बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चौतारा जोगाऊ, रुख रोप

चौतारा जोगाऊ, रुख रोप


  • Dhorpatan News
  • माघ २९ २०८१, मंगलबार

मेयरमा विजयी भएसँगै पोखराका मेयर धनराज आचार्यले तीन महिना भित्र महानगर भित्रका सबै घर कम्पाउण्डमा विरुवा रोप्न नगरवासीलाई अनिवार्य गरेको सुनाएका थिए । उनले वन विज्ञान अध्ययन संस्थानले गरेको अध्ययन अनुसार पोखराका सडक अनि खाली ठाउँमा मा ३ लाख रैथाने विरुवा रोप्ने पनि बताएका थिए । ५० औं विश्व वातावरण दिवसको अवसरमा दिइएको सो अभिव्यक्ति कार्यान्वयनमा आएको छैन । बरु,पोखरामा रहेका चौताराहरु एकाएक काटिएका छन् । महायज्ञको नाममा कथित धर्मगुरुको आह्वानमा कोटीहोमको लागि भन्दै रुखहरु बर पीपलका रुखहरु काटिएका छन् । फेदमात्र बाँकी राखेर काटिएका ती रुखहरु पुनः पलाउनेमा शंका छ । त्यत्रा रुख काटिँदा महानगर भने अनविज्ञ रह्यो । अभियन्ताहरुको विरोधपछि बल्ल उसले कोटीहोम लगाउन रुख काटिएको थाहा पायो । अहिले काटिएका ठुटाहरु नियन्त्रणमा लिइएको छ । महानगरले कोटीहोम नै गर्न नदिने बताएको छ ।
पोखरामा पछिल्ला वर्षहरुमा चौतारा मासिने क्रम तीव्र बनेको छ । केही समयअघि ८ सयको हाराहारीमा रहेका चौताराहरु घटेर २ सयको हाराहारीमा झरेका छन् । स्थानीयहरुबाटै पनि चौतारा मास्ने काम भइरहेको छ । पुर्खाले वातावरणीय सन्तुलन कायम राख्न लगाएका चौताराहरु संरक्षण गर्नु अहिलेको पुस्ताको दायित्व हो । उता, गण्डकी प्रदेश सरकारले बनाएको वातावरण ऐनले पनि संरक्षणको दायित्व स्थानीय तहलाई नै सुम्पेको छ । यसमानेमा पोखराको चिनारी मानिएका चौतारा जोगाउने दायित्व महानगरकै काँधमा छ । महानगरले कोटीहोम प्रकरणमा दोहोरो भूमिका निभाएको देखिएको छ । कोटीहोम गर्न वडाबाट लिखित स्वीकृति दिइएको छ भने रुख काट्न मौखिक वचन दिइएको गाइँगुइँ चलेको छ । महानगरले यो विषयमा के भएको हो भन्ने जनमानसलाई प्रष्ट पानुपर्छ । बदमासी गर्नेलाई कारवाही गर्नुपर्छ र रुख रोप्ने अभियान तत्काल थाल्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->