मनसुन सुरु भएसँगै वर्षा निरन्तर भैरहेको छ । जेठको अन्तिम सातादेखिनै नेपालमा पानी पर्न थालेको भएपनि असारको दोस्रो साता यता पानीपर्ने क्रम बढ्दो छ । किसानका लागि आकाशे पानी बरदान हो । कृषि उत्पादन वृद्धिका लागि हिमपात र वर्षा निकै लाभदायक मानिन्छन् । अझै सिंचाईको सुविधा नपुगेका पाखोबारी र टारहरुमा वर्षातको पानीले निकै सहयोग गर्ने नै भयो । किसानका लागि लाभदायक रहेको वर्षा आम नागरिकका लागि कहिलेकाहीँ हानिकारक बन्न सक्छ ।
खानेपानी भान्छाको महत्वपूर्ण अंग हो । मानव जीवनका लागि त पानीको महत्वको विषयमा चर्चा गरिहनु परेन् । तर कहिलेकाहीँ त्यही पानी हाम्रो शरिरका लागि हानिकारक बन्न सक्छ । नेपालमा पानीका कारण लाग्ने रोगहरुको तथ्यांक अंकमा भन्न सकिने अवस्था छैन् । तर वर्षा याममा मासिहरुमा देखिने टाईफाईड, हैजा, झाडापखाला, हेपाटाईटीस ए, जण्डिस, छालासम्बन्धि रोगहरु लगायतका कयौं रोगहरु दुषित पानीकै कारण फैलिने गरेका छन् । सरुवा प्रकृतिका यी रोगहरु एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिने र समुदायस्तरमा नै यो महामारी पुग्नेसम्मका समस्या पैदा हुन सक्छन् ।
हामिले खाने पानीका मुहान कति सुरक्षित छन् । मुहानदेखि संकलन ट्यांकी र घरमा पानी राखेको भाँडोसम्म कती सफा र सुरक्षित छ भन्ने हेक्का पानीको प्रयोग अघि हुन जरुरी छ । हिउँदभरी जंगल, खेतबारी र पाखाहरुमा जम्मा भएका पात पतिंगर, मानव तथा पशुपंक्षीको दिशा पिसाब र प्राकृतिक फोहोरहरु वर्षाको पानीले मुहान, ट्यांकी र प्रयोग गरीने भाँडा हुँदै भान्छामा पुर्याउँछ । त्यही फोहोरकै कारण महामारीजन्य रोगहरुको संक्रमणको शिकार आममानिस भैरहेकै छन् । पानीको मुहान सफा राख्ने, पानी वितरण पूर्व प्रसोधन र शुद्धिकरण गर्ने, पानी पिउनुभन्दा अघि उमालेर मात्रै प्रयोग गर्ने, खाना खानुअघि हात धुने र शौचालय प्रयोग गरेपछि साबुनपानीले हातधुने गर्दा यस्ता समस्याबाट बच्न सकिन्छ । पानी सुरक्षित बनाउनु राज्यको दायित्व हो । पानीका कारण देखापर्ने समस्याका विषयमा सचेतना फैलाउन सरोकारवालाले पनि आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ । उपयुक्त र सरल प्रविधिको प्रयोग गरेर सफा र शुद्ध पानीको प्रयोग गर्नु नागरिक आफैको पनि दायित्व हो । पानीको प्रयोगमा सजगता अपनाउँ, वर्षा याममा पानीका कारण लाग्ने रोगहरुबाट आँफु बचौं र अरुलाई पनि बचाउनका लागि भूमिका निर्वाह गरौं ।




