बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

असन्तुष्टिको बादल फाटोस्, निराशा पर भागोस्

असन्तुष्टिको बादल फाटोस्, निराशा पर भागोस्


  • Dhorpatan News
  • बैशाख १ २०८२, सोमबार

संसारका अधिकांश देशले ईश्वी संवत् अर्थात् ग्रेगोरियन पात्रो स्वीकार्दा नेपाल चाहिँ वसन्त ऋतुकालीन विक्रम संवत्लाई आफ्नो संवत् मान्छ । वैशाख १ गतेबाट सुरु हुने नयाँ साललाई कामकाजी बनाउँछ । किन र कसरी विक्रम संवत् अनुसार नेपाल चल्यो ? उत्तर खोज्न नलागौं । किनकि, पात्रो फेरिँदैमा आम मान्छेको जीवनका रङहरु फेरिँदैनन् । नत, पात्रो फेरिँदैमा देशमै कायाकल्प हुन्छ । दिन र महिना गणना प्राविधिक कुरामात्र हुन् । यो हामीले आजकल भन्दै आएको अंग्रेजी वा अन्य कुनै संवत्को रुपमा गणना गर्दा पनि फरक पर्दैन । जीवनका रङहरु बदलिन र कायाकल्प हुन कर्म गर्ने दृढ संकल्प चाहिन्छ । व्यक्तिको हकमा ऊ स्वयं नै संकल्पकर्ता भए पनि राज्यको हकमा भने संचालकहरुले लिने निर्णयले आगत प्रभावित हुन्छ । एउटा देशको भाग्य त्यो देशको कार्यकारीले लिने असल वा खराब निर्णयमा निर्भर हुन्छ । कार्यकारी अधिकार प्राप्त व्यक्ति वा राज्य जनताप्रति बफादार हुँदा त्यहाँ उन्नति हुन्छ, जनताको मुहारमा खुसी नाच्छ भने गलत क्रियाकलापबाट निराशा र आक्रोश उब्जन्छ ।

पछिल्ला केही वर्ष नेपालीहरु नयाँवर्षमा दिइने औपचारिक शुभकामनाबाट त्यतिसारो पुलकित भएको देखिएको छैन । अझ, राज्यपक्षबाट आउने त्यस्ता औपचारिक शुभकामना सन्देशमा उनीहरु चासो नै देखिएको छैन । जति फूलगुच्छा गुथे पनि त्यस्ता सन्देशप्रति नागकिहरु ओठ लेप्प्रयाउँछन् । अविश्वास र असन्तुष्टि व्यक्त गर्छन् । किन यसो भइरहेछ ? प्रश्न यो हो । र, उत्तर पनि सजिलो छ–राज्य हाँक्नेहरु इमान्दार छैनन् । उनीहरुको बोली र व्यवहार फरक छ । नागरिकको आँखाले उनीहरुलाई कुशासनका प्रणेता देख्छ । उनीहरुबाट नयाँ काम होला भन्ने विश्वास गर्दैन । तर, तिरस्कार पनि गरिहाल्दैन । सप्रेलान् वा बुद्धि फिर्ला कि भन्ने आशामा पटक–पटक आफूसँग रहेको सार्वभौम अधिकार प्रत्यायोजन गरिरहन्छ । उनीहरुको विकल्पमा आफैंले मिल्काएको राजतन्त्र वा अमूकतन्त्र ल्याउने पक्षमा जनता देखिँदैनन् । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुन्छ र राम्रो नेतृत्व आउनासाथ आफ्ना आकांक्षा पूरा हुन्छन् भन्नेमा पनि उनीहरु प्रष्ट छन् । तर,जनतामा देखिएको त्यही निराशा र असन्तुष्टिलाई बेलैमा संवोधन गर्नुपर्ने चाहिँ देखिएको छ । र,त्यो कार्य राजनीतिक नेतृत्वबाटै हुनुपर्छ । नयाँवर्षले राजनीतिक नेतृत्वलाई त्यो सद्बुद्धि प्रदान गरोस् । सरकारबाट नागरिकस्तरमा देखिएको निराशा र असन्तुष्टि दूर गर्ने खालका कार्यक्रम तय होस् । नत्र, अराजकता चाहने शक्तिहरुले नागरिक असन्तुष्टिलाई भजाँउने खतरा रहन्छ भन्ने तत्ववोध होस् । नयाँवर्ष २०८२ को शुभकामना !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->