सडक समृद्धिको माध्यम हो । सहज संजालको बिस्तारले जीवन सहज बनाउँछ,सम्भावनाका ढोकाहरु खोल्छ र नागरिकहरुलाई अवसरसम्म पु¥याउँछ । बागलुङको पश्चिमी भेगमा रहेका जैमिनीसहितका पालिकाहरुका जनताले कालीगण्डकी करिडर खुलेपछि यो सत्यको महसुस गरेका छन् । कुश्मीसेराबाट बुटबल जानुपर्ने व्यक्ति यसअघि बागलुङ सदरमुकाम आउनुपथ्र्यो । एकरात त्यहीँ बसेपछि बल्ल बुटबलको यात्रा सुरु हुन्थ्यो । बागलुङसम्म ६ सय र बागलुङबाट थप १२ सय भाडा तिर्नुपथ्र्यो । तर, कालीगण्डकी करिडर बनेपछि बुटबल नजिकिएको छ । बिहान हिँडेको मान्छे बुटबल पुगेर बेलुका फर्कने अवस्था सिर्जना भएको छ । भारतीय सीमा नजिक रहेको बुटबलसँग जोडिएपछि दैनिक उपभोग्य बस्तुको भाउ पनि
सस्तिएको छ ।
कालीगण्डकी करिडोरको काम सकिएको छैन तर सम्भावनाको नयाँ ढोका खुलेको छ । किनकि, यो करिडोरले ४ सय १७ किलोमिटर दूरीसहित चीन र भारत जोड्ने त्रिदेशीय मार्ग निर्माण गरेको छ । करिडोरअन्तर्गत गुल्मी र बागलुङ खण्डको कालोपत्रेको काम भइरहेको छ । २०८२ को मंसिर मसान्तसम्म सकिने करिडोरको ८० प्रतिशत काम सकिएकाले बुटबलदेखि बागलुङको कुश्मीसेरासम्म बस चल्न थालेका हुन् । यात्रा ५ घण्टा छोटो बनेको छ । यो कोरोडिर संघीय सरकारले बनाएको हो । गण्डकी प्रदेश भएर जाने मध्यपहाडी राजमार्ग तथा कोरोला–त्रिवेणी राजमार्ग पनि निर्माणाधीन छन् । यी सडकको दायित्व संघीय सरकारको हो ।
गण्डकी सरकारले स्थापनाकै बेलादेखि हरेक सदरमुकामलाई प्रदेश सदरमुकाम र वडाहरुलाई पालिकासम्म जोड्ने योजना अगाडि सारेको थियो । योजनाले पूर्णता नपाए पनि काम जारी छ । प्रदेश सरकारले हालसम्म पक्की (कालोपत्रे÷ढलान) ९ सय २३ र ग्राभेल ७ सय किमी सडक निर्माण सम्पन्न गरेको जनाएको छ । एक निर्वाचन क्षेत्रः एक सडक कार्यक्रमअन्तर्गत ३६ सडक आयोजनाको कुल लम्बाइ ६ सय ७१ किमी रहेकोमा हालसम्म २१५ किमी सम्पन्न र २ सय ३१ किमी सडक स्तरोन्नति गर्ने गरी काम भइरहेको छ । स्थानीय तहको केन्द्र जोड्ने सडक निर्माण कार्यक्रमको कुल लम्बाई ६ सय ७ किमी रहेकोमा हालसम्म २ सय १९ किमी सम्पन्न र २ सय १६ किमी सडक स्तरोन्नति जारी रहेको पनि प्रदेश सरकारले जनाएको छ । केन्द्रसम्म सडक नजोडिएको गोरखाको चुमनुब्री र मनाङको नार्पाभूमिका केन्द्रमा सडक सञ्जाल पु¥याउने लक्ष्य अनुसार विस्तृत आयोजना प्रतिवेदन तयार गरिएको पनि प्रदेश सरकारको जिकिर छ । प्रदेश सरकारबाट घोषित एक निर्वाचन क्षेत्रः एक सडक तथा पालिकालाई केन्द्रसम्म जोड्ने योजनाहरु समयमा सक्नेतर्फ विशेष ध्यान दिनुपर्ने भएको छ । प्रदेश स्थापनाका ७ वर्षसम्म पनि सुरुमा घोषित कार्यक्रम पूरा नहुनु भनेको जनताको सपना चकनाचुर हुनुमात्र हैन, प्रदेश सरकारप्रतिको विश्वास तिरोहित हुने अवस्था पनि हो भन्ने प्रदेश सरकारले मनन गर्नैपर्छ । जनतालाई अवसरसम्म डोहो¥याउन सडक सञ्जाल बिस्तारको काम समयमै सम्पन्न गरिनुपर्छ ।




