हिन्दु धर्मशास्त्रमा होमबाट हुने विभिन्न फाइदाबारे ब्याख्या गरिएको छ । आधुनिक विश्वविद्यालयका विभिन्न सोधग्रन्थहरुमा पनि ‘हवन’ बाट वातावरण र मन शुद्ध हुने जिकिर गरिएको छ । हवनमा घ्यू,चरु (चामल, धान, जौ,तिल), समिदा प्रयोगमा आउँछ । ठाउँ र उपलब्धता अनुसार समिदामा प्रयोग गरिने काठ फरक हुन्छ । नौवटा ग्रहलाई सम्झेर यस्ता समिदा तयार पारिन्छ । सूर्य (आँक), चन्द्रमा (पलाँस) मंगल (खयर), बुध (दतिवन), बृहस्पति (पीपल) शुक्र (नेभारो), शनि (समी), राहु (दुबो) र केतु (कुश) हो भन्ने मान्यता छ । आँप, बेल, नीम साल, खयर, सिसौ, तुलसीको डाँठ, चन्दनको दाउरा, अश्वगन्धाको जरा,बेललगायतका वृक्षको काठ पनि हवन कर्ममा प्रयोग हुन्छ ।
आयुर्वेदले नाकलाई टाउको र मस्तिष्कको द्वार मान्छ र यहीँबाट प्रवेश हुने सुगन्धले त्यहाँ भएका रोग निवारण हुने ठान्दछ । हवनबाट उत्पन्न हुने सुगन्ध तथा धुवाँको महत्ववारे आ–आफ्ना तर्क÷आस्था÷मान्यता होलान् तर पोखरामा आयोजना हुने भनिएको एउटा हवन अनुष्ठानले भने यहाँ दुर्गन्ध एवं विभिन्न आशंकाहरु उत्पन्न गराएको छ ।
पहिलो त, यहाँको पर्यटकीय क्षेत्र लेकसाइडमा आयोजना गरिने भनिएको कोटीहोमका मुख्य कर्ता नै विवादित छन् । ठगीको आरोपमा जेल सजाय भोगेका विजय कृष्णमूर्ति भनिने विजय भण्डारीको विगत र नियत राम्रो देखिँदैन । उनीमाथि धर्म भँजाएर सर्वसाधारणबाट पैसा असूल गर्ने गरेको आरोप छ । सामान्यतयाः धर्मगुरुहरु डरबाट मुक्त हुन्छन् । तर, यी कथित बालयोगेश्वर चाहिँ सुरक्षा घेरामा बस्छन् । नानाभाँती बोल्छन् र कानूनको पनि अनदेखा गर्छन् । कतिसम्म भने, कोटीहोमकै नाममा यिनले पोखराका चौताराहरु निमिट्यान्न पारेका छन् । विजय भण्डारीलाई धर्मगुरु नै मान्ने हो भने पनि उनले श्रीमद्भागवत् गीताको ११ औं अध्यायको २७ औं श्लोकमा कृष्णले ‘बृक्षहरुमा प पीपल हुँ’ भनेको सम्झनुपर्ने हो । त्यत्ति पनि नसम्झने यी कथित धर्मगुरुले आफूलाई कसरी कृष्णमूर्ति भन्ने धृष्टता गरे ? प्रश्न यहीँनेर छ । कोटीहोमको लागि चौताराहरु मास्नु पर्दैन । स्वच्छ मनले आयोजना गर्ने हो भने, समिदा भक्तजनले नै ल्याउँछन् । जोगीको घर र डर हुँदैन । भुसतिघ्रेको घेरामा रमाउनेहरु धर्म भजाउँछन्, धार्मिक हुँदैनन् । उनलाई शक्तिवान बनाउनुमा कथित धर्मान्ध तथा अन्धविश्वासी जमातको हात रहेको छ । यज्ञका निम्ति अनुमति प्रदान गर्ने स्थानीय सरकार र प्रशासन पनि दोषमुक्त छैन ।
‘धर्मको नाममा अधर्म पनि गर्न तयार छु’ भन्दै प्रशासन ललकार्ने तथा अराजकता फैलाउन उद्यत देखिने व्यक्ति कानूनको दृष्टिमा क्षम्य हुँदैनन् । यसरी हेर्दा, विजय भण्डारीमा खोटैखोट देखिन्छ । उनको नियत सफा छैन । उनले आयोजना गर्ने कोटीहोमले वातावरण सफा पार्दैन बरु अराजतकता निम्त्याउने आशंकालाई बल पु¥याउँछ । अराजकता र बिखण्डन निम्त्याउने विवादित कोटीहोम पोखराको लागि आवश्यक छैन । यसले कुनै पनि कोणबाट धर्मको रक्षा गर्दैन । उनी जसरी पनि कोटीहोम आयोजना गर्ने बालहठमा छन् । अदालत गुहारेका छन् । शक्तिको दुरुप्रयोग गरेका छन् । यस्तो प्रवृत्तिलाई समाजले नै अस्वीकार गर्नुपर्छ । र,आफूमाथि लागेका यावत् आरोपहरुको जवाफ दिन चाहिँ विजय स्वतन्त्र छन् ।




