बागलुङ सेवा समाज, दोहा कतारको अगुवाइमा १ करोड रुपैयाँको अक्षयकोष स्थापना भएको छ । ‘कतार बहुउद्देश्यीय अक्षयकोष’ बागलुङबाट कतारमा कार्यरत बागलुङेहरुको संस्था हो । स्वदेशको माया र दायित्ववोधको प्रेरणाबाट कोष स्थापना भएको हो । एक करोडबाट सुरु भएको कोषलाई ठूलो बनाउने तथा कोषमार्फत् भौतिक निर्माण, राहत, विदेशमा कार्यरत पीडितको उद्धार, सीपमूलक तालिम संचालन, सम्मान र पुरस्कार वितरणलगायतका कार्य गरिने यसका संस्थापकहरुको भनाइ छ । वैदेशिक रोजगारबाट फर्केकालाई इलममा लगाउन आर्थिक सहयोग गर्ने पुनित उद्देश्य पनि यो कोषको रहेको छ । कोषले दैविप्रकोपको बेला स्थानीय प्रशासनसँग सहकार्य गर्दै राहत वितरणको काम गर्नेछ भने वैदेशिक रोजगारीसम्बन्धी सचेततामूलक कार्य पनि कार्यक्षेत्रमा समेटिएको छ ।
कतारमा कति नेपाली कामदार छन् र उनीहरुको अवस्था कस्तो छ भन्नेबारे कुनै आधिकारिक तथ्याङ्क छैन । अवैध मार्गबाट खाडी मुलुक पुगेकाहरुको दर्दनाक अवस्थाबारे यदाकदा समाचार आए पनि राज्यको तर्फबाट सुरक्षित आप्रवासनको लागि सार्थक पहल हुन सकेको छैन । सरकार महिना र वर्षमा यति रेमिट्यान्स भित्रियो भन्दैमा मख्ख छ । स्वदेशमा रोजगारी सिर्जनालाई भन्दा वैदेशिक रोजगारी प्रोत्साहित गर्ने सरकारबाट आप्रवासीहरुको हितका कार्य होलान् भन्ने अपेक्षा गर्ने ठाउँ छैन । त्यो पीडाले पनि हुनुपर्छ, कतारमा बस्ने बागलुङेहरुले आफ्नो हितको लागि आफ्नै संस्थाको स्थापना गरेका छन् ।
बागलुङबाट वैदेशिक रोजगारीमा जानेको संख्या सानो छैन । त्यहाँका नागरिकहरु संसारका सबैजसो देश पुगेका छन् । २०७८ सालको जनगणना अनुसार बागलुङको जनसंख्या २ लाख ४१ हजार ४९ हजार २ सय ११ रहेको छ । तथ्यांक विभागका अनुसार त्यो बेला बागलुङका ३४ हजार १ सय ५७ जना जना स्वदेशमै र २२ हजार ९ सय २५ जना विदेशमा रहेका थिए । पक्कै अहिले त्यो संख्या बढेको छ र कतारमा पनि बागलुङेहरु थपिएका छन् । तर, बाध्यतावश विदेशिएका बागलुङेहरुले आफ्नो थातथलोको विकासका निम्ति गरेका पहलहरु भने सह्रानीय र अनुकरणीय छन् । प्रवासमा सुखले कोही बसेको हुँदैन । तर, उनीहरुले कठिन श्रमबाट आर्जितमध्ये केही रकम जन्मथलोको लागि छुट्याउने परम्परा कायमै राखेका छन् । त्यसरी जम्मा गरिएको रकमले बागलुङका विभिन्न स्थानमा रचनात्मक तथा परिणाममुखी कार्यहरु सम्पन्न भएका छन् । कतार बहुउद्देश्यीय कोष पनि त्यही उद्देश्यमा समर्पित छ । कोषले उद्देश्य अनुरुप कार्य गरोस् र त्यो अभियानमा राज्यले संचालकहरुलाई सघाओस् । जन्मभूमिको मायाले जन्मिएको कोषले रचनात्मक कार्य सम्पादन गरोस् ।




