बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कोरला नाकाको पूर्वाधार तथा राजमार्ग निर्माणमा ध्यान पुगोस्

कोरला नाकाको पूर्वाधार तथा राजमार्ग निर्माणमा ध्यान पुगोस्

गण्डकीको लाइफ लाइन ठानिएको राजमार्ग समयमै बनोस् र कोरला नाका संचालनको लागि नेपालतर्फको भौतिक पूर्वाधार निर्माण गरियोस् ।


  • Dhorpatan News
  • साउन १४ २०८२, बुधबार

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतको आतिथ्यता ग्रहण गरी फर्केका छन् । नेपाल–चीनबीच दौत्य सम्बन्ध स्थापनाको ७० औं वर्षको अवसरमा आयोजित विशेष कार्यक्रममा भाग लिन गएका उनले चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत क्षेत्रका महासचिव वाङ छुङछेङसँग भेटवार्ता पनि गरेका छन् । भेटमा उनले गण्डकी प्रदेशकै मुस्ताङमा पर्ने कोरला नाका संचालनमा सघाउन चिनियाँ पक्षसँग आग्रह गरेका थिए । कोरला हुँदै मानसरोवरको यात्राको वातावरण मिलाउनुपर्ने पनि उनको आग्रह थियो । चिनियाँ पक्षले कोरला नाका संचालनमा कुनै कसर बाँकी राखेको छैन । तिब्बत क्षेत्रमा भन्सारका भव्य संरचना तयार भएका छन् । नेपाल–तिब्बत छुट्याउने २४ नम्बर सीमा स्तम्भको उतापट्टि बनेको त्यो भौतिक संरचना सिगात्से र त्यही भएर जाने अर्को राजमार्ग हुँदै बेइजिङसँग जोडिन्छ । सामान आयात–निर्यात तथा भिसा प्रक्रियाका लागि आवश्यक पर्ने सम्पूर्ण सुविधासहित साढे २ वर्षअघि त्यो औपचारिक रुपले संचालनमा आएको चिनियाँ पक्षको भनाइ छ । तर, नेपालतर्फ भने सीमाबाट १४ किलोमिटर वर पर्ने नेचुङमा रहेको भन्सार आफैंलाई गिज्याउने खालको छ । न भौतिक संरचना बनाइएको छ नत नाका सुचारु गर्न आवश्यक अन्य प्रबन्ध नै मिलाइएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध संघीय सरकार मातहत रहन्छ । चीनले चासो देखाउँदा र गण्डकी प्रदेशले चाहना राख्दैमा नाका सुचारु हुन सक्दैन । यसका लागि संघीय सरकारले नै पहलकदमी लिनुपर्छ । तिब्बतजस्तो सामरिक भूमिमा जानको लागि आवश्यक पर्ने सुरक्षा प्रबन्धबारे नेपाल जबसम्म सचेत र संवेदनशील बन्दैन, तबसम्म यो नाका सहज रुप्ले अन्तरदेशीय नाकाको रुपमा प्रयोगमा आउँदैन ।

मुख्यमन्त्रीको भ्रमणको क्रममा चीनले कुटनीतिक तरिकाले नाका संचालनमा चासो देखाउन र यसअघिका सम्झौता कार्यान्वनय गर्न दबाब बढाएको देखिएको छ । यो विषयलाई संघीय सरकारले गम्भीरतासाथ लिनुपर्छ । गण्डकीका मुख्यमन्त्रीले चिनियाँ चासोलाई संघसम्म पु¥याउनु पर्छ भने नाका संचालनका लागि महत्वपूर्ण मानिएको कालीगण्डकी करिडोर अर्थात् कोरला–त्रिवेणी राजमार्गका बाँकी काम सक्नेतर्फ पनि पहलकदमी लिनुपर्छ ।

अहिले पनि नवलपुरको बेलहिया नाका जोड्ने यो राजमार्गको दुम्कीबासदेखि बगुवनसम्मको १६ किलोमिटर क्षेत्रमा ट्रयाक खुलेको छैन । राजमार्गमा पर्ने सो क्षेत्रमा कसरी ट्रयाक खोल्ने हो ? पोखरा–खैरेनीटार–भिमाद–कावासोती हुँदै गण्डकी प्रदेशको प्रवेश नाका त्रिवेणीसम्म पुग्न ट्रयाक त खुलेको छ तर त्यो बाटो बाह्रै महिना चल्ने खालको छैन । मुस्ताङदेखि कोरलासम्मको ११० किलोमिटर सडकको अवस्था बरु राम्रो छ । बेनी–जोमसोम र बेनी–पोखरा सडक स्तरोन्नति भएको अवस्थामा बाँकी रहेको राजमार्गलाई कसरी समयमैमा निर्माण गर्ने भन्ने कुरामा ध्यान दिइएन भने नाका खुलेर पनि उपयोग गर्न सकिँदैन । चीन र भारतलाई जोड्न सकिँदैन भन्ने कुरा नेपालले बुझ्नुपर्छ । गण्डकी प्रदेश हुँदै कोरलादेखि त्रिवेणी नवलपरासी नाकासम्मको करिब ४३५ किलोमिटरको यो राजमार्ग कोरला नाकाको दीगो संचालनको लागि अत्यावश्यक रहेकोतर्फ सम्बन्धित निकायको ध्यान पुगोस् । गण्डकीको लाइफ लाइन ठानिएको राजमार्ग समयमै बनोस् र कोरला नाका संचालनको लागि नेपालतर्फको भौतिक पूर्वाधार निर्माण गरियोस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->