सिर्जनाका लागि प्रख्यात सहर हो, पोखरा । यहाँ दिनहुँजसो केही न केही भइरहेको हुन्छ । कोही ताल र हिमाल हेर्दै चित्र अनि कविता कोर्नेहरु, गीत रच्ने र संगीत भर्नेहरु बर्गेल्ती भेटिनु पनि पोखराको विशेषता हो ।साहित्य, कला र संगीतमा हस्तक्षेपकारी भूमिका निभाउँदै आएकाले पोखरा साँच्चिकैको पोखरा बनेको हो । कविशिरोमणि लेखनाथ पौड्यालको ऋतु विचारदेखि अहिलेसम्म यहाँका श्रष्टाका सयौँ कृतिले नेपाली साहित्यमा गहकिलो ठाउँ बनाएका छन् । झलकमान गन्धर्वको ‘आमाले सोध्लिन् नि खै छोरा भन्लिन्’ भन्ने गीतको झंकार पच्छ्याउँदै कयौँ कलाकारले आफूलाई राष्ट्रिय÷अन्तर्राष्ट्रिय रुपले स्थापित गराएका छन् । पानीरंगको पाठशाला मानिने पोखराबाटै वात्सायनहरुले लोभलाग्दा कलाकृति सिर्जना गरेका छन् । नाट्यकर्मीहरुले बेजोड नाटक पस्केका छन् ।
गीत संगीतको कुरा गर्ने हो भने, पोखराले नै त हो सन् १९९० को दशक धानेको । पश्चिमा संगीतलाई फ्युजन गरी सिर्जित पपगीतमार्फत् तहल्का मच्चाएको ! तर, समय त्यस्तो छैन । अहिले पोखरासँग पुरानो विरासत त छ तर नयाँ सिर्जना छैन भन्ने अवस्था सिर्जना भएको छ । जसले गर्दा यहाँका कलाकार छायाँमा परेका छन् । त्यही अनुभूतिले हुनुपर्छ, शनिबार पोखरामा सन् ८० को दशकमा तहल्ला पिटेका सर्जकहरु एउटै थलोमा जम्मा भए । गीत गाए, स्रोतालाई मनोरञ्जन दिए । हिजोका समर्थकहरुको साथले उनीहरु पुलकित नै बने । तर, त्यही कार्यक्रमले के महसुस गरायो भने–गर्नुपर्ने काम अर्को पनि रहेछ !
सर्जकहरु समयको कथा भन्छन्, स्वरैकल्पनामा रमाउँछन् वा आत्माको झंकारलाई च्याप्पै समाउँछन् । अनि पाठक,स्रोता वा दर्शकको मनमा डेरा जमाउँछन् । आत्मरति एउटा कुरा होला तर सिर्जनाको मूल मर्म भनेको लक्षित वर्गको सन्तुष्टिसँग पनि जोडिएको हुन्छ । उनीहरुले स्वीकार्ने सिर्जनाहरु साँच्चिकै कालजयी र लोकप्रिय हुन्छन् । अक्सर सर्जकहरु चाहन्छन् पनि त्यही । तर,सोचेजस्तो हुँदैन । समयको गतिसँगै पाठक÷स्रोता र दर्शको बदलिएको आकांक्षा पूरा गर्न उनीहरु असफल बन्छन् । गीत–संगीतको क्षेत्रमा त्यसो हुँदा कहिलेकाहिँ सर्जक नै ओझेलमा पर्ने अवस्था सिर्जना हुन्छ । त्यसका लागि सर्जकले निरन्तर मिहिनेत गर्नुपर्छ । एउटा सांगीतिक कार्यक्रमको आयोजनाले विरासत फर्कदैन, अतितमात्र सम्झाउँछ । विरासत फर्काउन नयाँ सिर्जना पस्किनुपर्छ । पोखराको गीत–संगीत क्षेत्रमा लागेकाहरुले बुझ्नुपर्ने यही हो । सिर्जनामा अब्बल भए विरासत आफै फर्कन्छ ।




