बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

दानवीर दम्पत्ति र लेखनाथ सामुदायिक अस्पताल

दानवीर दम्पत्ति र लेखनाथ सामुदायिक अस्पताल


  • Dhorpatan News
  • असार २ २०८२, सोमबार

पोखरा–३१ पचभैंयाका रेवतीरमण र शान्ता पौडेलले आफ्नो सबै सम्पत्ति अस्पताललाई दान दिने निर्णय गरे ।लायन्स क्लबले २०६० सालमा अस्पताल निर्माणको लागि आयोजित श्रीमद्भागवत कथावाचनको क्रममा निसन्तान पौडेल दम्पत्तिले दायाँबायाँ केही नसोची अस्पताललाई सर्वश्व दिने निर्णय गरे । त्यो बेला र अहिले १६ रोपनी घरजग्गा दान दिनु चानचुने कुरा थिएन र हैन । कथावाचक नारायणप्रसाद पोखरेलको कथावाचनमा मग्न भएपछि पौडेल दम्पतिले सो निर्णय गरेका थिए । निर्णयले आयोजक लायन्स क्लब अफ लेखनाथ त गद्गद् हुने नै भयो, त्यो क्षेत्रमा अस्पताल खुल्ने सम्भावना बढेर गयो ।

पौडेल दम्पत्तिलाई धेरैले पच्छ्याए । गच्छे अनुसार दान दिए । अस्पताल ठडियो । पौडेल दम्पत्तिलाई अस्पतालमै बस्ने व्यवस्था मिलाइयो । कोभिडपछि उनीहरुलाई अस्पतालभन्दा माथिल्लो भागमा घर बनाएर राखिएको छ । पौडेल दम्पत्तिसँग अहिले घर रहेको ४ रोपनी जग्गा बेचेर प्राप्त भएको १८ लाख रुपैयाँबाट आउने ब्याजमात्र सम्पत्तिको रुपमा रहेको छ । तर, उनीहरु सन्तुष्ट छन् । जीवनमा सबैभन्दा ठूलो पुण्य कमाएको अनुभूत गरिरहेका छन् । अहिले रेवतीरमण ७८ वर्षका भए । श्रीमती शान्ता पनि भर्खरै क्यान्सर जितेर तंग्रिएकी छन् । उनीहरुको उचित हेरचाह र स्याहार गर्ने दायित्व अस्पताल संचालक समितिकै हो । अस्पतालले त्यो कृत्य राम्रैसँग निभाइरहेको छ ।

पौडेल दम्पत्तिको शेष जीवन सुखसाथ बित्दामात्र उनले दिएको दानको उचित मूल्याङ्कन र सम्मान हुन्छ । पौडेल दम्पत्ति सुख र खुसीसाथ रहून् । उनीहरुको दीर्घजीवन र सुवास्थ्यको कामना गरिरहँदा दानको सही उपयोगको विषयलाई चाहिँ नजरअन्दाज गर्न मिल्दैन । देशैभर महायज्ञ,कथावाचन वा अन्य धार्मिक कृत्यका माध्यमबाट परोपकारी कामका निम्ति भन्दै करोडौँ रुपैयाँ संकलन गरिएको छ । दानवीरहरुले मन खोलेर दिएको त्यस्तो दानको सदुपयोग नभएको गुनासो दानवीरकै मुखबाट आउने गरेको छ । जसले जे कामको लागि भनेर दान दिएको हो, त्यो काममा प्रयोग गर्नु माग्नेहरुको दायित्व र कर्तव्य हो । त्यो कर्तव्यबाट च्यूत हुनेहरुमाथि निगरानी बढाउँदै कारवाही गरिनुपर्छ । दानवीरहरुको दान रकम दुरुपयोग गर्न पाइँदैन । लेखनाथ सामुदायिक अस्पताल व्यवस्थापन समितिले दानवीर दम्पत्तिको हेरचाह त गरेकै छ तर अस्पतालाई अझ राम्रो र सेवामुखी बनाउन सक्दामात्र दानवीरको सम्मान हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->