त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६२ वटा आंगिक र १ हजार ४० वटा सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनवी प्रक्रिया जारी छ । कार्यतालिका अनुसार विद्यार्थी संगठनहरु दर्ता ब्जएका छन् ।आन्तरिक रुपले उम्मेदवारी तय गर्दैछन् र प्रचारमा उत्रिएका छन् ।यही प्रक्रियाअन्तर्गत फागुन २७ लाई उम्मेदवारी दर्ताको दिन तोकिएको छ । मिश्रित र समानुपातिक प्रणालीबाट हुने निर्वाचनमा २०५१ साल चैत १८ गते जन्ममिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउने प्रावधान राखिएको छ । विद्यार्थी संख्याको आधारमा कार्यसमिति तय हुनेछ ।अन्य प्रक्रियापछि चैत ५ गते चुनाव हुनेछ ।
स्ववियु खासमा विद्यार्थी हितका लागि कल्पना गरिएको संस्था हो ।विद्यार्थी आफैंले आफ्नो नेता चुन्ने र आफ्नो हितका विषयहरु चुनिएका नेतामार्फत् क्याम्पस नेतृत्वसम्म पुर्याउने जिम्मेवारी प्रदान गर्नको लागि निर्वाचन गरिने हो । विद्यार्थी हितको मुख्य जिम्मेवारी भए पनि पन्चायतकालदेखि नै स्ववियु निर्वाचन दलहरुको सामर्थ्य नाप्ने घडीको रुपमा प्रतिस्थापित भएको छ ।राजनीतिक दलनिकट विद्यार्थी संगठनहरु पन्चायतमा पनि प्रतिस्पर्धामा ओर्लन्थे र अहिले पनि त्यस्तै हुँदै आएको छ ।
राजनीतिक नेतृत्व जन्माउने थलोको रुपमा हेरिने निर्वाचन त्यही कारण पेचिलो बन्छ ।दलविहीन पन्चायतकालीन समय अर्थात् २०१९ सालदेखि सुरु भएको चुनावमा विद्यार्थीहरु स्वच्छ प्रतिस्पर्धामा मात्र उतदैनन्,कहिलेकाहिँ भिडन्त अनि अमर्यादित व्यवहार पनि प्रदर्शन गर्छन् । विधायक चुन्ने चुनावभन्दा चर्को रुपले एकाअर्काप्रति हिलो छ्याप्ने तथा त्यही उपक्रममा बाहुबल प्रदर्शन गर्ने प्रवृत्तिले गर्दा स्ववियु चुनाव विवादित बन्ने गरेको छ ।यही कारणले नै विगत १४ वर्षदेखि चुनाव नियमित हुन सकेको छैन । २०७३ मा भएको चुनाव हेर्ने हो भने पनि काठमाडौंका नौ र बाहिरका १७ वटा क्याम्पसमा मात्र चुनाव सम्भव हुनुमा त्यही प्रवृत्ति दोषी छ ।
आवधिक निर्वाचन लोकतन्त्रको प्राण हो ।हरेक २ वर्षमा हुने चुनाव धेरैपछि हुँदैछ । यसर्थ यो उत्सव भन्जुपर्छ ।तर,अहिले पनि अपसकुन देखिन थालेका छन् ।क्याम्पसका कुर्सी फोड्नेदेखि अन्य भौतिक सम्पत्तिमा क्षति पुर्याउने काम भएको छ ।यस्ता हर्कतले निर्वाचनको माहोल बिगार्छ ।विद्यार्थी संगठनले यस्ता अराजक काम तत्काल रोक्नुपर्छ । त्यसको लागि त्रिवि प्रशासनले अनुरोध र घटनाको छानबिन माग गरेको छ ।
स्ववियु निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न विद्यार्थी संगठन नै जिम्मेवार बन्नुपर्छ । चुनावलाई बाहुबल प्रदर्शन गर्ने थलो बनाइनु हुँदैन ।त्यस्ता हर्कत गर्नेलाई दण्ड दिन र भयरहित वातावरणमा चुनाव गराउन सरकार,राजनीतिक दल एवं सुरक्षा निकायले त्रिवि प्रशासनलाई सघाउनु पर्छ ।नेता जन्माउने नर्सरीको रुपमा हेरिने विद्यार्थी संगठन अराजक नहुँदा शान्त वातावरणमा चुनाव सम्भव हिंसा,घृणा ,अराजकता र बाहुबलको भरमा नेता बन्ने सपना छाड्दा नै विद्यार्थी संगठन एवं नेताको भलो छ ।




