विदेशमा रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ राजनीतिक र व्यक्ति केन्द्रीत स्वार्थका कारण विभाजित छ । विदेशमा रहेका नेपालीहरुलाई आइपर्दा सहयोग गर्ने र मातृभूमिलाई पनि सहयोग पु¥याउने पुनितः उद्देश्यका साथ खोलिएको सो संस्थामा गञ्जागोल हुँदा प्रत्यक्ष असर सहयोगापेक्षी नेपाली समुदाय र नेपालसम्म पनि परेको छ । विदेशमा रहेका नेपालीको यकीन तथ्याङ्क नभए पनि त्यो संख्या ८० लाखभन्दा बढी भएको अनुमान गरिन्छ । मलेसिया, साउदी अरेबिया, कतार, यूएई, कुवेत, ओमान, बहराइन, दक्षिण कोरिया नेपालीका प्रमुख श्रम गन्तव्य हुन् । ती देशमा वैध तथा अवैध तरिकाबाट नेपालीहरु पुग्छन् । नेपाली नागरिक सुखले विदेशिएका हैनन्,। त्यहाँ सजिलो पनि छैन । वैदेशिक रोजगार विभागको तथ्याङ्क विगत १४ वर्षको अवधिमा ९ हजार २ सय ३७ नेपाली श्रमिकहरूको विदेशी भूमिमा निधन भएको छ । तथ्यांक अनुसार मलेसियामा सबैभन्दा धेरै ३ हजार ९८ नेपाली श्रमिकको निधन भएको छ । साउदी अरबमा २ हजार ५ सय १३, कतारमा १ हजार ७ सय ९०, युएईमा ९ सय १, कुवेतमा ३ सय २४, बहराइनमा १ सय ३१, कोरियामा १ सय ४२, ओमानमा ६६ श्रमिकको मृत्यु भएको छ । त्यसरी मृत्युवरण गरेका नेपालीको शव स्वदेश फिर्ता गर्न साह्रै गाह्रो छ । घरेलु हिंसा वा अन्य समस्यामा परेका नेपालीहरुको लागि सहयोग पु¥याउन पनि उत्तिकै कठिन छ ।
विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा राज्यकै दायित्व हो अपितु त्यो दायित्वबाट राज्य विमुख छ । कतिसम्म भने विदेशमा रहेका नेपाली दूतावासको टेलिफोनसमेत नउठ्ने समस्या छ । सहयोग त परको कुरा ! यस्तोमा नेपालीहरुले नै निर्माण गरेका संघ÷संस्था तथा गैरआवासीय नेपाली संघको भूमिका महत्वपूर्ण हुने देखिन्छ । ती संस्थाबाट केही सार्थक पहल पनि भएका छन् । तर, दूतावासकै गतिविधिमा भने प्रश्न उठाउने ठाउँ छ । कतिपय दूतावासमा जनशक्ति अभावले काम हुन सकेको छैन भने कतिपय दूतावास नाममात्रका छन् । त्यस्तोमा गैरआवासीय नेपाली संघ (आइसीसी)ले दूतावासको टेलिफोन पनि नउठ्ने समस्या समाधानको लागि पहल थालेको छ । श्रम तथा परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आइसीसीले फोन नउठ्ने र समयमा नै आवश्यक जानकारी नपाइने समस्याको समाधानका लागि ‘आर्टीफिसियल इन्टिलिजेन्स’ र ‘कल सेन्टर’ संचालन गर्ने भएको छ । केही हप्ताभित्रमा नै ‘पाइलट प्रोजेक्ट’ को रूपमा दुबईबाट सुरु गरिने तथा यो प्रविधि अन्य देशमा पनि छिट्टै लागू गरिने आइसीसीका अध्यक्षले बताएका छन् । यो सह्रानीय कदम हो । नेपाली नागरिकको सुरक्षा र सहजताको लागि प्रविधिको प्रयोग गरिँदा फोन नउठ्ने समस्याबाट छुटकारामात्र मिल्ने छैन,समस्यामा परेकाहरुले सहयोग पनि प्राप्त गर्नेछन् । श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र एनआरएनएबीचको सहमति अनुसार श्रम संसार एपमा ‘च्याटबट’ र ‘कल सेन्टर’ लाई एकीकृत गर्ने यो कार्य जतिसक्दो छिटो सक्नुपर्छ र कार्यान्वयनमा ल्याउनुपर्छ । यो डिजिटल प्रणालीबाट विदेशमा रहेका नेपालीहरूले ‘टेलिमेडिसिन’, स्वास्थ्य शिक्षा तथा परामर्शसहित नेपालीहरूले भोग्नुपरेका समस्याहरूलाई पनि सम्बोधन पनि गर्न सकिने बताइएको छ । जुन कुरा साह्रै सह्रानीय छ ।



