गत चैतदेखि गण्डकी प्रदेशका सरकारी अस्पताल र स्वास्थ्य संस्थाहरुमा आइरन फोलिक एसिड चक्कीको अभाव रह्यो । संघीय स्वास्थ्य विभागले अचानक आइरन चक्की खरिद गर्न नसकिएकाले प्रदेशले नै व्यवस्था गर्नु भनेर पत्र पठायो । यसको प्रभाव गण्डकी प्रदेशमा मात्र नभई देशैभर प¥यो । यसअघि विभागले आइरन चक्की खरीद गरेर प्रदेशमा पठाउँथ्यो । प्रदेशको प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जिल्ला जनस्वास्थ्य कार्यालयले पठाएको लक्षित संख्या अनुसार सम्बन्धित जिल्ला र पालिकामा चक्की वितरण गर्दै आएको थियो । उक्त आइरन चक्की गर्भवती र १० देखि १९ वर्ष समुहका किशोरीलाई निशुल्क रुपमा खुवाईदै आइएको थियो ।
तर एक्कासी विभागले प्रदेशलाई आइरन चक्की पठाउन नसकिने जानकारी दियो । स्वास्थ्य संस्थामा आइरन चक्कीको अभाव हुन थाल्यो । यसले हजारौ गर्भवती र लाखौ किशोरी प्रभावित भए । प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकीको तथ्यांक अनुसार प्रदेशभरी ४१ हजार २ सय ३७ गर्भवती र २ लाख ५ हजार ३ सय २४ जना किशोरीलाई यसवर्ष आइरन चक्की खुवाउने लक्ष्य थियो । सधै केन्द्रबाट आइरन चक्की आउने भएकाले प्रदेशले खरीद योजनामा राखेर बजेट पनि छुट्टाएको थिएन । यसले तत्काल खरीद गर्ने अवस्था रहेन । यसले सरकारी स्वास्थ्य संस्थामा अभाव हुन पुग्यो । स्वास्थ्य विभागले पहिल्यै जानकारी दिएको भए प्रदेशले तत्कालै व्यवस्थापन गर्न सक्थ्यो ।
धेरै रगत बग्ने र रक्तअल्पता भएर कतिपय गर्भवती (सुत्केरी) को ज्यान जाने गरेको छ । साथै किशोरावस्थामा शरिरमा रगतको कमी नहोस् भनेर किशोरीलाई खुवाउने गरिएको छ । गण्डकी प्रदेशमा मातृ मृत्युदर राष्ट्रिय भन्दा बढी छ । मातृ मृत्यु अध्ययन २०७८ अनुसार प्रतिलाख सुत्केरीमा १५१ जनाले ज्यान गुमाउने राष्ट्रिय दर छ भने गण्डकीमा १६१ रहेको छ । यो तथ्यांकमा मृत्यु हुने मध्ये ३३ प्रतिशत प्रसुतिको बेला हुने उच्च रक्तस्राब हो । यहि मृत्युको जोखिम कम गराउन आइरन फोलिक एसिडले ठूलो भूमिका खेल्छ । आइरनलाई गर्भवती, सुत्केरी र किशोरीका लागि महत्वपूर्ण पोषक तत्वका रुपमा लिइन्छ । आइरन र फोलिक एसिडले भ्रुणको विकास र रक्तकोषिका निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुका साथै आमाको स्वास्थ्यमासमेत अनुकुल प्रभाव पार्छ । मस्तिष्क, मेरुदण्ड र त्यसका नशा प्रणालीमा हुनसक्ने समस्याबाट पनि जोगाउँछ । सरकारी स्वास्थ्य संस्थाबाट आधारभूत स्वास्थ्य सेवा दिने र उपचार तथा सेवामा एकरुपता ल्याउन सरकारले केही वर्षअघि ल्याएको आधारभूत स्वास्थ्य सेवामा आधारित स्तरीय उपचार पद्धतिले विभिन्न स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधी निशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ । आइरन फोलिक एसिड चक्की पनि ती औषधीको सूचीमा पर्छ । यसर्थ यस्तो संवेदनशील विषयमा बजेट अभाव वा अन्य कारण देखाएर राज्य आफ्नो दायित्वबाट पछाडि हट्नु हुदैन । आइरन चक्कीको अभाव हुन नदिन विशेष योजना र बजेटको व्यवस्थापन गर्नुपर्छ ।




