बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

निसीखोलाका आमाहरुको अनुकरणीय कार्य

निसीखोलाका आमाहरुको अनुकरणीय कार्य


  • Dhorpatan News
  • माघ ९ २०८१, बुधबार

बागलुङको निसीखोला गाउँपालिकाले खोपलाई नियमित बनाउने,होम डेलीभरी हटाउने तथा नियमित गर्भ जाँच गराउने अभियान संचालन गरिरहेको छ । मातृशिशु मृत्यु अन्त्यको लागि चालिएको अभियान प्रभावकारीमात्र भएको छैन, यसले बालविवाह रोक्न पनि सघाएको छ ।
नेपालको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार नेपालमा अझै पनि १९ प्रतिशत बालबालिकाहरु घरमै जन्मिने गरेका छन् । गण्डकी प्रदेशमा ८८ प्रतिशत बच्चाहरु स्वास्थ्य संस्थामा जन्मेको तथ्याङ्क छ भने प्रतिएक हजार जीवित जन्ममा ३३ बच्चाले ज्यान गुमाउने गरेका छन् । स्वास्थ्य सेवामा पहुँच नभएकै कारण यो अवस्था आएकोमा कुनै द्विविधा छैन । अर्को कारण भनेको सानो उमेरमै हुने विवाह पनि हो । जसले आमा र शिशु दुबैको ज्यान जोखिममा पार्छ । उमेर नपुगी विहे हुनमा गरिबी र अशिक्षाले काम गरेको छ । सरकारले बालविहेमाथि बन्देज लगाएको छ । मातृशिशु मृत्युदर शून्यमा झार्ने घोषणा गरेको छ । घोषणा कार्यान्वयनमा आएको छ तर गतिप्रति अझै चित्त बुझाउने अवस्था छैन । दूरदराजमा रहेका स्वास्थ्य केन्द्रसम्म पुग्नै नसक्ने, पुगे पनि भनेजस्तो उपचार नपाउने अवस्था पनि विद्यमान नै छ ।
नेपालमा स्वास्थ्य सेवाको पहुँच नै न्यून रहेको छ । खासगरी दूरदराजका गाउँहरुमा अहिले पनि सामान्य उपचार नपाएर मानिसले ज्यान गुमाउने गरेका छन् । नेपालमा न्यून गुणस्तरीय स्वास्थ्यसेवाबाट वर्षेनी ४६ हजार जनाको मृत्यु हुने गरेको तथ्याङ्क रहेको छ । एकातिर न्यून गुणस्तरीय सेवा र अर्कोतिर पहुँचको अभाव ! यसले मातृ–शिशुको स्वास्थ्यमा गम्भीर धक्का पु¥याउँदै आएको छ । पछिल्लो समय पालिकाहरुमा बर्थिङ सेण्टरहरु स्थापना भएका छन् । सुत्केरी प्रतीक्षालय, आवश्यक परेको बेला प्रदेश सरकारले एयर लिफ्टिङको व्यवस्था पनि गरेकै छ । तर पनि बाटोमै सुत्केरी हुनुपर्ने बाध्यता अनि ज्यान गुमाउने अवस्थाको अन्त्य हुन सकेको छैन । यद्यपि, सामान्य सुधार र प्रयासले यी समस्या घटाउन महत्वपूर्ण भूमिका खेल्दो रहेछ भन्ने पनि निसीखोलाको अभियानले पुष्टि गरेको छ । निसीखोलाबाट अरु पालिकाले पनि सिक्नुपर्छ । बालविवाह हटाउन तथा मातृशिशु मृत्युदर अन्त्यको लागि सार्थक पहल हुनैपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->