बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

स्ववियुको चुनाव र विद्यार्थीको दायित्व

स्ववियुको चुनाव र विद्यार्थीको दायित्व


  • Dhorpatan News
  • चैत्र ६ २०८१, बुधबार

पोखराको जेठो र देशकै धेरै विद्यार्थी भएको पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित भयो । निर्वाचन समितिले गरेको प्राविधिक त्रुटिका कारण चुनाव रोकिँदा विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासनलाई दोषारोपण गरिरहेका छन् । विद्यार्थी संगठनबीच पनि आरोप–प्रत्यारोप चलिरहेको छ । इन्जिनियरिङमा विवादकै बीच विधिसम्मत रुपले र नर्सिङ तथा वन विज्ञानमा पनि निर्वाचन सम्पन्न भएको छ । ती क्याम्पसहरुले विद्यार्थीको हितका खातिर परिकल्पना गरिएको स्ववियु पाएका छन् । गण्डकी प्रदेशका धेरैजसो क्याम्पसमा निर्वाचन सम्पन्न हुँदा केहीमा विवादका कारण प्रक्रिया अवरुद्ध बनेको छ । जसले गर्दा विद्यार्थी हितका खातिर नेतृत्वमा पुग्ने चाहनामाथि नै अंकुश लाग्न पुगेको छ ।
पञ्चायतकालमा स्ववियु निर्वाचन व्यवस्थाको विरुद्धमा उत्रने र आगो ओकल्ने क्रान्तिकारी जन्माउने पर्व पनि थियो । पढे–लेखेका तथा युवा जोश बोकेका युवाहरुबीच हुने प्रतिस्पर्धाले सत्ताको मुटु कमाउँथ्यो । व्यवस्था विरोधीहरुमा उत्साह जगाउँथ्यो । कालान्तरमा स्ववियु निर्वाचन परिणामलाई राजनीतिक दलको शक्ति आँकलन गर्ने तथा ती दलहरु युवामाझ कति लोकप्रिय रहेछन् भन्ने बुझ्ने अवसरको रुपमा हेरिन्छ । यो अद्यावधि छँदैछ । देशका कतिवटा क्याम्पसमा कुन दल निकट संगठनले जित्यो भन्ने कुरालाई बिर्सने हो भने विजेताहरु कुनै न कुनै मुलधारका राजनीतिक दलसँगै आवद्ध छन् । विद्यार्थी नेताको रुपमा सम्पादन गर्ने कार्यले विद्यार्थीको हितका अलावा आफूलाई पनि नेताको रुपमा स्थापित गर्ने नै छ । तर, विजेताको पहिलो ध्यान चाहिँ शैक्षिक सुधारमै केन्द्रित हुनुपर्छ । अहिले नेपालको शिक्षा प्रणालीप्रति युवाहरुको वितिष्णा बढ्दै गएको छ । अन्तिम वर्षतिर कक्षामा विद्यार्थी नै नहुने समस्या आइलागेको छ । यस्तो किन भयो ? यो पेचिलो प्रश्नको वरपर रहेर स्ववियुहरुले काम गर्नुपर्छ । चन्दा उठाउने, बाहुबल देखाउने र अमुक दलको कार्यकर्ताको रुपमा मात्र प्रस्तुत हुने छुट अहिलेका विजेताहरुलाई छैन । उनीहरुले आफूजस्तै युवाको निराशा तोड्नुपर्छ । र, जुन क्याम्पसका निर्वाचन भएको छैन, त्यहाँ चुनाव गराउन मैदानमा ओर्लिएका संगठन र नेताहरु नै अग्रसर हुनुपर्छ । लोकतान्त्रिक पद्दतिमा हार–जीत हुन्छ,त्यसलाई स्वीकार्नु पर्छ । आफू अनुकूल नहुँदा प्रक्रिया नै अवरुद्ध पार्ने काम चाहिँ बन्द गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->