‘डेभिज फल्स’ पनि भनिने पातले छाँगोको व्यवस्थापन एवं संचालन कसले गर्ने भन्ने विवाद तत्कालको लागि टरेको छ । सर्वदलीय र सर्वपक्षीय बैठकले पातले छाँगोको व्यवस्थापन र संचालन महागरले नै गर्ने निर्णय गरेसँगै तत्कालको लागि यो विवाद टुंगिएको हो । २०३४ सालदेखि पातले छाँगोको व्यवस्थापन स्थानीय छोरपाटन माविले गर्दै आइरहेको छ भने त्यहाँबाट वार्षिक ४ करोडभन्दा बढी राजश्व उठ्ने गरेको छ । विद्यालय संचालनको लागि प्रवेश शुल्कबाट आएको रकम प्रयोग गर्ने गरिए पनि महालेखा परिक्षकको कार्यालयले एक विद्यालयले यसरी सम्पदाको शुल्क लिनु गैरकानूनी रहेको हुँदा बेरुजु उल्लेख गरेको र फछ्र्यौटका लागि महानगरपालिकालाई निर्देशन दिएको छ । त्यही निर्देशनको आधारमा महानगरले पातले छाँगोको संचालन आफैले गर्ने निर्णय गर्यो । स्थानीयले चाहिँ पातले छाँगो निजी कम्पनीलाई दिन खोजिएको भन्दै विरोध जनाए । छोरपाटन मावि संचालनको लागि पनि त्यसको संचालन विद्यालयले नै गर्नुपर्ने माग गरियो । विवादकै बीच प्रवेश द्वारमा ताला लाग्यो । खासमा सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरुप महानगरले पातले छाँगो एक निजी कम्पनीलाई सुम्पन लागेको थियो । सर्वपक्षीय बैठकले निजी कम्पनीलाई प्राकृतिक सम्पदा सुम्पने कि नसुम्पने भन्नबारे छलफल अगाडि बढाउने निर्णय गरेको छ ।
यो निर्णयसँगै सार्वजनिक निजी साझेदारी अवधारणा कसरी लागू गर्ने भन्ने नयाँ बहसको पनि थालनी भएको छ । सार्वजनिक निजी साझेदारी संसारभर प्रचलनमा छ । व्यवसाय गर्ने वातारण निर्माण गरिदिन्छ । सामान्य भाषामा भन्दा विभिन्न प्राकृतिक सम्पदा, पूर्वाधार र स्रोत निश्चित प्रक्रिया र शुल्क लिएर निजी क्षेत्रलाई संचालन गर्न दिनु नै सार्वजनिक निजी साझेदारी हो । त्यस्तो परियोजनामा निजी क्षेत्रले लगानी गर्नुपर्छ । लगानी गर्नेले प्रतिफल खोज्छ । जोखिम मोल्नेले प्रतिफल खोज्नुलाई अस्वभाविक मान्नु हुँदैन । राज्यले व्यवसाय गर्दैन र निजी क्षेत्रलाई प्रोत्साहित गर्छ भन्ने मान्यतामा अडेर नै यस्ता सम्झौताहरु गरिन्छन् । विकास र समृद्धि चाहने हो भने निजी क्षेत्रलाई यस्तो अवसर दिनैपर्छ । निजी क्षेत्रलाई प्रोत्साहित गरिएन भने राजश्वका स्रोतहरु बढ्दैनन् । तर, त्यसरी गरिने निर्णयहरु पारदर्शी हुनुपर्छ । पातले छाँगोसहितका केही परियोजना निजी क्षेत्रलाई दिने सवालमा पारदर्शिताको अभाव भएको पक्कै हो तर यस्ता कार्यहरु गलत चाहिँ हैनन् भन्ने सबैले बुझ्नुपर्छ । महानगर व्यापार गरेर बस्नु हुँदैन ।




