बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आरयू फेस्ट र फोहोर व्यवस्थापन

आरयू फेस्ट र फोहोर व्यवस्थापन

आरयू फेस्ट फोहोर व्यवस्थापनको दीर्घकालीन लक्ष्यको सुरुवाति बिन्दु हो । यो परियोजनाले सफलता प्राप्त गर्दा फोहोर व्यवस्थापनमा एउटा उदाहरणीय नमूना स्थापित हुने देखिन्छ ।


  • Dhorpatan News
  • साउन १९ २०८२, सोमबार

फोहोर व्यवस्थापन पोखराको मात्र नभएर देशका सवै सहरहरुको प्रमुख समस्या हो । अझ, कुहिनेभन्दा नकुहिने फोहोरको व्यवस्थापन झन चुनौतीपूर्ण बन्दै गएको छ । प्लाष्टिक र सिसाजन्य पदार्थहरुको बढ्दो उपयोग र त्यसले वातावरणमा पारिरहेको प्रभाव कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेबारे विभिन्न समयमा चर्चा हुँदै आएको छ । प्लाष्टिकको उपयोग कम गर्ने अवधारणा अगाडि बढाइएको पनि छ तर त्यसले परिणाम दिन सकेको छैन । पोखरा महानगरकै कुरा गर्ने हो भने यहाँ दैनिक झण्डै २ सय टन कुहिने र नकुहिने फोहोर निस्कने गरेको छ । जापानी सहयोगमा पोखरा १४ बाच्छेबुडुवामा निर्माण गरिएको ल्याण्डफिल साइट बन्द भएसँगै पोखरा ३२ लामेआहालमा फोहोर विसर्जन भइरहेको छ । महानगरले नयाँ ल्याण्डफिल साइट निर्माणको घोषणा पनि गरेको छ तर त्यसले सार्थकता पाउन सकिरहेको छैन । यही परिपेक्ष्यमा कोरियाली सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनएनडीपी) सँगको सहकार्यमा पोखरा महानगरले हालै फोहोरको आरयू अर्थात् रिसाइक्लिङ( प्रशोधन ) र अपसाइक्लिङ (उपयोग) सम्बन्धी प्रदर्शनात्मक कार्यक्रम आयोजना गरेको छ । फोहोरलाई प्रशोधन गर्ने तथा उपयोग गर्ने नयाँ तरिकाबारे जानकारी दिन आयोजित आरयू फेस्ट झण्डै १० हजार जनाले अवलोकन गरेको महानगरको दाबी छ ।

फोहोरलाई खजना (मोहोर) बनाउने मूल मन्त्र र पोखरालगायत सिङ्गो मुलुकको हरित विकासका लागि आयोजित मेलाले सिर्जनशीलता,नवप्रवर्तन र दिगोपनाको प्रवद्र्धन गर्ने पनि महानगरको भनाइ छ । वातावरणमैत्री र सुरक्षित भविष्य निर्माणका निम्ति फोहोरको पुनः प्रयोग र उपयोग अपरिहार्य छ । फोहोरलाई उपयोगी वस्तुमा रूपान्तरण गर्न सकिन्छ । प्रदर्शनीमा राखिएका उत्पादनहरुले त्यसलाई प्रमाणित गरेका छन् । महानगरले कोरियाली सहयोगमा सुरु गरेको हरित रोजगारी सिर्जना परियोजनाअन्तर्गत प्रदर्शनी तथा बिक्री कक्षको निर्माण पनि थालेको छ भने १३६ वटा सामुदायिक समूहहरू निर्माण गरी उनीहरूलाई आवश्यक तालिम तथा प्राविधिक प्रशिक्षण दिएको छ । फोहोरलाई कसरी स्रोतमै व्यवस्थापन गर्ने र नकुहिने तथा पुनः प्रयोग गर्न सकिने फोहोरबाट मोहोर बनाउने प्रक्रियामा महानगरले सहजीकरण गर्नुपर्छ । त्यसो गर्न सकेमात्र फोहोरलाई स्रोतमै व्यवस्थापन गर्न तथा व्यवस्थापनमा हुने गरेको ठूलो खर्च पनि घटाउन सकिन्छ । आरयू फेस्ट फोहोर व्यवस्थापनको दीर्घकालीन लक्ष्यको सुरुवाति बिन्दु हो । यो परियोजनाले सफलता प्राप्त गर्दा फोहोर व्यवस्थापनमा एउटा उदाहरणीय नमूना स्थापित हुने देखिन्छ । परियोजनाले रोजगारी सिर्जना गर्नेमा कुनै द्विविधा छैन तर दाताले सहयोग दिँदासम्म परियोजना संचालन गर्ने र दाताले हात झिकेपछि बन्द गर्ने प्रवृत्तिबाट महानगर मुक्त हुनुपर्छ । अहिले गठित समूहहरुलाई सधैँ क्रियाशिल र सक्रिय बनाउनेतर्फ अहिलेदेखि नै सोच्नुपर्छ भने उनीहरुले फोहोरबाट समुचित लाभ लिने परिस्थितिको सिर्जना गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->