बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पत्रकारिता र दायित्व

पत्रकारिता र दायित्व


  • Dhorpatan News
  • चैत्र २७ २०८१, बुधबार

यतिबेला संसार मिथ्या सूचनाका कारण गिथोलिएको छ । सूचना प्रविधिको विकास र त्यसको उपयोग गर्दै सामाजिक सञ्जालमा फैलाइने मिथ्या सूचनाहरु साँच्चिकैजस्ता लाग्न थालेका छन् । ती सूचनाहरु पत्याउने खालकै हुन्छन् अनि आम जनताले सहजै पत्याउँछन् पनि । तर, ती वास्तविक नभइ प्रायोजित सूचनाहरु हुने गरेका छन् । तथ्यलाई तोडमोड गर्दै आफू अनुकूलको माहौल बनाउन तयार पारिएका त्यस्ता सूचनाको बाढी रोक्ने कार्य अहिले चुनौतीपूर्ण बन्दै गएको छ । त्यस्ता सूचनाहरुले पत्रकारिताको सामान्य मर्यादा पनि ख्याल गरेका हुँदैन । पत्रकारिताले सत्य उद्घाटित गर्छ, तथ्य पस्कन्छ र बोल्न नसक्नेहरुका बोली मुखरित गर्छ÷ गर्नुपर्छ । सदैव खबरदारीले नै खबरकारिता चल्छ । पत्रकारिता चाकडी र चाप्लुसीमा फस्दैन,गुलियोको लोभमा पर्दैन र अध्याँरोमा हुने कारोबारको भण्डाफोर गर्छ । सत्तालाई निरन्तर खबरदारी गर्नु पत्रकारिताको खास विशेषता हो । त्यसले पत्रकारितालाई राज्यको चौथो अंग र ‘रखबारी कुकुर’को संज्ञा दिइएको हो । पवित्र पेशा हो, पत्रकारिता । पत्रकारिता पूजा हो,निष्ठा हो र आचरण पनि हो । पत्रकारिताले कानूनले बर्जित गरेको मात्रै नभई नैतिकताको ‘लक्ष्मणरेखा’ पनि मिच्दैन । नेपालको पत्रकारिताको इतिहास लामो छैन तर लोकतन्त्रको पक्षमा यसले निभाएको भूमिका सह्रानीय छ । लोकतन्त्रको लागि पत्रकारहरुले जेल–नेल खाएका छन् । दलहरुलाई खबरदारी गर्दै लोकतन्त्रको पक्षमा उम्भ्याएका छन् । यो गर्विलो इतिहासलाई वर्तमानको पत्रकारिताले भने न्याय गर्न सकेको छैन ।

तर, यी र यावत् विषयहरु फगत ‘भन्ने कुरा’ भएका छन् । पत्रकारिता आफैमा मर्यादित र निष्पक्ष हुन सकेको छैन । पत्रकारिताको आवरणमा बढेको ‘कर्पोरेट कल्चर’,मिथ्या सूचना पस्कनेहरुको भीड र चाटुकारिता अनि दलालीले यो पेशा बदनाम बनेको छ । सत्तालाई निरन्तर खबरदारी गर्नुपर्ने यो पेशा आफै तालुकदारीमा उत्रेको छ । पत्रकारको आवरणमा गलत धन्दा चलाउनेहरु उत्तिकै बढेका छन् । यसले विश्वास र इमान मात्र गुमाएको छैन, बदनामी कमाएको छ । राज्यको चौथो अंगबाट स्वखलित पत्रकारिता राज्यको कोपभाजन र आफैभित्रको गलत प्रवृत्तिको कारण धरापमा परेको छ । पत्रकारिता केही व्यक्तिको गलत धन्दा गर्ने माध्यम बनिरहँदा इमान्दारहरुले पनि बदनामी कमाएका छन् । असली पत्रकारहरु रोजिरोटीको लागि भौंतारिहरँदा सत्ता रिझाउनेहरुले अकुत सम्पत्ति कमाएका छन् ।सत्ताको चाकडी गर्ने, विचौलिया र मौका पर्नासाथ रुप फेर्नेहरुलाई नेतृत्वमा जानबाट रोक्नुपर्छ । पत्रकारिता लोकतन्त्रको रक्षक पनि हो । यावत् समस्या छन् तर पनि लोकतन्त्रमा मात्रै पत्रकािरता फस्टाउँछ । लोकतन्त्र मास्नेहरुका विरुद्ध उभिने बेला यही हो । उनीहरुको विरुद्ध उभिऔं । बेलालाई सदुपयोग गर्न नसके फेरि पनि पछुताउनु पर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->