देशमा दिनहुँ यो वा त्यो माग राखेर प्रदर्शन भइरहेका छन् । केही समयअघि शिक्षकहरु आन्दोलित थिए । शिक्षामन्त्री विद्या भट्टराईले शिक्षकको माग संवोधन गर्न नसक्दा राजीनामा दिइन् । त्यसपछि आएका शिक्षामन्त्रीले जसोतसो शिक्षकलाई थुम्थुम्याए तर असन्तुष्टि कायमै छ । आवासीय चिकित्सको माग संवोधन भएकै छैन । चैत १५ देखि राजसंस्था पुनस्र्थापना र हिन्दुराज्यको माग राख्दै राजावादीहरु प्रदर्शनम छन् । उनीहरुको प्रदर्शन अहिले पनि जारी छ । पछिल्लो समय यातायात व्यवसायीहरु सडकमा ओर्लेका छन् । देशमा यतिधेरै असन्तुष्टि छ कि,कसैले आह्वान गर्नासाथ आन्दोलनको माहौल बन्नपुग्छ । यो असन्तुष्टि संवोधनको अचुक अस्त्र भनको सुशासन र सेवा प्रवाह नै हो । तर, शक्तिशाली सरकार त्यो कामबाट च्यूत भएको भान भएको छ । सत्ताधारी दलका नेताहरुले नै सेवा प्रवाह र सुशासनमा भनेजस्तो हुन नसकेको स्वीकारेका छन् । असन्तुष्टि सानोबाट सुरु हुन्छ । बेलैमा संवोधन गर्न नसक्दा त्यसमा घुसपैठ हुन्छ । अतिवादी शक्तिले उपयोग गर्ने खतरा बढ्छ । अतः यस्तो बेला राजनीतिक नेतृत्वले सुझबुझपूर्ण निर्णय लिनुपर्छ । राज्यका जिम्मेवार तहमा बसेका व्यक्तिबाट समस्यालाई गिजोल्नेभन्दा पनि समाधान गर्ने गरी अभिव्यक्ति आउनुपर्छ । यो मामिलामा प्रधानमन्त्री केपी शर्मा ओली बढी चुकेकोजस्तो देखिएको छ । केपी ओली एमालेका अध्यक्षमात्र हैनन्, देशका प्रधानमन्त्री पनि हुन् । उनले गर्ने निर्णय र अभिव्यक्तिले देशलाई नयाँ दिशा दिनसक्छ । दृढ निश्चयका साथ निर्णय कार्यान्वयन गराउने र कम बोल्दा नै उनको उचाइ बढ्छ । प्रधानमन्त्रीले सही गति र दिशा लिँदा अतिवादीहरुको तुजुक गल्छ ।
देशमा अतिवादीहरु सल्बलाउँदा त्यसको निदान खोज्नु परिवर्तनका हिमायतिहरुको कर्तव्य र दायित्व हो । अहिले व्यवस्था नै बदल्न खोज्ने शक्तिको विरुद्ध हिजोका परिवर्तनका हिमायति राजनीतिक दलहरु एकजुट छन् । तर, सत्ताको झिनाझम्टीका कारण उनीहरु एकै ठाउँमा आउने वातावरण बनेको छैन । नेपाली कांग्रेस र एमालेले सत्ता साझेदारी गरिरहेको अवस्थामा प्रमुख प्रतिपक्षको रुपमा माओवादीले उनीहरुका गतिविधिको खबरदारी गर्नैपर्छ । तर, राष्ट्रिय मुल मुद्दामा भने यी दलहरु एकै ठाउँमा उभिनुपर्ने आवश्यकता छ । कहिलेकाहिँ दलहरु स्वयंले त्यो कुरा स्वीकार्छन् र मिल्ने छनक दिन्छन् अपितु मिल्न चाहिँ मिल्दैनन् । गलतलाई गलत भन्ने र सहीलाई समर्थन गर्ने राजनीतिक संस्कारको अभावमा यस्तो देखिएको हो । यो संस्कार सुधार्नुपर्छ ।




