बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बाह्य पर्यटकको भित्र्याउन सार्थक पहल होस्

बाह्य पर्यटकको भित्र्याउन सार्थक पहल होस्


  • Dhorpatan News
  • बैशाख ११ २०८२, बिहिबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा अनियमितता भएको विषय बाहिर आएको छ । संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको छानविन समितिले विमानस्थल निर्माणमा झण्डै १९ अर्ब घोटाला भएको जिकिर गर्दै अनुसन्धान र कारवाहीको सिफारिस गरेको छ । छिमेकी देशहरुमा अन्तर्राष्ट्रिय उडान नहुँदै बाहिर आएको भ्रष्टाचार काण्डले विमानस्थलको दिगो संचालनमा अवरोध सिर्जना गर्ने हो कि भन्ने आशंका उत्पन्न भएको छ । काठमाडौं अझै पनि केन्द्रीकृत मानशिकता पाल्छ र यो वा त्यो बहानामा पोखरालगायत भैरहवाबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्न तयार छैन भन्ने आशंकालाई निस्तेज पार्दै अन्तर्राष्ट्रिय विमानस्थल संचालन होस् भन्ने आम नागरिकको चाहना रहेको छ । भ्रष्टाचारजस्तो गम्भीर मुद्दालाई त्यत्तिकै छाड्न हुँदैन भन्नेमा पनि आम गण्डकी प्रदेशवासी सहमत नै देखिन्छन् । विमानस्थलले अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन नसकिरहेकै बेला अघिल्लो वर्ष पोखरामा आन्तरिक पर्यटक पनि खासै आएनन् । जति आए, कष्टपूर्वक आए । पृथ्वी र सिद्धार्थ राजमार्गको स्तरोन्नति समयमा नहुँदा आउन खोजेका पर्यटकले पनि मन मारे । अहिले राजमार्गको अवस्था केही सुधारोन्मुख छ । यसले आन्तरिक र सडकमार्ग हुँदै आउने पर्यटकलाई केही सहज बनाएको छ । पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । तर, अन्तर्राष्ट्रिय पर्यटक उनीहरुको चाहना हो । हिप्पी युगबाट सुरु भएको पोखरा र अन्नपूर्ण क्षेत्रको पर्यटनले खोज्ने पनि विदेशी नै हो । अन्तर्राष्ट्रिय मुद्रा आर्जनको लागि पनि सक्दो विदेशी पर्यटक भित्र्याउन पहल गर्नैपर्छ ।

रुस–युक्रेन युद्ध र त्यसले विश्वभर सिर्जना गरेको मन्दीका कारण तेस्रो देशका पर्यटक घटेका छन् तर आउने क्रम रोकिएको छैन । महंगो हवाइ भाडा तिर्नु एकातिर छँदैछ, सोझै नेपाल आउन पनि सास्ती नै छ । जसका कारण, नेपाल नै आउन चाहने पर्यटकले पनि अर्कोे गन्तव्य रोज्न विवश भएका व्यवसायीहरुको भनाइ छ ।

विश्वको आधा जनसंख्या छिमेकी भारत र चीनमा बस्छन् । त्यहाँको थोरैमात्र पर्यटक नेपाल आइदिने हो वा आउने वातावरण निर्माण गर्ने हो भने, नेपालको पर्यटन उद्योगले गति लिन्छ । तर, जे हुनुपर्ने हो, त्यतातिर कसैको ध्यान गएको छैन । पर्यटनलाई नेपालको अर्थतन्त्रको मुलखम्बा बनाउनुपर्छ । अहिलेसम्म पर्यटन उद्योगले कुल ग्राहस्थ उत्पादनमा खासै ठूलो योगदान नदिए पनि सेवा उद्योग नेपालको सवैभन्दा ठूलो सम्भावना भएको उद्योग हो । अहिले भएको लगानी जोगाउन र भविष्यमा पर्यटनबाट लाभ लिन अल्प र दीर्घकालीन रणनीति निर्माण गरिनुपर्छ । अहिलेसम्म नेपाल आउने पर्यटकहरु अरु कसैले भनेको सुनेर वा पटक–पटक आउनेहरु नै छन् । नयाँ पर्यटक भित्र्याउन प्रवद्र्धनात्मक कार्यक्रम गरिनैपर्छ । राज्य स्वयं कस्सिनुपर्छ । विदेशमा रहेका कुटनीतिक नियोगहरुले क्रियाशिलता देखाउनुपर्छ । पोखरा आएका पर्यटकलाई बागलुङ, म्याग्दी, मुक्तिनाथसम्म लैजाने प्रबन्ध पनि हुनैपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->