नेपालमा रक्सी सेवन सामाजिक चलन जस्तै बनेको छ, तर यसको दुरुपयोगले स्वास्थ्य, परिवार र समाजमा गम्भीर असर पारिरहेको छ । मदिरा सेवनले मानिसको मानसिक र शारीरिक स्वास्थ्यमा दीर्घकालीन नकारात्मक प्रभाव पार्छ । उच्च रक्तचाप, कलेजोको समस्या, मुटुरोग तथा क्यान्सरजस्ता गम्भीर रोगहरू यसको प्रत्यक्ष परिणाम हुन् ।
रक्सी सेवनले व्यक्ति मात्र नभई परिवार र समाजमा पनि प्रतिकूल असर पार्छ । मदिराले पारिवारिक झगडा, घरेलु हिंसा, आर्थिक संकट, दुर्घटना तथा अपराध दरमा वृद्धि गर्ने प्रमाणहरू स्पष्ट छन् । नेपालमा सडक दुर्घटनाका प्रमुख कारणमध्ये एक मदिरा सेवनपछिको लापरवाहीपूर्ण ड्राइभिङ हो, जसले निर्दोष नागरिकको ज्यान लिन्छ । रक्सीको लत लागेपछि व्यक्तिको कार्यक्षमता कमजोर हुन्छ, जसले व्यक्तिगत तथा व्यावसायिक जीवनलाई तहसनहस पार्छ । युवापुस्तामा यसको बढ्दो प्रभावले देशको भविष्य नै अन्धकारमय हुन सक्छ । सरकारले रक्सी बिक्री वितरणमा कडाइ गर्नुका साथै जनचेतनामूलक अभियानहरू सञ्चालन गर्नुपर्छ ।
स्वस्थ, सभ्य र समुन्नत समाज निर्माणका लागि हामी सबैले व्यक्तिगत तहबाटै मदिरा सेवनलाई निरुत्साहित गर्नुपर्छ । वैकल्पिक जीवनशैलीलाई प्रवद्र्धन गर्दै जिम्मेवार नागरिकका रूपमा समाजलाई सकारात्मक दिशामा अघि बढाउनु आजको आवश्यकता हो । रक्सीमुक्त समाज मात्र होइन, स्वस्थ राष्ट्र निर्माण हाम्रो सामूहिक लक्ष्य हुनुपर्छ ।




