिबार

जनकपुर बोल्टस्लाई उपाधि थमाउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को समापन भएको छ । मंसिर १५ गतेबाट पुस ६ गतेसम्म चलेको यो प्रतियोगिता नेपाली खेलकुद इतिहासका निम्ति ऐतिहासिक र अविश्वरणीय बन्न पुगेको छ । यति ठूलो प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्दै नेपाल क्रिकेट संघ(क्यान) को वर्तमान नेतृत्वले आफूलाई प्रमाणितमात्र गरेको छैन, क्रिकेटका निम्ति नयाँ राजमार्ग निर्माणसमेत गरेको छ ।
एनपीएल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा सफलतम् र ठूलो प्रतियोगिता भएकोमा द्विविधा रहेन । यति ठूलो प्रतियोगिता सानो तयारीबाट सम्भव थिएन । क्यान नेतृत्वले निजी क्षेत्रलाई क्रिकेटमा पैसा खन्याउन लगायो । आठवटा टिम निर्माण भयो । विदेशी खेलाडीहरुलाई टिममा समावेश गरियो । ठूलो पुरस्कार राशीको जोहोदेखि खेलकुदको प्रत्यक्ष प्रशारणमा ख्यातिप्राप्त स्टार स्पोर्टस्बाट यसको प्रत्यक्ष प्रशारणको व्यवस्था मिलायो । जसले गर्दा क्रिकेटको सामान्य पूर्वाधार भएको हिमाली गणराज्यमा आयोजित प्रतियोगिताले अन्तर्राष्ट्रिय जगतको ध्यान आकृष्ट गरायो । टिममा भएका विदेशी खेलाडीबाट नेपालीले पनि सिक्ने अवसर पाए । एक महिनाभन्दा पनि कम समय खेलेर २० लाख रुपैयाँ हाराहारी आम्दानी गर्नु तथा महंगो कार नै उपहार पाउनु सामान्य विषय थिएन । क्रिकेटको व्यावसायिकीकरणले खेलमा भविष्य छ भन्ने भाष्य निर्माण भयो । एक अर्बभन्दा बढी पैसा क्रिकेटमा लगानी हुनु भनेको सानो कुरा हैन । आउँदा दिनमा क्रिकेटप्रति मोह जगाउन, नयाँ खेलाडी उत्पादन गर्नका निम्ति पनि यो प्रतियोगिताले भरपुर योगदान गरेको छ । त्रिभुवन विश्वविद्यालयभित्रको मैदानमा भएको प्रतियोगितालाई खेलप्रेमीको माया पनि अभूतपूर्व रह्यो । यी र यस्ता विभिन्न कोणबाट हेर्दा एनपीएल साँच्चिकै नेपाली खेलकुदले गर्व गर्नलायक प्रतियोगिता बन्यो । क्यानले प्रतियोगितालाई निरन्तरता दिने बताएको छ । क्यानको यो अभियानलाई राज्यले सक्दो सहयोग गर्नुपर्छ । क्रिकेट खेल्नको लागि स्तरीय रंगशाला पनि नभएको तथ्यलाई सरकार र राजनीतिक नेतृत्वले मनन गर्नुपर्छ । पूर्वाधारसँगै खेलाडी उत्पादनको लागि योजनावद्ध तरिकाले अगाडि बढ्नै पर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->