बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अमेरिका–भारत सम्बन्ध र नेपालको चासो

अमेरिका–भारत सम्बन्ध र नेपालको चासो

सानो अर्थतन्त्र भएको नेपालजस्तो मुलुकप्रति विदेशीको चासो त छ तर त्यो सामरिक अवस्थितिका कारणमात्र हो भन्ने हामीले मनन गर्नैपर्छ ।


  • Dhorpatan News
  • साउन २५ २०८२, आइतबार

संयुक्त राज्य अमेरिकाले भारतीय सामानमा ५० प्रतिशत कर लगाएसँगै यी दुई देशबीचको सम्बन्ध इतिहासकै कठीन मोडमा आइपुगेको छ । रुसी तेल किनेको आरोपमा अमेरिकाले भारतमाथि अतिरिक्त कर थोपरेको हो । हो, भारतले रुसबाट कच्चा तेल आयात गर्छ । अमेरिका र युरोपियन युनियनको नाकाबन्दी सामना गरिरहेको रुससँग भारतको पुरानो मित्रता छ । त्यही मित्रताको आधारमा व्यापक दबाबका बीच पनि भारतले रुसबाट कच्चा तेल आयात गर्दै आइरहेको थियो । यद्यपि, रुसबाट तेल आयात गर्ने भारत एक्लो देश हैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कयौं गुणा बढी तेल आयात गर्ने चीनप्रति नरम र भारतप्रति कडा रुवैयाँ अपनाएपछि अहिले आफूलाई अमेरिका निकट ठान्ने भारत बढी दबाबमा देखिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘कसैसँग नझुक्ने’ घोषणा गर्दै अमेरिकी रवैयाप्रति आपत्ति जनाएका छन् । उनी अझै वार्ताको माध्यमबाट यो समस्याको समाधान चाहन्छन् । उनी सम्भवतः अर्को शुक्रबार हुने बहुप्रतिक्षित अमेरिकी र रुसी राष्ट्रपतिको भेटवार्ता कुर्दैछन् । राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको आगमनसँगै भारतमात्र नभएर अन्य देशले पनि अमेरिकी करको सामना गरिरहेका छन् । अमेरिका फ्रस्ट अर्थात् अमेरिकालाई नै पहिलो प्राथमिकता दिने ट्रम्पका नीतिहरु बाँकी विश्वलाई बिझाउने खालका छन् । व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका ट्रम्प हरेक विषयलाई व्यापारसँग जोड्छन् र नाफामा विशेष ध्यान दिन्छन् । ट्रम्पको रुवैयाबाट सिंगो विश्वले दिक्क मानिरहेको छ । नेपालजस्तो सानो देश अमेरिकी नयाँ नीतिबाट उतिसारो प्रभावित नहोला तर अमेरिका–भारतबीच बिग्रेको सम्बन्धको बाछिटा चाहिँ यहाँसम्म पनि आइपुग्ने सम्भावना बढेर गएको छ । अमेरिका नेपालको विकास साझेदार र निर्यात गर्ने मुलुक हो । नेपालले अमेरिका पठाउने सामानमा भन्सार छुट पाउँदै आएको छ । अमेरिकासँग नेपालको सम्बन्ध सुमुधुर नै छ । तर, छिमेकीसँग सम्बन्ध बिग्रेमा चाहिँ त्यसका नकारात्मक परिदृष्यलाई नजरअन्दाज गर्ने अवस्था छैन । किनकि, नेपालको ठूलो व्यापार हिस्सा भारतसँग नै रहेको छ ।

भारतीय सामानले अमेरिकी बजार प्रवेशको लागि चर्को भन्सारको सामना गर्दाका समस्यासँग भारतले नै जुध्ने हो तर रुसी तेल आयात गर्ने भारत र इन्धनमा शत्प्रतिशत भारतमाथिको नेपाली निर्भरता निर्भरताका कारण नेपाल चनाखो बन्नुपर्ने अवस्था आएको हो । भारतले रुसी तेल किन्ला वा नकिन्ला भन्ने उसको आन्तरिक विषय हो । अमेरिकासँगको बिग्रेको सम्बन्धले त्यहाँको अर्थतन्त्रमा पार्ने प्रभाव र त्यससँग जोडिएको हाम्रो अर्थतन्त्रमाथि पर्नसक्ने सम्भावित दबाबबारे चाहिँ नेपालले बेलैमा ध्यान दिनुपर्छ । सम्भावित मन्दी वा मुद्रास्फितिबारे सचेत हुनुपर्छ । अर्कोतर्फ, बदलिएको विश्व राजनीतिक परिदृष्य र त्यसलाई सामना गर्ने आन्तरिक तयारी र दरिलो परराष्ट्र नीतिबारे पनि नेपालले बेलैमा ध्यान दिनुपर्छ । नेपाल असंलग्न राष्ट्र हो । शीतयुद्धको बेलासमेत कुनै पक्षधरता नदेखाएको नेपालले पछिल्ला केही मुद्दाहरुमा पक्षधरता देखाउन थालेको देखिएको छ । दुई विशाल अर्थतन्त्र र विश्वशक्तिको बीचमा भएको नेपालजस्तो देशले आफूलाई सकेसम्म असंलग्न र आफ्नो हितलाई केन्द्रमा राखेर निर्णय गर्नुपर्छ । नेपाल प्रधानमन्त्री केपी ओलीले भनेझैं कुनै दुई देशबीच सम्बन्ध सुधार गराउने हैसियतमा छैन । सानो अर्थतन्त्र भएको नेपालजस्तो मुलुकप्रति विदेशीको चासो त छ तर त्यो सामरिक अवस्थितिका कारणमात्र हो भन्ने हामीले मनन गर्नैपर्छ । कमजोर अर्थतन्त्रलाई ध्रुवीकृत विश्व परिवेशबाट बचाउँदै व्यापार युद्धका बाछिटाबाट जोगाउनेतर्फ ध्यान केन्द्रित गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->