ढोरपाटन दैनिक आजबाट २२ वर्ष पूरा गरेर २३ औं वर्षमा प्रवेश गर्दैछ । आधुनिक नेपालको सबैभन्दा कहालिलाग्दो संक्रमणकालीन सम्वत् ६० को दशकमा बागलुङबाट ढोरपाटनको यात्रा सुरु भएको हो । यात्रा रहर थिएन, आमसंचारका माध्यमका निर्दिष्ट भूमिका र दायित्ववोधसहितको कठीन यात्रा थियो । व्यावसायिक यात्राको क्रममा हामीले गहिरो जिम्मेवारीबोध, सही सूचना, सत्य खबर, सरल भाषिक प्रस्तुति तथा दूरदृष्टिलाई मूलमन्त्र मान्यौँ । हाम्रो कर्मलाई विज्ञ पाठक, ग्राहक, विज्ञापनदाता, शुभेच्छुक र सल्लाहकारबाट आड–भरोसा प्राप्त भयो । दिन÷रात मिहिनेत गर्ने ढोरपाटन दैनिकका सहकर्मीहरुको पसिनाले बाटो सिंचित बन्यो र हामी यहाँसम्म आइपुग्यौँ ।
मोफसल (बागलुङ) हुँदै गण्डकी प्रदेश (पोखरा)बाट एकसाथ प्रकाशित यस दैनिकको यात्रा र दायित्वोधसँगै सम्पादित कृत्यहरु दस्ताबेजका रुपमा पाठकको मन–मष्तिस्कमा सुरक्षित छन् भन्ने हाम्रो ठम्याइ छ । प्रविधिको द्रूततर विकाससँगै सिर्जित नूतन प्लाटफर्म र पाठकहरुका बदलिँदा चाहनाका कारण ‘छापा सञ्चार माध्यम’ माथि परेको असरको पहिलो द्रष्टा हामी स्वयं हौँ । सँगसँगै छापा सञ्चार माध्यमको विश्वसनीयता र जिम्मेवारीको झन् गहिरो बनेको पनि हाम्रो ठम्याइ छ । प्रविधिको दुरुयोग गर्दै सार्वजनिक खपतका निम्ति प्रकाशित÷प्रशारित मिथ्या सूचनाबाट समाज दिग्भ्रमित बन्ने र समाज गलत दिशातर्फ उन्मुख हुने खतरा बढ्दो छ । आमनागरिकलाई कुसमाचारको चपेटाबाट मुक्त गर्नु हाम्रा लागि पछिल्लो समय चुनौती र दायित्व बनेर आएको छ ।
गतवर्ष हामीले ढोरपाटनलाई मल्टीमिडियामा लैजाने घोषणा गरेका थियौँ । सो कार्यको थालनी भएको छ अपितु पूर्ण छैन । हाम्रो यो अभियान छिट्टै पूरा हुने विश्वास दिलाउन चाहन्छौँ । सही, तथ्य र सत्यको अन्वेषणका निम्ति आउँदा दिनमा हामी कृत्रिम बौद्धिकता (एआई)कोसमेत रचनात्मक सहयोग लिने छौँ । सिर्जनशीलप्रतिको उदासिनता नभएर अझ सरल र रोचक तथ्यहरु पस्कने अभिलाषाबाट निर्देशित भएर यो निर्णय गरिएको हो । हामी पढ्ने, सुन्ने र हेर्ने सबै प्रविधिमार्फत् यहाँहरुलाई सत्यको निकट पु¥याउने छौँ । सुविचारको निर्माण र प्रसारमा पनि हामी निरन्तर लाग्ने नै छौँ ।
यही प्रणसहित २२ वर्षदेखि निरन्तर साथ दिनुहुने पाठक, विज्ञापनदाता, सल्लाह दिनुहुने विज्ञ, स्तम्भकार, संघ÷संस्था, लेखक, सहकर्मी साथीहरुप्रति हार्दिक आभारसहित ढोरपाटन दैनिकको २३ औं वर्षगाँठको अवसरमा शुभकामना व्यक्त गर्दछौं ।




