बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ग्यास भण्डारले दिएको खुशी

ग्यास भण्डारले दिएको खुशी

प्राकृतिक स्रोतको सही सदुपयोगबाट नै देश उँभो लाग्ने हो । मुस्ताङमा रहेको युरेनियमदेखि अन्य धातुहरु उत्खनन हुन सके समृद्धि टाढा छैन । अतः राज्यले ती खानीहरु उपयोगको लागि तत्काल काम थाल्नुपर्छ ।


  • Dhorpatan News
  • असार ११ २०८२, बुधबार

दैलेखमा १ सय १२ अर्ब घनमिटर मिथेन ग्यासको भण्डार रहेको पुष्टि भएको छ । चिनियाँ सहयोगमा भएको अनुसन्धानबाट त्यहाँ ठूलो परिणाममा ग्यास भएको र त्यसको व्यावसायिक उत्पादन गर्न सकिने पुष्टि भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वर्षदेखि नै त्यहाँबाट उत्पादन थालिने बताएका छन् ।

दैलेखको भैरवी गाउँपालिका १, जलजलेमा रहेको सो ग्यास भण्डारबाट व्यावसायिक उत्पादन गरिँदा करिब ५० वर्षसम्म नेपालको माग धान्ने प्रक्षेपण गरिएको छ । मिथेन एकप्रकारको प्राकृतिक ग्यास हो । यो ग्यास खाना पकाउन प्रयोग गरिन्छ । मिथेन अहिले प्रयोग भइरहेको एलपी ग्यासभन्दा उच्चकोटीको हो । गाउँघरमा उत्पादन हुने गोबरग्यास पनि मिथेन नै हो । नेपालले इन्धनका लागिमात्र वर्षेनी अर्बौ रुपैयाँ खर्च गर्दै आएको छ । नेपालमै ग्यास उत्पादन हुँदा ठूलो रकम विदेशिनबाट रोकिनेमात्र नभएर आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ठूलो टेवा पुग्छ । ग्यास भएको पुष्टि भएसँगै अब सरकारले व्यावसायिक उत्पादनका निम्ति पूर्वाधार निर्माणको काम तत्काल थाल्नुपर्छ । करिब ६५ करोडको लागतमा त्यस्तो प्रशोधन केन्द्र निर्माण हुने अनुमान गरिएको छ । ६५ करोड ठूलो रकम हैन । त्यसैले प्रधानमन्त्रीले आउँदो मंसिरभित्र त्यसको परीक्षण उत्पादन गर्न सकिने बताएका हुन् ।

प्रधानमन्त्रीले ग्यासको व्यावसायिक उत्पादनको अलावा नवलपुरमा रहेको धौवादी फलाम खानीबाट उत्पादन थाल्न पनि निर्देशन दिएका छन् । नवलपुरको धौवादीमा फलाम खानी रहेको पुष्टि भइसकेको छ । यो खानी संचालनमा गण्डकी प्रदेश सरकारले पनि चासो देखाएको थियो । अहिले संघीय सरकार पनि तातेको छ । सरकारको घोषणाले जनतामा उत्साह छाएको छ । एकातिर हिजो परम्परागत रुपले संचालनमा रहेका फलाम खानीको पनि नेपालले उपयोग गर्न नसकेको अवस्था छ भने अर्कोतिर नेपालमा विभिन्न दुर्लभ र दैनिक जीवनमा प्रयोग हुने धातुहरु रहेका छन् । तीमध्ये केही खानीहरु तत्काल संचालनमा ल्याउन सकिने खालका छन् । प्राकृतिक स्रोतको सही सदुपयोगबाट नै देश उँभो लाग्ने हो । मुस्ताङमा रहेको युरेनियमदेखि अन्य धातुहरु उत्खनन हुन सके समृद्धि टाढा छैन । अतः राज्यले ती खानीहरु उपयोगको लागि तत्काल काम थाल्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->