बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भारत– चीनबीच बढ्दो हिमचिम र सम्भावित अवसर

भारत– चीनबीच बढ्दो हिमचिम र सम्भावित अवसर

महत्वपूर्ण त के भने, भारत र चीनबीच सम्बन्ध सुधार हुँदाको लाभ लिनको लागि नेपालले अहिलेदेखि नै तत्परता देखाउनुपर्ने भएको छ । भारत र चीनबीचको सीमा विवाद कायमै रहँदा नेपाल हुँदै व्यापार संचालनदेखि अन्य सम्भावनाका ढोकाहरु खुल्नेछन् ।


  • Dhorpatan News
  • भाद्र ४ २०८२, बुधबार

डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको रुपमा दोस्रो कार्यकाल सुरु गरेसँगै विश्वको शक्ति सन्तुलन र कुटनीतिक सम्बन्धमा व्यापक हेरफेर भएको छ । अमेरिका फस्र्ट अर्थात् अमेरिकी चासो र स्वार्थलाई केन्द्रमा राख्दै उनले एकपछि अर्को निर्णय गरिरहेका छन् । कतिपय राष्ट्रहरुका उत्पादनमाथि ठूलो भन्सार शुल्क थोपरिदिएका छन् । हिजो मित्र भनिएका राष्ट्रहरु पनि राष्ट्रपति ट्रम्पको यो नीतिबाट प्रभावित बनेका छन् । विश्वमा हाल भइरहेका घटनाक्रमलाई हेर्ने अमेरिकी आँखा बदलिएको छ । हिजो अमेरिकी रणनीतिक साझेदार मानिएको भारत अहिले ट्रम्प प्रशासनबाट लगाइएको ५० प्रतिशत भन्सार शुल्क ब्यहोरिरहेको छ । शुल्क घटाउनका निम्ति कुटनीतिक प्रयासहरु जारी छन् तर कृषि तथा डेरीसँग सम्बन्धित अमेरिकी कम्पनीहरुलाई भारत प्रवेश दिनुपर्ने मागलाई प्रधानमन्त्री नरेन्द्र मोदीले इन्कार गरिसकेका छन् । सम्भावित सवैखाले चुनौतीको सामना गर्न तयार रहेको तर किसानको हितविपरीत काम नगर्ने उनको उद्घोष छ । भारतले रुससँग पेट्रोलियम पदार्थ किनेको र रुसले त्यो पैसा युक्रेन युद्धमा प्रयोग गरेको भन्दै अमेरिका भारतमाथि कठोर बनेको हो । हो, भारतले रुसबाट तेल किन्छ तर त्योभन्दा बढी किन्ने मुलुक चाहिँ चीन हो । चीनसँग चाहिँ ट्रम्प नरम देखिएका छन् । अमेरिकी अनपेक्षित व्यवहारको भारतले पनि संयमपूर्ण तरिकाले जवाफ दिन सुरु गरेको छ । उसले बेलायतसँग व्यापार सम्झौता गरेको छ । रुससँगको पुरानो सम्बन्धलाई काममै राखेको छ र अर्को महाशक्ति राष्ट्र चीनसँग सम्बन्धका हात फैलाएको छ । चीनका विदेशमन्त्री वाङ यी अहिले भारतमा छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा भारत आएका उनले चीन र भारत प्रतिद्वन्द्वी नभएर साझेदार हुनुपर्ने बताएका छन् । चीन र भारतबीच केही महत्वपूर्ण लेनदेनका सम्झौता भएको पनि अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । चालु अंग्रेजी महिनाको अन्त्यतिर चीनमा हुने सांघाइ कोअपरेसन अर्गनाइजेसनको बैठकमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन जाँदैछन् । त्यो भ्रमणले नेपालका दुई ठूला छिमेकीबीच लामो समयदेखि कायम मनोमालिन्य दूर हुने र सहकार्यको यात्रा सुरु हुने अनुमान गर्न मिल्ने देखिएको छ ।

निश्चय पनि अमेरिका शक्ति राष्ट्र हो र उसले गर्ने निर्णयले विश्व प्रभावित हुन्छ । अहिले अमेरिकी ध्यान रुस–युक्रेन युद्धमा भएजस्तो देखिएको छ । युद्ध अन्त्यको लागि प्रयास पनि गरिएको छ । युद्ध भयावह हुन्छ । रुस– युक्रेन र गाजामा भएको इजरायली हमला रोक्नेतर्फ अमेरिकी क्रियाशिलता जरुरी छ ।

अमेरिका नेपालको लागि दोस्रो ठूलो निर्यात बजार हो । नेपालको हकमा चाहिँ अमेरिकाले लगाएको १० प्रतिशत भन्सार शुल्कका कारण लाभ लिने अवसर छ । महत्वपूर्ण त के भने, भारत र चीनबीच सम्बन्ध सुधार हुँदाको लाभ लिनको लागि नेपालले अहिलेदेखि नै तत्परता देखाउनुपर्ने भएको छ । भारत र चीनबीचको सीमा विवाद कायमै रहँदा नेपाल हुँदै व्यापार संचालनदेखि अन्य सम्भावनाका ढोकाहरु खुल्नेछन् । त्यसको उपयोग गरिनुपर्छ । अर्कोतर्फ, दुई ठूला हात्ती झगडा गरे पनि मिले पनि नासिने त घाँस न हो भन्ने उक्ति तथा हिजो भारत र चीनबीच लिम्पियाधुरा नाका संचालनबारेको सहमति सम्झँदै आफ्नो हात माथि पार्ने विषयलाई नजरअन्दाज चाहिँ गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->