बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सुरक्षा संयन्त्रमा चुस्तता खै ?

सुरक्षा संयन्त्रमा चुस्तता खै ?


  • Dhorpatan News
  • चैत्र १७ २०८१, आइतबार

राजावादीहरुले चैत १५ गते संघीय राजधानी काठमाडौंमा प्रदर्शन गरेको अमानवीय हिंश्रक प्रवृत्तिको जति निन्दा गरे पनि कम हुन्छ । उनीहरुका कृत्य कानूनी रुपले दण्डनीय छन् । हत्या, लुटपाट र आगजनी गर्नेहरुलाई कानूनी दायरामा ल्याउनैपर्छ । र,जसलाई पुनस्र्थापित गर्नका निम्ति कथित आन्दोलन छेडियो,त्यो व्यक्तिलाई पनि छाडा छाड्नु हुन्न । तर, यो घटनापछि सुरक्षाबारे पनि पनि प्रश्न उठेको छ । प्रहरी–प्रशासनले अहिले उठेको प्रश्नलाई सामान्य रुपमा मात्र लिनु हुँदैन ।
नेपालको प्रहरी (जनपद र सशस्त्र) असक्षम नै छ भन्ने पनि हैन । यसले ठूला र रहश्यमयी घटनाहरुको सफलतापूर्वक अनुसन्धान गरेको छ । अपराधीहरु पक्राउ गर्न पनि त्यस्तै कुशलता देखाएको छ । तर,नेपाल प्रहरी सम्भावित घटनाक्रमको पूर्वानुमान गर्दै आफूलाई चुस्त राख्ने, ठूला भीड नियन्त्रण गर्ने तथा आपराधिक घटना, हुलहुज्जतमा संलग्नलाई पक्राउ गर्ने मामिलामा पटक–पटक चुक्दै पनि आएको छ । कतिपय अवस्थामा प्रहरीले बढी बल प्रयोग गर्छ र भीडलाई झन उत्तेजित बनाउँछ, कतिपय घटनामा चाहिँ यसले छिद्रहरु छाडिदिन्छ । जसको परिणाम दुःखद हुन पुग्छ । चैत १५ गते राजा पुनस्र्थापनाको कमाण्डर तोकिएका दुर्गा प्रसाईंले झण्डै प्रहरीलाई नै गाडीले कुल्चनेसम्मको चेष्टा गरे । सडकमा बार हालेर बसेको प्रहरीले उनको गाडीलाई रोक्न सकेन । प्रसाईं उग्र थिए । तर, जब उनकै उक्साहटमा काठमाडौंमा हत्या,तोडफोड र आगजनी भयो,त्यसपछि उनी एकाएक गायव भए । किन प्रहरीले उनलाई समयमा पक्राउ गर्न सकेन ? प्रसाईं कहाँ लुके र कहाँ गए ? यसको उत्तर गृह प्रशासनसँग छैन । गृहमन्त्रीले प्रसाईं छिट्टै पक्राउ पर्ने त बताएका छन् तर परिस्थिति त्यस्तो देखिएको छैन । उनी उनलाई पक्राउ गर्ने प्रयासहरु विफल भएका छन् । यसले हाम्रो सुरक्षा संयन्त्र र त्यसको सूचना संयन्त्र कति कमजोर रहेछ भन्ने कुरा सतहमा ल्याइदिएको छ । प्रहरी प्रशासनसँग चुस्तता नभएको घटनाले प्रमाणित गरेको छ । त्यस्तो हर्कत गरेका प्रसाईंमाथि किन निगरानी बढाएन ? उनी एउटा सटरबाट निस्केर भागेको भिडियो सामाजिक सञ्जालमा छ्याप्पछ्याप्ति छ । त्यो सूचना प्रहरीले साँच्चै थाहा नपाएकै हो त ? यी प्रश्नहरु पेचिला छन् । अब प्रहरीले ती प्रश्नहरुको उत्तर दिएरमात्र पुग्दैन । आफूलाई सवल बनाउनेतर्फ ध्यान दिनुपर्छ । गुप्तचरी संयन्त्रलाई बलियो,चुस्त र भरपर्दो बनाउनेतर्फ ध्यान दिनैपर्छ । घटना हुनुपूर्व नै आवश्यक सूचना संकलन गर्ने, सम्भावित जोखिमको मूल्याङ्कन गर्ने र परिस्थितिलाई काबुमा लिने क्षमता विकासतर्फ प्रहरी संगठन लाग्नैपर्छ । र, प्रहरीलाई सवल बनाउन राजनीतिक नेतृत्वले यसलाई गिजोल्ने काम चाहिँ चटक्कै छाड्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->