बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

व्यावसायिक वातावरण निर्माण गर

व्यावसायिक वातावरण निर्माण गर


  • Dhorpatan News
  • चैत्र २१ २०८१, बिहिबार

पर्वत जिल्लामा यो आर्थिक वर्षको सुरुदेखि फागुन मसान्तसम्म ९९ वटा व्यावसायिक फर्म तथा उद्योग दर्ता भए । पर्यटन तथा उद्योग कार्यालय पर्वतका अनुसार त्यो अवधिमा एक सय ३३ वटा खारेज भए । उद्योगका रूपमा दर्ता भएर उत्पादनको काम गर्दै आइरहेकातर्फ ६४ वटा उद्योगहरू बन्द गरिए भने सोही प्रकृतिका ४९ वटा ‘फर्म’हरू दर्ता भएका भए । व्यापारका लागि स्थापना भएका ६९ वटा ‘फर्म’हरू बन्द गरिँदा ५० वटा मात्रै नयाँ ‘फर्म’हरू दर्ता गरिएका छन्। आठ महिनाको अवधिमा उद्योगतर्फका पाँच सय ८१ वटा र वाणिज्यतर्फका ६ सय ५३ वटा ‘फर्म’ हरूले नवीकरण गरेको तथ्याङ्क छ । पर्वतको उद्योग÷व्यवसाय दर्ता र खारेजीको विवरण देशको ऐना हो । अहिले देशभर उद्योग÷व्यवसाय स्थापनाभन्दा बन्द गराउनेको संख्या बढेको छ ।

पर्यटन तथा उद्योग कार्यालयले अनुदानकै लागि व्यावसायिक फर्म खोल्ने र प्रयोजन सकिएपछि बन्द गराउँदा यो अवस्था आएको बताएका छन् । यो भनाइमा सत्यता नै छ । अपितु,पछिल्लो समय मान्छेमा व्यवसाय गर्छु भन्ने उत्साह नै देखिन छाडेको छ । किनकि, बजार सुस्ताएको छ । मान्छेमा केही गरौँ भन्ने जाँगर हराएको छ । बैंकमा तरलता बढ्दा र ब्याजदर घट्दा पनि व्यवसाय गरौँ न त भन्नेहरु देखिएका छैनन् । युवाहरुको विदेश पलायनले उपभोगमा कमी आएको छ । कानूनी झमेला तथा जरिवानामा नपर्ने हो भने दर्ता खारेजीको संख्या अझ बढ्ने निश्चित छ ।

व्यवसायमा जोखिमको मात्रा बढी हुन्छ । जोखिम मोल्ने नै उद्योग÷व्यवसाय गर्ने हो, नाफा कमाउने हो । तर, नेपालमा लहलहैमा व्यवसाय सुरु गर्ने र व्यवस्थापन गर्न नसकेपछि घाटा सहेर बन्द गर्ने प्रवृत्ति रहेको छ । सरकारले यो प्रवृत्तिमा सुधारको लागि व्यवसाय गर्छु भन्नेलाई तालिम र सहजीकरण गर्नुपर्छ । बजार व्यवस्थापनका सूत्रहरु सिकाउनुपर्छ । आवश्यक पूँजी उपलब्ध गराउन र प्रतिस्पर्धी क्षमता बढाउन पनि राज्यले नै सहयोग गर्नुपर्छ । अर्कोतर्फ उपभोग बढाउने, कर प्रणालीमा सुधार गर्ने र नागरिकमा उत्साह भर्ने दायित्व पनि राज्यकै हो । समृद्धि मुखले भनेर आउँदैन । उद्यमशिलताबाटमात्र समृद्धि सम्भव हुन्छ र उद्यमशिलताले नै रोजगारी सिर्जना गर्छ तथ्य मनन गर्न जति ढिलो हुन्छ, त्यति नै व्यावसायिक वातावरण बिग्रँदै जान्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->