बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

राजमार्ग र पहिरोको समस्या

राजमार्ग र पहिरोको समस्या

अब, गल्ती गर्ने छुट कसैसँग छैन । अब हिउँदमा निदाउने अनि बर्खामा तात्ने प्रवृत्तिको अन्त्य गर्दै राजमार्ग सुधार र सुरक्षामा दीर्घकालीन रणनीति तय गर्नैपर्ने भएको छ ।


  • Dhorpatan News
  • असार ३० २०८२, सोमबार

जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाका केही ग्रामीण सडकहरुमा रातको समयमा सवारी चलाउन निषेध गरेको छ । पहिरोको जोखिममा रहेका ती सडकमा हुने रात्रीकालीन यात्रामा दुर्घटनाको सम्भावनालाई मध्यनजर गर्दै सो निर्णय गरिएको हो । नागरिकको ज्यानको सुरक्षा गर्नु राज्यको कर्तव्य हो । सूचना जारी त्यही दायित्वअन्तर्गतको एउटा कर्म हो तर हाम्रा सडकहरुको स्तरोन्नति तथा सुरक्षा प्रबन्ध उसको सवैभन्दा ठूलो जिम्मेवारी हो । राज्य त्यो जिम्मेवारीमा खरो उत्रन सकेको छैन । बर्खा सुरु हुनासाथ कालीगण्डकी कोरिडरसहितका केही सडकहरु अवरुद्ध हुने क्रम सुरु भएको छ । बढी वर्षा हुने साउन–भदौमा ती सडकको अवस्था अझ बिग्रने सम्भावना ज्यादा छ । पोखरालगायत महानगरपालिका भनिएका सहरहरुका वडाहरुमा बर्खा लागेसँगै गाडी चल्न बन्द भएको छ । सडक विभागका अनुसार अहिले पनि केही सडक एकतर्फी खुलेका छन् भने धेरैजसो सडकहरु जुनसुकै बेला अवरुद्ध हुने खतरामा छन् । राजमार्गमा पहिरो झरिरहँदा असुरक्षा बढेको छ । पृथ्वी राजमार्गको अवस्था सुधारिए पनि ४ लेनको सो सडकको बीच–बीचमा पहिरो खसेको छ । दुईतर्फी सडक एकतर्फी बनेको ठाउँमा दुर्घटनाको जोखिम ज्यादा देखिएको छ । पहिरोको दीर्घकालीन समाधान नखोजेसम्म यो समस्या समाधान नहुने सडक विभागको भनाइ छ ।

राजमार्गहरु ‘लाइभ लाइन’ हुन् । एकैछिन अवरुद्ध हुँदा पनि पार्ने क्षति साह्रै ठूलो हुन्छ । यहाँ त, दिनहुँ राजमार्गहरु अवरुद्ध हुने अवस्था आएको छ । जसले गर्दा बिरामी, जन्ती, मलामीलगायतका यात्रुदखि सामान बोकेका गाडीहरु अलपत्र परेका छन् । समयमा नपुग्दा बिरामीको हालत के हुन्छ ? सहजै अनुमान लगाउन सकिन्छ । तरकारी, फलफूललगायतका कुहिने सामानहरु बोकेका गाडीहरु बाटोमै रोकिँदा ती सामान नष्ट हुँदा त्यसले ठूलो आर्थिक क्षति हुन्छ । तोकिएको समयमा गन्तव्यमा नपुग्दा लागत बढ्छ ।

राजमार्गहरुको डिजाइन र निर्माण बैज्ञानिक एवं वातारण–मैत्री नभएको लुकाउनुपर्ने विषय हैन । नेपालको भूवनोटमा विविधता छ । त्यो विविधताको अध्ययनविना खनिएका बाटाहरु सुरक्षित हुने कुरै भएनन् । अर्कोतर्फ, बाटो खन्नुलाई मात्रै प्राथमिकतामा राख्ने अनि मर्मत, पहिरो रोक्न वैज्ञानिक प्रविधिको प्रयोगमा चुक्दै जाँदा नेपालको अर्को दुर्भाग्य हो । पहिलो कुरा त, बनेका बाटाहरुको संरक्षणमै जुट्नु परेको छ । जापानजस्ता देशहरुले पहिरो रोक्न बायोइञ्ज्निियििरङ प्रविधि प्रयोग गरेका छन् । यो प्रविधिकै कारण पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो रोकिएको छ । बढी जोखिम भएका अन्य ठाउँहरुमा पर्खाल लगाएर पहिरो रोक्न सकिन्छ । राजमार्गहरु सधैँ खुल्ला र सुरक्षित हुनुपर्छ । बाटो बनाउने बेला नेपालले ठूलो भूल गरिसकेको छ । राजमार्गहरुको दीर्घकालीन सुरक्षा, वातावरणीय मूल्याङ्कनलाई नजरअन्दाज गर्दाको परिणाम अहिले भोगिरहेका छौँ । अहिले बनेका बाटाहरु पनि उस्तै छन् । मध्यपहाडीको बागलुङ–बुर्तीवाङ नै उदाहरण छ । अब, गल्ती गर्ने छुट कसैसँग छैन । अब हिउँदमा निदाउने अनि बर्खामा तात्ने प्रवृत्तिको अन्त्य गर्दै राजमार्ग सुधार र सुरक्षामा दीर्घकालीन रणनीति तय गर्नैपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->