केही दिन यता पश्चिमबाट आएको जलवास्पयुक्त हावा, स्थानीय वायु र बंगालको खाडीबाट आएको पानी पार्ने हावाका कारण देशभरको मौसममा बदली भैरहेको छ । तीन किसिमको मौसमी प्रणालीका कारण हावाहुरी र वर्षा भैरहेको हो । किसानका लागि यो सुखद नै हो । तर मनसुन सुरु हुनुपूर्व भैरहेको अत्याधिक वर्षाका कारण देशभरबाट विपत्का घटनाहरु समेत सार्वजनिक भैरहेका छन् । जुन घटना दुखद छन् । हिउँदभरी पानी नपरेकाले प्रि–मनसुनमा पानी पर्दा हिउँदको धुलो पानीसँगै लेदो बनेर बाढी बन्नु सामान्य कुरा भयो । सामान्य वर्षामा समेत खोलानाला बढ्नु, सडक संरचनामा क्षति पुग्नु, खानेपानी सिंचाईंका नहरमा क्षति हुनु र बाढीपहिरोका कारण जनधनको क्षती हुनु दुर्भाग्यपूर्ण घटना हुन् । तर वर्षायाम सुरु हुनु पूर्वनै प्रकृतिले दिएको यो सन्देश हो भन्ने कुरालाई भने नकार्न सकिन्न ।
वर्षा प्राकृतिक नियम हो । मनसुनमा हुने वर्षाको विषयमा त नेपालमा कहिलेदेखि सुरु भएर कहिले अन्त्य हुन्छ भन्ने पूर्वानुभान समेत हुन्छ । हरेक वर्ष बर्खा आउँछ । वर्षा याममा हरेक वर्ष धनजनको क्षती भैरहेकै छ । कतिपय प्रकृतिकै कारण त कतिपय मानविय क्रियाकलापका कारण विपत्का घटनाहरु सिर्जना हुने गरेका छन् । चट्याङ र बाढी पहिरोका कारण हुने क्षतिको तथ्यांक हरेक वर्ष कहालीलाग्दो छ । भुकम्प, हावाहुरी जस्ता विपत्का घटनाबाट हुने क्षति कम गर्न सकिएला तर यस्ता विपत्का घटना हुन नदिनका लागि प्रयास असम्भव छ । तर बाढीपहिरो र चट्याङ जस्ता विपत्का घटनाबाट बच्न सकिन्छ । चट्याङबाट बचाउनका लागि सरकारले नीतिगत व्यवस्था गर्न सक्छ । देशभर हरेक घर निर्माण हुँदा चट्याङ् प्रतिरोधी घर बनाउन सकिन्छ । बाढी र पहिरो कस्तो भुगोलमा बढी जान्छ भन्ने जनजनमा ज्ञान भएको बिषय हो । पछिल्लो समय त मानिसका अनियन्त्रित प्रकृति दोहनका क्रियाकलापले बाढीपहिरोलाई साथ दिईरहेकै छ ।
देशमा तीन तहका सरकार छन् । प्राकृतिक विपत् आइलाग्दा जनप्रतिनिधिहरु आफ्ना नागरिकको सारथी पनि बनेका छन् । तीनै तहका सरकारहरुसँग बिपत् व्यवस्थापन सम्बन्धि संयन्त्र छन् । जनशक्ति छ र स्रोतको समेत व्यवस्था छ । तर यी सबै क्षेत्र क्रियाशिल भने छैनन् । प्रि–मनसुनमा निम्तिएको विपत्ले वर्षा याममा हुन सक्ने घटनाको पूर्व संकेत गरिसकेको छ । तीन तहका सरकार हिउँदभरी कानमा तेल राख्ने र बर्खा याममा कोकोहोलो हालेर मात्रै नागरिक विपत्बाट बच्दैनन् । नागरिक र राष्ट्रका सम्पत्ति जोगाउनका लागि तीनै तहकार सरकार बेलैमा पूर्व तयारीमा जुट्नु पर्छं । बिपत्सँग जुध्नका लागि आवश्यक सचेतनासहित नागरिक सचेत, सरकार जिम्मेबार बन्न जरुरी छ ।




