२०९१ सालको एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा अनुसार गत वर्षको चैत ७ गतेदेखि सुरु भएको एसइईमा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । जसमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना थिए । एसइईको ग्रेडमा २ लाख ७१ हजार २९९ जना परेका छन् । यसवर्ष सबैभन्दा धेरै गणित विषयमा विद्यार्थी ननग्रेडमा परेका छन् । १ लाख २८ हजार २१५ जना विद्यार्थी ननग्रेडमा परेका हुन् । ननग्रेडमा पर्नु भनेको असफल हुनु हैन । उनीहरुको लागि मौका परीक्षाको व्यवस्था छ । एकपटक असफल हुँदैमा बिग्रने पनि केही हैन । अत : उनीहरु अझ राम्रो गर्नुपर्छ भन्ने ध्याउन्नमा लागून् ।
एसइई हिजोको एसएलसीजस्तो रहेन । कक्षा १२ सम्मलाई विद्यालय शिक्षा नै मानिएको हुनाले पहिलाजस्तो फलामे ढोका पार गरेपछि उच्च शिक्षाको बाटो खुला पनि हुँदैन । तर, कक्षा १० को यो परीक्षाको वजन घटेको चाहिँ छैन । किनकि, कक्षा १० उत्तीर्ण गर्नु भनेको एउटा विद्यार्थी उमेरको हिसाबले पनि युवावयमा प्रवेश गर्नु हो । शारीरिक र मानसिक रुपले उसमा आउने परिवर्तनसँग पनि जोडिने भएको हुनाले एसइई महत्वपूर्ण छ भने यसमा गरिने ग्रेडिङ र प्राप्त हुने अंकले त्यसपछि कुन विषय अध्ययन गर्ने भन्ने बाटो खोल्ने भएकाले पनि एसइईको महत्व भएको हो । यो वर्षको एसइईमा गतवर्षको भन्दा धेरै विद्यार्थीं उत्तीर्ण भएका छन् । नतिजाले सामुदायिक विद्यालयको गुणस्तर सुधारिको देखिएको छ । किनकि, देशमा अहिले पनि सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको संख्या ठूलो छ । जबसम्म सामुदायिक विद्यालयको गुणस्तर सुधार हँुदैन,तवसम्म नेपालको शिक्षाको गुणस्तर सुधार भएको मान्न सकिँदैन । कास्कीले पनि यो वर्षको एसइईमा राम्रै गरेको देखिएको छ । एसइईको नतिजासँगै पोखरा महानगरपालिकाले विद्यार्थी भर्ना र छात्रवृत्तिका निम्ति सूचना जारी गरेको छ । त्यो सूचना कार्यान्वयनमा आओस् ।
रह्यो, उच्च माध्यमिक तहमा के पढ्ने भन्ने कुरा ! त्यसमा चाहिँ बढो विचार पु¥याउनुपर्छ । अभिभावकको करबलले हैन कि आफ्नो चाहनाले निर्देशित हुँदै विषय छनोट गर्नुपर्छ । आफ्नो रुचिभन्दा बाहिरको वा आफूले धान्न नसक्ने विषय रोज्दा असफलता हात लाग्ने सम्भावना रहन्छ । त्यस्तोमा आफ्नो रुचि अनुसारको विषय छनोटले नै भविष्यको बाटो निर्धारण गर्छ भन्ने कुरालाई केन्द्रमा राख्नुपर्छ । अर्कोतिर उच्च माध्यमिक तहमा केही बढी स्वतन्त्रता प्राप्त हुन्छ । त्यो स्वतन्त्रतालाई दुरुपयोग गर्नु हुँदैन ।




