नेपालका अधिकांश बालबालिकाको हातमा मोबाइल फोन पुगेको छ । कोभिडकालीन समयमा अनलाइन कक्षाको लागि मोबाइल नै प्रयोग गरियो त्यसपछि बालबालिकाहरु मोबाइल फोनसँग नजिकिए अभिभावकहरुले साना नानीबाबुलाई फुल्याउन पनि मोबाइल दिन थाले । प्रविधिको प्रयोग गर्नु नराम्रो हैन त, पछिल्लो समय बालबालिकाहरुबाट मोबाइल फोनको दुरुपयोग बढ्न थालेको छ । बालबालिकाहरु मोबाइलमा झुण्डँदा सिर्जनात्मकता हराउँदै गएको छ भने उनीहरु इन्टनेटमा हुने खराब कुरासम्म पुग्न थालेका छन्बालबालिकाले मोबाइल फोनलाई लत बनाइसके यो चिन्ताको बिषय हो । स–साना बालबालिकाले अत्याधुनिक फोनको प्रयोग कसरी गरिरहेका छन् ? मोबाइल फोनको प्रयोगले बालबालिकाको स्वास्थ्यमा कस्तो असर गरिरहेको छ ? उनीहरुले फोनको प्रयोग गर्दा कस्ता सामग्री प्राथमिकतामा राखेर हेरेका छन् वा कस्ता खेल खेल्छन् ? यी र यस्ता प्रश्नहरुको जवाफ खोज्नुपर्ने बेला भएको छ । बालबालिकाको स्वास्थ्य, हाम्रो सामाजिक मुल्य र मान्यता तथा प्रकृतिको नियम प्रतिकूल यस्ता प्रश्नको जवाफ आउनुपूर्व हामीले बालबालिका र मोबाइल फोनको सामिप्यताको बिषयमा खोजी गर्नु जरुरी छ ।
बालबालिकाको हातमा मोबाइल फोन पुगेपछि अपराध र यौन शोषणसम्मका घटना भएका छन् । यो मानव जीवनकै लागि चुनौतीको बिषय हो । मोबाईल फोन, सामाजिक सञ्जालको सदुपयोग गर्दा धेरैलाई सिकाउँछ, दैनिक जनजीवनमा सहयोग गर्छ तर, यस्ता बस्तु तथा सेवाको दुरुपयोगले समाजमा कहिल्यै नमेटिने गरी गहिरो असर गरिरहेको हुन्छ । उमेर नपुगेका बालबालिका कसरी यौन दुराचारमा लागिरहेका छन् । घटना लुकाउन ज्यान मार्ने सम्मको धम्की दिन उनीहरुले कहाँबाट सिकेका छन् ? खोजी हुन जरुरी छ ।
व्यस्त दैनिकीका कारण अभिभावकले बालबालिकालाई समय दिन नसक्ने । आफ्ना बालबालिका भुलाउनकै लागि मोबाईल फोनको प्रयोग गर्ने जस्ता गतिबिधि हामीले गर्ने गरेकै गतिबिधि हुन् । हाम्रा बालबालिकाले पढाइको बहानामा पनि मोबाइल फोनको प्रयोग गरिरहेका छन् । मोबाईल बालबालिकालाई बोक्नै दिन नहुने होइन् । यसको फाईदा र बेफाईदाका बिषयमा खोजी गर्न जरुरी हो । मोबाईल कतिसमय बालबालिकालाई दिने ? मनोरञ्जनका लागि दिने वा उपयोगिताका लागि दिने ? बालबालिकाले मोबाईलको प्रयोग गरेर के कस्ता क्रियाकलापमा सहभागी भएका छन् भन्ने विषयको खोजी गर्ने र अत्याधुनिक प्रबिधिलाई दुरुपयोग होइन,सदुपयोग गर्ने वातावरण सचेत अभिभावकले बनाऊँ । बालबालिकालाई सही मार्गमा लगाउने दायित्व अभिभावककै हो ।




