बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रहरीलाई गतिलो बास देऊ

प्रहरीलाई गतिलो बास देऊ


  • Dhorpatan News
  • फाल्गुन २७ २०८१, मंगलबार

धौलागिरिको प्रवेशद्वार हो, मालढुंगा । कालीगण्डकी किनारमा रहेको मालढुंगा धौलागिरिको प्रवेशद्वार हो । अहिले यो बाटो हुँदै मुस्ताङदेखि रुकुम पूर्वसम्मका मान्छे र गाडीहरु आउजाउ गर्छन् । सामरिक रुपले महत्वपूर्ण मानिएको त्यही कालीगण्डकी किनारमा एउटा पाटी छ । दाहसंस्कार गर्नेहरुको सहजताको लागि बनाइएको सो पाटीमा यतिबेला जनपद प्रहरीको बास छ । प्रहरी त्यहाँ रहरले नभएर बाध्यताले बसेको हो । थोत्रा जस्तापाताले बारिएको सो पाटीमा न खानेपानीको प्रबन्ध छ, न गतिलो शौचालय नै । तर पनि, सात महिनादेखि त्यहाँ जसोतसो प्रहरी बस्दै आएका छन् । आउजाउ गर्ने गाडी तथा मान्छेहरुको चेकजाँच र निगरानीको लागि त्यहाँ प्रहरी खटाइएको हो । त्यहाँ रहेका प्रहरीलाई झरीमा ओत लाग्ने र घाममा सितल बस्ने प्रबन्ध छैन । यसअघि बनेको छाप्रो सडक निर्माणको क्रममा भत्काइएपछि प्रहरीहरु कष्टकर तरिकाले बस्न अभिषप्त छन् । राजमार्गमा गुड्ने गाडी र मान्छेको निगरानी राख्नु,ट्राफिक नियम उल्लंघन गर्नेलाई कारवाही गर्नु तथा गृह प्रशासनलाई आवश्यक पर्ने सूचना संकलन गर्नु उनीहरुको कर्तव्य हो । दुःख र कष्टका बीच पनि प्रहरीले त्यो जिम्मेवारी निभाइरहेको छ । तर, यस्तो कष्टकर रुपले कहिलेसम्म भन्ने प्रश्न पेचिलो बन्न पुगेको छ ।
जनपद प्रहरी जनतासँग प्रत्यक्ष जोडिएको हुन्छ । सुरक्षा प्रबन्धदेखि चेकजाँचसम्मका काम उसैबाट हुन्छ । त्यस उपक्रममा घामपानी भन्न पाइँदैन । जनताको सुरक्षाका लागि खटिने प्रहरीले पाउने सेवा–सुविधा खासै आकर्षक छैन । मालढुंगामा खटिनेले त सामान्य सुविधा पाउन नसक्नु बिडम्बनापूर्ण हो । रातदिन खटिने प्रहरीलाई उचित बासस्थानको प्रबन्ध हुनुपर्छ । घामपानी र धूलोबाट जोगाउनुपर्छ । जनतासँग सधैँ जोडिने उनीहरुको मानशिक स्वास्थ्य अवस्था चुस्त–दुरुस्त राख्ने प्रबन्ध गरिनुपर्छ र त्यसको पहिलो सर्त हो– भौतिक प्रबन्ध । कम्तिमा उनीहरुले ड्युटीपछि आनन्दसँग सुत्न पाउनुपर्छ । त्यहाँ त कागजात जोगाउन र कसैलाई सोधपुछको लागि पक्राउ गरियो भने राख्ने ठाउँ पनि छैन । यस्तो अवस्थामा प्रहरीले कसरी जनतालाई खोजेजस्तो सेवा दिन सक्छ ?
माओवादी सशस्त्र द्वन्द्वको क्रममा देशका धेरैजसो प्रहरी चौकीहरुमा आक्रमण भयो । केही समयसम्म प्रहरी त्यस्तै भवनमा बस्न बाध्य बन्यो । पछि गृह मन्त्रालयले प्रहरी चौकीको लागि बजेट विनियोजन ग¥यो । देशका विभिन्न ठाउँमा अहिले भवन बनेका पनि छन् । तर, कतिपय ठाउँमा महिला प्रहरीलाई अझै असुविधा छँदैछ । अस्थायी प्रहरी चौकीहरु चाहिँ अहिले पनि स्रोत र साधनविहीन छन् । गृह प्रशासनले यो तथ्यलाई गम्भीरतापूर्वक लिनुपर्छ । मालढुंगामा भवन निर्माणको लागि बागलुङ कालिका गुठीसँग सहकार्य जरुरी देखिएको छ । गृह प्रशासनले तत्काल त्यसको पहल गरोस् । समस्या बागलुङमा मात्र हैन, देशका अन्य भागमा पनि छ । त्यतातर्फ पनि गृह प्रशासनले ध्यान देओस् । जनताको सुरक्षामा खटिने प्रहरीको मन नकुँड्याइयोस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->