बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कारागारको व्यवस्थापनमा आमुल परिवर्तन जरुरी

कारागारको व्यवस्थापनमा आमुल परिवर्तन जरुरी

जेल सुधारको प्रश्नमा चौकीदारी प्रथाको पनि गम्भीर ढंगले पुनः मूल्यांकन गरिनुपर्छ । कारागारको भौतिक, प्रशासनिक र व्यवस्थापन सबै पक्षमा आमूल परिवर्तन पनि जरुरी छ ।


  • Dhorpatan News
  • साउन ८ २०८२, बिहिबार

कारागार व्यवस्थापन विभागले अजय गुरुङलाई चौकीदार नियुक्त गरेपछि कास्की कारागार तनावग्रस्त बन्यो । आफुहरुले चाहेको व्यक्तिलाई वेवास्ता गर्दै अर्कै व्यक्तिलाई चौकीदार बनाइएको भन्दै कैदीबन्दीको एक समुह आन्दोलनमा उत्रियो । झडपकै स्थिति रह्यो । कारागारको ‘क’ ब्लकका कैदीबन्दीले यसअघि दुई कार्यकाल चौकीदार भएका प्रकाश गुरुङलाई नै निरन्रता दिनुपर्ने माग राखेका थिए । अजय र प्रकाश दुवै ज्यान मुद्धामा सजाय कटाइरहेका बन्दी हुन् । प्रकाशलाई अहिले तनहुँ कारागार सरुवा गरिएपछि घटना मत्थर जस्तो देखिएको छ ।

कैदीबन्दीले नवनियुक्त चौकीदार अजयले कैदीबन्दीको हकहित तथा सुरक्षा गर्न नसक्ने, पक्षपात र निरंकुश कार्यशैली रहेको, कैदीबन्दीको आर्थिक शोषण हुने, सुशासन कायम नरहने भनेका छन् । आर्थिक चलखेल गरेर चौकीदार नियुक्त गरिएकाले त्यसको पनि छानबिन गर्न उनीहरूले माग गरेका छन् । माग पूरा नभएसम्म नयाँ चौकीदारलाई बहिष्कार गर्ने, आमरण अनसन बस्ने भन्दै कैदीबन्दीले गृहमन्त्रीलाई पत्रसमेत लेखेका छन् । कैदीबन्दीले चौकीदार नियुक्तिमा राजनीतिक पहुँच र आर्थिक लेनदेनसमेत भएको गम्भिर आरोप लगाएका छन् । पार्टीनिकट बिचौलियाले आफ्नो आर्थिक लाभका लागि नयाँ चौकीदार ल्याएको उनीहरुको दावी छ ।

कास्की कारागारमा भएको यो घटना पहिलो होइन् । यसअघि पनि पटकपटक यस्ता घटना भइरहेका थिए । कारागारभित्रै ठूलाठूला आर्थिक कारोवार, व्यापार, अवैध असुली, लगायत काम भएका समाचारहरु सार्वजनिक भएका थिए । झडपको समेत अवस्था आएपछि यसअघि पनि कास्की कारागारका बन्दीहरुलाई अन्यत्र सरुवा गरिएको थियो । चौकीदार सरकारी सुविधा पाउने जिम्मेवारी पद हो । राम्रोसंग काम गरेमा कैद मिनाहासम्म हुने गर्छ । साथै निश्चित काम र समयका लागि कारागारबाट बाहिर निस्कन पाउने सुविधा पनि उसलाई हुन्छ । यसले पनि चौकीदार हुन कारागारमा हानाथाप नै हुन्छ ।

कास्की कारागारको पछिल्लो घटनाले जेलभित्र हुने विभिन्न शंकास्पद विषयलाई पनि प्रष्ट पार्न सघाउँछ । कास्की कारागारमात्र होइन, देशैभरिका कारागारको आन्तरिक व्यवस्थापनमा व्यापक सुधारको खाँचो छ । कारागार सुरक्षा र आन्तरिक व्यवस्थापनका दृष्टिले किन कमजोर अवस्थामा छन् ? त्यसको गम्भीर समीक्षा सरकारले गर्नुपर्छ । जेलभित्रको आन्तरिक व्यवस्थापन सुधारको कुरा गर्दा त्यहाँभित्र रहेको चौकीदारी प्रथामा सुधार आवश्यक छ । कारागार व्यवस्थापनमा एकातिर जेल प्रशासन रहेको हुन्छ भने अर्कोतर्फ सुरक्षाकर्मी र तेस्रो पक्ष भने चौकीदार । चौकीदार कैदीहरूमध्येबाटै चुनिने एउटा व्यक्ति हो यद्यपि जेलभित्रको आन्तरिक व्यवस्थापनमा उसको महत्त्वपूर्ण भूमिका हुन्छ । कतिपय अवस्थामा चौकीदार आफैं अपराधमा संलग्न भएको पनि पाइन्छ । जेलहरूमा चौकीदार र उनी मातहतका अन्य नाइके भाइनाइकेहरूको ‘दादागिरी’ का कारण जेलभित्रको आन्तरिक व्यवस्थापन एउटा चुनौतीका रूपमा रहँदै आएको छ । तसर्थ, जेल सुधारको प्रश्नमा चौकीदारी प्रथाको पनि गम्भीर ढंगले पुनः मूल्यांकन गरिनुपर्छ । कारागारको भौतिक, प्रशासनिक र व्यवस्थापन सबै पक्षमा आमूल परिवर्तन पनि जरुरी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->