बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भड्किला नहुन हाम्रा चाडपर्व

भड्किला नहुन हाम्रा चाडपर्व

स्वतन्त्रता र आधुनिकताको नाममा संस्कृतिलाई भुल्दै जाने हो भने हाम्रा संस्कृति एकादेशको कथामा परिणत हुने निश्चित छ । मौलिक परम्परा बोकेका हाम्रा चाडपर्वहरुलाई जगेर्ना गर्नु हामी सबैको दायित्व हो ।


  • Dhorpatan News
  • भाद्र ३ २०८२, मंगलबार

भदौ महिनाको आगमनसंगै नेपालमा चाडपर्वको मौसम शुरु भएको छ । भदौ महिनामा मनाईने नारीहरुको महान् चार्ड हरितालिका तिजसंगै ठूला पर्वहरुको रौनकता छाउने गर्छ । आपसी सद्भाव बोकेर आउने चाडपर्वले नेपाली समाजलाई एकताको सूत्रमा पनि बाँध्ने गरेको छ । चाडपर्वहरुले छुटिएका मनहरुलाई जोड्ने मात्रै होइन हाम्रा साँस्कृतिक मुल्य मान्यतालाई पनि स्थापित गर्ने काम गर्छन् । नेपाली समाजलाई विश्वमाझ परिचित गराउने हाम्रा मौलिक परम्परामा आधारित चाडपर्वहरुमा पछिल्लो समय बाह््य संस्कृति भने हाबी हुँदै गएको अवस्था छ । चाडपर्वहरु भड्किलो र फेसन बनिरहेको छ । समुदायमा आधारित साँस्कृतिक मूल्य र मान्यतामा समेत धेरै विकृति फैलिएको छ । मौलिक चाडपर्वको गौरव गाथा बोकेको नेपाली समाजमा पश्चिमा सभ्यता हाबी बन्न पुगेको छ । संरक्षण अभावमा कतिपय चाडपर्वहरू त लोप हुने अवस्थामा पुगेका छन् ।

त्यतिमात्रै होइन पछिल्लो समय हाम्रो सामाजिक कार्यहरु परम्परागत शैलीबाट विमुख भएको छ । हाम्रा पुर्खाले चार्डपर्व मनाउने शैलीमा परिवर्तन आएर भड्किलो बनेका छन् । हाम्रा स्थापित मूल्यमान्यता, प्रथा, भाषा, रितिरिवाज, कला तथा धार्मिक क्रियाकलापमा परिवर्तन आएको छ । आधुनिकताले नेपाली समाजलाई विकृतितर्फ उन्मुख गराईरहेको छ । आधुनिकताले हाम्रा परम्परागत चाडपर्व मनाउने तरिकामा विकृति प्रवेश गरेको सजिलै अनुमान गर्न सकिन्छ । हाम्रा सिर्जनाहरु मौलिकतामा आर्थिक र सस्तो लोकप्रियता प्रवेश गरेको छ । चार्डपर्वको नाममा विकृति भित्राउने प्रतिस्पर्धा नै चल्न थालेको छ । तिज आउनु अगावै पार्टी प्यालेसहरुमा दर खान कार्यक्रम शुरु भईसकेको छ । महंगो लुगा लगाउने र सुन गहना प्रदर्शन गर्ने थलोमा परिणत भएका दर खाने कार्यक्रमहरु । तिज मनाउने भड्किलो शैलीले हाम्रो समाजमा विकृतिलाई बढवा दिने काम गरेको छ ।

दुर्गममा चार्डपर्वको केही मौलिकता जीवित रहेपनि सुविधासम्पन्न सभ्य भनिने शहरमा भड्किलो र खर्चिलो बन्दै गएका छन् । नेपाली समाजलाई एकतामा जोड्ने चाडपर्वहरु अहिले हुनेखाने र हुँदा खानेबीच विभाजनको खाडल सिर्जना गर्ने माध्यम बनेका छन् । हामीले हाम्रा मौलिक कुरा छोड्दै गएका छौ । हाम्रा धर्म संस्कृतिमा भित्रिदै गरेको आधुनिकताले आर्थिक परनिर्भरता समेत बढाएको छ । देखासिकीको नाममा हाम्रा मुल्य मान्यतालाई छोड्दै जाने होइन तिनीहरुलाई झनै राम्रो परिस्कृत बनाउनुर्छ । मौलिक स्वरुपमा आँच नआउने गरी हरेक कुरामा समयअनुसार परिवर्तन र परिस्कार आवश्यक पनि छ । स्वतन्त्रता र आधुनिकताको नाममा संस्कृतिलाई भुल्दै जाने हो भने हाम्रा संस्कृति एकादेशको कथामा परिणत हुने निश्चित छ । मौलिक परम्परा बोकेका हाम्रा चाडपर्वहरुलाई जगेर्ना गर्नु हामी सबैको दायित्व हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->