बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

युद्धविराम र सार्कको सक्रियता

युद्धविराम र सार्कको सक्रियता


  • Dhorpatan News
  • बैशाख २८ २०८२, आइतबार

कास्मिरको पहलगाममा भएको आतंकवादी हमलापछि उत्पन्न विषमताबाट उत्पन्न तनाव तत्कालको लागि मत्थर भएको छ । अमेरिकी मध्यस्ततामा दुवै देशबीच शनिबार ५ बजेदेखि स्थल,हवाइ र समुद्री हमला रोकिएको छ । भारत र पाकिस्तानबीच भएको यो सहमतिले तत्कालको लागि दक्षिण एसियाली आकासमा लागेको कालो बादल हटेको छ । सीमा क्षेत्रमा नागरिकमा खुसी छाएको छ ।

तनाव सुरु भएसँगै यसको प्रभाव भारत–पाकिस्तानमा मात्र नभएर दक्षिण एसियामै परेको थियो । पहलगाममा आतंकवादी हमलालगत्तै भारतले तिखो प्रतिक्रिया जनाउँदै पाकिस्तानलाई दोष दिएको थियो भने बदलाको भावबाट प्रेरित भारतले दुई हप्तापछि चाहिँ पाकिस्तानका विभिन्न ठाउँमा आक्रमण नै गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । आतंकवादीका केन्द्रहरुमा धावा बोलिएको भनिए पनि त्यो पाकिस्तानमाथिकै आक्रमण थियो । जवाफमा पाकिस्तानले पनि आक्रमण सुरु ग¥यो । दुवै देश आमने–सामने भए । दुई आणविक शक्तिबीचको यो लइाइँबाट दुवैतर्फ जनधनको क्षति भएका विवरणहरु आइरहेका छन् । बिहीबारदेखिका घटनाक्रमहरु थप चिन्ताजनक देखिएका थिए । स्थिति जटिल बन्दै गर्दा अन्तर्राष्ट्रिय जगतको वार्ताको आह्वान गर्दै मध्यस्तताको प्रयास भएको थियो । स्वभाविक थियो, अमेरिकाले नै यो कार्यको नेतृत्व गरेको थियो । वार्ता फलदायी भएको छ । दुवै राष्ट्र पछि हटेका छन् । यसले दक्षिण एसियामा शान्तिको वातावरण बनेको छ भने तनावकै बीच पनि कुटनीतिक संवादले समाधान निकाल्छ भन्ने सन्देश प्रवाह भएको छ ।

राष्ट्रवादको घोडा चढेका दुवै देशबीच युद्ध भड्कँदा त्यसले नेपाललाई प्रत्यक्ष प्रभाव पार्ने निश्चित थियो ।

नेपालको अर्थतन्त्र आयातमा निर्भर छ र त्यो पनि भारतसँग अझ बढी ! भारत युद्धमा होमिएको बेला उसले निर्यातमा कडाइ गर्न सक्थ्यो । त्यसको छनक देखिइसकेको थियो । तर, अब स्थिति सहज बन्ने अपेक्षा गरिएको छ ।

अहिले युद्धविराम भएको छ । यसलाई दिगो बनाउन तथा कस्मिर तथा आतंकवादलाई लिएर लामो समयदेखि कायम तनाव कम गर्न दुवै राष्ट्र तयार रहनुपर्छ । एउटाले अर्कालाई दोष दिएर र युद्ध भड्काएर कसैलाई फाइदा गर्दैन । भारत र पाकिस्तान दुवै अहिलेको विषम परिस्थितिमा युद्ध धान्ने अवस्थामा थिएनन् । भारतको उकालोलाग्दो अर्थतन्त्र धर्खराउने तथा आर्थिक संकटमा परेको पाकिस्तान झन डावाडोल हुने अवस्थाका बीच अहिलेको सहमति बनेको हो । यो सहमतिलाई दीर्घकालीन बनाउनुपर्छ । युद्धविरामसँगै
भारतले कम महत्व दिएको दक्षिण एसियाली सहयोग संगठन (सार्क)को भूमिकालाई प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्छ । सार्कलाई कम्तिमा क्षेत्रीय समस्या समाधानको साझा मञ्च बनाउनेतर्फ भारत र पाकिस्तान तयार हुने हो भने यस्ता तनावहरु कम गराउन अन्तर्राष्ट्रिय समुदाय गुहार्न पर्दैन भन्ने दुवैले बुझ्नुपर्छ ।

र,अध्यक्ष राष्ट्रको हैसियतबाट नेपालले त्यसको पहलकदमी लिनुपर्छ ।संकटको बेला नै हो, कुटनीतिक क्षमता प्रदर्शन गर्ने । नेपालले आफ्नो कुटनीतिक क्षमता प्रदर्शनका निम्ति सक्दो छिटो पाइला चाल्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->