गाजामा युद्धविराम भएको छ । सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा ४६ हजार ८ सय ९९ जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको हमासले जनाएको छ । मृतकको संख्या योभन्दा पनि बढी हुनसक्ने र कयौं मान्छेहरु हराइरहेको पनि त्यहाँको स्वास्थ्य मन्त्रालयको भनाइ छ । घाइते र बिस्थापितहरुको संख्या पनि असाध्यै ठूलो छ । हमासले सन् २०२३ को अक्टोबरमा इजरायलभित्रै पसेर करिब १२ सय जनाको ज्यान लिएको थियो भने २ सय ५१ जनालाई बन्धक बनाएको थियो । हमासको आक्रमणमा परेर १० जना नेपालीहरु मारिएका थिए भने विपिन जोशीलाई उनीहरुले बन्धक बनाएका थिए । युद्धविरामपछि विपिन रिहा हुने आशा बढेको छ ।
मध्यपूर्वमा भएको यो त्रासदीपूर्ण युद्धले ठूलो मानवीय संकट निम्त्याएको थियो । परम्परागत दुस्मन मानिएका इजरायल र प्यालेस्टाइनबीचको लामो युद्धलाई विराम दिन अमेरिका र अरबी देशहरुले मध्यस्थताको भूमिका निर्वाह गरेका थिए । युद्धविरामसँगै विस्थापितहरु घर फर्कने र सो क्षेत्रमा शान्ति कायम हुने अपेक्षा गरिए पनि युद्धका बाछिटाहरु त्यत्तिकै अन्त्य भने हुने छैनन् ।
इजरायली आक्रमणले गाजामा ठूलो विध्वशं भएको छ । खाद्यान्न, इन्धन र बास बस्ने घरको पनि ठूलो अभाव छ । त्यस्तोमा आफ्नो थातथलो फर्किएका प्यालेस्टाइनीहरुको आधारभूत आवश्यकता पूर्तिको लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक पर्ने देखिएको छ । मानवीय नाताले सो क्षेत्रका बासिन्दालाई सघाउनैपर्छ । मुख्य कुरा त के छ भने, त्यो क्षेत्रमा दिगो शान्तिको वातावरण निर्माण गरिनुपर्छ । प्यालेस्टाइनी नागरिकको आफ्नो भूमिमा बस्न पाउने अधिकार रक्षाका लागि इजरायल नरम बनेमा र हमासजस्ता कट्टरपन्थी समूहले युद्धको मानसिकता छाडेमामात्र त्यस्तो वातावरण बन्नेछ ।
जारी रुस–युक्रेन युद्ध र गाजामा भएको इजरायली आक्रमणको प्रभाव संंसारभर परेको छ । युद्धले कसैको भलो गर्दैन । युद्धका घाउहरु तत्काल बिसेक पनि हुँदैनन् । अतः युद्ध हैन,शान्तिको वातावरण निर्माण हुनुपर्छ । युद्धविरामसँगै निर्माण भएको शान्ति बहालीको वातावरणलाई बिगार्ने काम कतैबाट पनि हुनुहुँदैन ।




