यो हावाहुरी र आगलागीको मौषम हो । आगलागी हरेक वर्ष विपत्ति बनेर आउँछ । घर र बस्ती डढाउँछ । वन विनाश गर्छ । जंगली जनावर र चराहरुको गँुड भत्काउँछ । यो विपत्तिबाट बँच्न सावधानी अपनाउनैपर्छ । आगोको जतन र हिफाजत गर्नुपर्छ । अर्को महिनाबाट देशमा मनसुन सुरु हुन्छ । मनसुनले बाढी पहिरो निम्त्याउँछ । बाढीपहिरो नेपालको भूबनोट तथा मौषमबाट सृजित विपत्ति हो । अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टि नेपालको नियति हो । पहाडमा वर्षा हुनासाथ खहरेहरु गड्गडाउने, पहिरो निम्त्याउने र तराइ डुवानमा पर्ने समस्या नौलो हैन । हरेक वर्ष नेपाल यो समस्याबाट आक्रान्त हुँदै आएको छ । प्राकृतिक विपत्तिलाई टार्न सकिँदैन तर न्यूनीकरण गर्न सकिन्छ । पूर्वसावधानी अपनाएर क्षति कम गर्न सकिन्छ । अझ, प्रकृतिको लय नभत्काएर पनि विपत्तिबाट बच्न सकिन्छ ।
पछिल्लो समय प्रकृतिको अतिदोहनका कारण बाढीपहिरोको समस्या बढ्दै गएको छ । जथाभावि बनाएका भौतिक संरचना, नदी र पहाडहरुको अत्यधिक दोहन, जंगल फँडानीले नेपालको पर्यावरण बिग्रेको छ । पर्यावरण बिग्रँदाको असर सबै क्षेत्रमा परेको छ । हिजो पनि पानी पथ्र्यो, बाढी आउँथ्यो तर पानीले आफ्नो यात्रा आफै तय गथ्र्यो । नदीहरु अतिक्रमणमा परेका थिएनन् । नदीको बाटो रोकिएको थिएन । पहाड हराभरा थिए । रुखका जराहरुले जमिन समातेकाले पहिरोको जोड चल्दैनथ्यो । पानीढलोहरु मासिएका थिएनन् । पानीढलो नमासिँदा पानी छिरल्लिएर बग्थ्यो । छिरल्लिएको पानी जमिनले सोस्थ्यो । एकत्रित नहुँदा यसले बाढीको रुप लिन पाउँदैनथ्यो । तर, अहिले त्यस्तो छैन । बस्ती नै नदीमा बसालिएको छ । पहाडहरुको अत्यधिक दोहन भएको छ । बाटो बनाउने नाममा पहाडहरु जथाभावि खन्दा पहिरोको जोखिम बढेको छ । पछिल्लो समय पहाडमा गएका पहिरोहरुको कारण जथाभावि खनिएका बाटाहरु भएको प्रमाणित भएको छ । वातावरणीय मूल्याङ्कन बिना डोजर चलाउने प्रवृत्ति नरोकिने हो भने आउँदा वर्ष झन त्रासदीपूर्ण हुनेमा कुनै शंका छैन । पहाडमा पानी नरोकिँदा र पहिरो चल्दा यसले तराईलाई पनि असर गरेको छ । अर्कोतर्फ, असुरक्षित बस्ती निर्माणमा रोक नलगाउँदा पनि समस्या चर्केको छ ।
विपत्तिको बेला तर्कको अर्थ रहँदैन । तर, प्रकृतिलाई देखाएर कमजोरी ढाकछोप गर्न मिल्दैन । प्रकृतिको दोहन रोक्नेतर्फ अब सरकार कठोर बन्नुपर्छ । त्यतिमात्रै नभएर असुरक्षित बस्तीहरुको स्थान्तरण, तटबन्ध निर्माण र विपत्बाट बच्नको लागि गरिने पूर्वतयारीलाई चुस्त र दुरुस्त बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रीत गर्नुपर्छ । विपत्ति बाजा बजाएर आउँदैन । हरेक वर्ष बाढीपहिरो आउँदा जाग्ने र वर्षैभर सुत्ने छुट सरकारलाई छैन र हुँदैन ।




