पोखरा र गण्डकी पर्यटकीय क्षेत्र भएकोमा कुनै द्विविधा छैन । फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्णको सफल आरोहणबाट यहाँको पर्यटन सुरु भएको हो । सन् १९५० मा आरोहणका निम्ति आउँदा मौरिसले करिब सयौं भरिया अघिपछि लगाएका थिए । उनी सुरुमा अन्नपूर्ण भनेर धौलागिरि पुगेका थिए । पछि निलगिरि हिमालछेउ पुगेपछि उनले ८ हजार ९७ मिटर अग्लो अन्नपूर्ण प्रथम चिने र त्यसको सफल आरोहण गरे । त्यसपछिको वर्षमा चाहिँ पोखरा र समग्र गण्डकी क्षेत्र पदयात्रा पर्यटनको गन्तव्यको रुपमा परिचित भयो । एक महिनाभन्दा बढी लाग्ने चक्रीय अन्नपूर्ण पदयात्रा मार्गको फेरो लगाउनेहरु बढे । अन्नपूर्णको फेरो लगाउनेहरु एक्लै हुँदैनथे ।, उनीहरु सातु–सामल बोकेका मान्छेहरु लावालस्कर लगाएर हिँड्थे । पाल गाडेर बास बस्थे । त्यस्ता दिन छैनन् । अहिले पर्यटकहरु एउटा झोला बोकेर सहजै अन्नपूर्णको फेरो लगाउन सक्छन् । बाटैभर होटल र चियापसल छन् । बास बस्नको सकस छैन । टे«किङ एजेन्सिज एसोसियसन (टान)ले यसरी पदयात्रामा निस्कनेहरुलाई अनिवार्य पदप्रदर्शक चाहिने व्यवस्थाको माग गर्दै आएको छ । कागजमा यो बाध्यकारी पनि छ तर लुकीछिपी एक्लै निस्कनेहरुको कमी पनि छैन । एक्लै निस्कने पदयात्रीहरु हराउने र दुर्घटनामा पर्ने गरेका घटनाहरु पनि बढेका छन् । पछिल्लो िसमय चर्चामा आएको मर्दी हिमाल क्षेत्रमा यस्ता घटना बढी घटेका छन् । पदयात्रामा जाँदा अनुभवप्राप्त पदप्रदर्शक र सहयोगी चाहिन्छ । यो व्यवस्था कडाइका साथ लागू गराउनु पर्छ । यो व्यवस्थाले एकातिर रोजगारी सिर्जना हुन्छ भने अर्कोतर्फ नेपालको पर्यटन उद्योगको साख गिर्न दिँदैन ।
तर, पोखराको पर्यटन उद्योगका समस्या पनि उस्तै छन् । यहाँ स्तरीय पर्यटक पदप्रदर्शक नै छैनन् । पोखरा सहरबारे राम्रो जानकारी पस्कन सक्ने, पर्यटकीय गन्तव्यको धार्मिक, ऐतिहासिक र अन्य जानकारी दिएर पर्यटकलाई लठ्याउन सक्ने मान्छे नहुँदा पर्यटकको बसाइ घटेको छ । जति छन्, ती सवै पलायन भएका छन् । फेवातालको सिरानलाई फेवा र पुछारलाई बेगनास भनेर चिनाउने प्रवृत्ति पनि यदाकदा यहाँ देखिन्छ । यस्तो तालले पर्यटन उद्योग फस्टाउँदैन । दक्ष टुर गाइडको अभाव हुँदा विशिष्ठ पाहुना आउँदासमेत खोजखन्तर गर्नुपर्ने बाध्यता छ । यो बाध्यता हटाउन र दक्ष जनशक्ति उत्पादनको लागि पर्यटनसम्बद्ध संघ/संस्थाले पहलकदमी लिनुपर्छ । पोखरा भ्रमण वर्ष घोषणा गरिएको सन्दर्भमा त यो काम तत्काल सुरु गरिहाल्नुपर्छ । टान गण्डकीले हालै दक्ष पदप्रदर्शक उत्पादनका निम्ति तालिमको आयोजना गरेको छ । यस्ता तालिमहरु अझ बढी आयोजना गरिनुपर्छ । टुर गाइडहरु उत्पादन एवं उनीहरुलाई पेशामै टिकाउने प्रबन्धबारे सोच्नुपर्छ ।




