मदन भण्डारी जयन्तीको अवसरमा उनकी धर्मपत्नी तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आउने घोषणा गरिन् ।नेकपा एमालेको पार्टी सदस्यता नविकरण गरिरहेको र सोही पार्टीका गतिविधिमा सक्रिय हुने उनको घोषणाको पक्षमा एमालेभित्र ठूलो पंक्ति खडा भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसमेत उपस्थित रहेको कार्यक्रम (भला, ओलीले विद्याको घोषणा सुनेनन्) विद्या जसरी शान्त र शालिनतापूर्वक प्रस्तुत भइन्, त्यसले राष्ट्रिय राजनीति तथा एमालेभित्र पनि तरंग ल्याएको छ ।
राष्ट्रपति संविधानत ः देशको सर्वोच्च पद हो । यो पदमा पुगेको व्यक्ति राजनीति र दलभन्दा माथि रहनुपर्छ भन्ने मान्यता छ । अपितु,पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन कानूनले छेकेको छैन । यसअघि नै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले माओवादी केन्द्रको उपाध्यक्षको रुपमा सक्रिय राजनीतिमा प्रवेश गरिसकेका छन् । दुई कार्यकाल राष्ट्रपति भएकी विद्यादेवीले अहिले उनकै पदचाप पच्छ्याएको भन्नेहरु पनि छन् । हेर्दा पनि त्यस्तै देखिन्छ । पूर्वराष्ट्रपतिको यो कदमलाई संविधानको मर्मविपरीत मान्नेहरु पनि छन् भने अर्कोतर्फ समर्थकहरूले लोकतान्त्रिक अधिकारको प्रयोग भनेर समर्थन गरिरहेका छन् । गैरराजनीतिक र सर्वोच्च पदमा पुगेको व्यक्तिबाट त्यस्तै खालको अपेक्षा राखिन्छ । नेपालजस्तो राजनीतिक रुपले ध्रुविकृत भएको देशमा यस्तो प्रवृत्तिले राष्ट्रपतिको गरिमा घटाउने र सो पदमा बस्ने व्यक्ति स्वतन्त्र रुपले नरहने खतरा पैदा गर्ने तर्कमा दम छ । राजनीतिक नेतृत्वप्रति अविश्वास पैदा भइरहेको अवस्थामा एउटा सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा किन आउने ? भन्ने प्रश्नको उत्तर दिने ठाउँमा विद्यादेवी आइपुगेकी छन् । उनी अब सम्माननीय हैन, एमालेको नेता÷कार्यकर्ताको रुपमा जनतासँग हुनेछन् भने राजनीतिक रुपले आफ्नो नेतृत्वको लगाम उनीमाथि पनि स्वतः लाग्ने छ ।
तर, के एमालेभित्र विद्या नेतृत्वको होमा हो मिलाउनमात्र सक्रिय बनेकी हुन् त ? यो प्रश्नको उत्तर चाहिँ आउँदा दिनमा देखिने छ । अहिले एमालेभित्र आफ्नो नेतृत्वप्रति तीव्र असन्तुष्टि छ । तर, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो असन्तुष्टि संवोधन गर्न सकेका छैनन् । बरु, उनले आफू निकटलाई काखी च्याप्ने र विरोध गर्नेहरुलाई पाखा लगाउने गर्दै आइरहेका छन् । यस्तोमा जनताबीच पार्टी अलोकप्रिय हुने क्रममात्र बढेको छैन, पार्टीभित्र पनि उनीविरुद्ध उभिनेहरु थपिँदै गएका छन् । तर, अहिलेका दोस्रो तहका नेताहरु अध्यक्ष ओलीको सोझै विरोध गर्ने वा उनीसँग प्रतिस्पर्धा गर्ने हैसियतमा छैनन् । विद्याको सक्रियता सोझै पार्टी अध्यक्षलाई चुनौती दिने र भावि नेतृत्वकै लागि हो भन्ने एमालेभित्रको ठूलो पंक्तिको बुझाइ छ । पार्टी उपाध्यक्ष भइसकेकी विद्या स्वयंको राजनीतिक महत्वकांक्षा हेर्दा पनि उनी सामान्य कार्यकर्ताको रुपमा बस्ने छाँट देखिँदैन । अतः विद्याको सक्रिय राजनीति प्रवेशले एमालेको आन्तरिक जीवनमा हलचल उत्पन्न हुने निश्चितजस्तो देखिन्छ । विद्याको राजनीति कहाँसम्म पुग्छ भन्ने आँकलनमात्र गर्न सकिन्छ तर उनी सफल हुँदै गए आउँदा दिनमा देशको पहिलो महिला कार्यकारी प्रधानमन्त्री बन्नेछन् । तर, यो यात्रा सहज भने छैन । उनले एमालेको गिर्दो शाख जोगाउनुपर्छ, पार्टीभित्र हुने गुटबन्दी तथा घेराबन्दी तोड्नुपर्छ र यसअघि राष्ट्रपतिको रुपमा संविधान मिच्ने अभियानमा प्रधानमन्त्रीलाई किन साथ दिएको भन्ने प्रश्नको पनि चित्तबुझ्दो उत्तर दिनुपर्छ ।




