नेपालको दिगो विकास र आर्थिक समृद्धिको आधार ऊर्जा क्षेत्रको सबलीकरणमा टेकेको छ । विशेषगरी विद्युत, जुन दैनिक जीवनदेखि लिएर औद्योगिक उत्पादनसम्मको मेरुदण्ड हो, त्यसको सुरक्षित, गुणस्तरीय र चुहावट रहित वितरण आजको अत्यावश्यक आवश्यकता बनेको छ । नेपाल उर्जा र जलश्रोतको क्षेत्रमा जति सम्पन्न छ त्यति यसको उपयोगमा पछि छ । उपभोक्ताहरु र सरोकारवालाहरु मात्र चिन्तित भएर हुँदैन यसको समुचित उपयोगका लागि सम्बन्धित संस्थाहरु योजनाका साथ अघि बढ्नु पर्छ । नेपालको सन्दर्भमा सरकारी संस्थाको रुपमा रहेको नेपाल विद्युत प्राधिकरण आफ्ना साझेदार संस्थाहरुलाई साथमा लिएर नेपालको उर्जा क्षेत्रको विकासमा एकिकृत रुपमा लाग्नु पर्छ र सबैखाले उपभोक्तालाई गुनासो रहित सेवा पु¥याउनु पर्दछ ।
१. सुरक्षित र गुणस्तरीय विद्युत, उपभोक्ता अधिकारको आधार
सुरक्षित विद्युत आपूर्ति भन्नाले भोल्टेज स्थिर, तारहरु मजबुत, मिटरिङ शुद्ध, र प्राविधिक मापदण्ड पालना गरिएको सेवालीई बुझिन्छ । यसले प्रत्यक्ष उपभोक्ताहरूमा प्रभाव पर्दछ जस्तै विद्युत आगलागी र दुर्घटनाबाट जोगाउँछ, मेसिन, उपकरण र घरेलु सामानको आयु बढाउँछ, उपभोक्ताको भरपर्दो प्रयोग सुनिश्चित गर्छ । गुणस्तरीय विद्युत वितरणले केवल सुविधा मात्र होइन, विद्युतको भरपर्दो पनमा जनविश्वास पनि बढाउँछ ।
२. चुहावट सेवा, दक्ष व्यवस्थापनको पहिचान
नेपालमा विद्युत चुहावटको मुख्य कारण प्राविधिक क्षति (लाइनको दूरी, पुरानो तार, ट्रान्सफर्मरको क्षमता) र गैर–प्राविधिक क्षति (अनाधिकृत प्रयोग, मिटरवाहिरबाट चोरी ) हुन् । यस्तो चुहावट कम गर्न पनि सबै सचेतना, इमानदारी र विज्ञ व्यवस्थापन चुस्तता हुनु पर्दछ । जस्तै पुराना लाइन र पोलको समयमै मर्मत वा प्रतिस्थापन गर्ने, स्मार्ट मिटर र डिजिटल मापन प्रणालीको प्रयोग बढाउने, अनाधिकृत प्रयोगमाथि कडाइ र सजग जनचेतना जगाउने । चुहावट घटेपछि उत्पादित विद्युतको वास्तविक आपूर्ति बढ्छ । जसले आर्थिक घाटा घटाउँछ र सेवाग्राहीलाई स्थिर आपूर्ति दिन सजिलो हुन्छ ।
३. किफायती प्रयोग, उर्जा दक्षताबाट बचत
विद्युतको किफायती प्रयोग भन्नाले केवल कम प्रयोग होइन, स्मार्ट प्रयोग संगै गुणस्तरीय सामानको प्रयोग हो । उदाहरणका लागि आवश्यकता अनुसार मात्र बत्ती बाल्ने, एलइडी, इन्भर्टर फ्रिज, ऊर्जा दक्ष मोटर प्रयोग गर्ने, उच्च खपत हुने उपकरणलाई पिक–आवरबाहेक नचलाउने । यसले व्यक्तिगत रुपमा बिल घटाउँछ भने राष्ट्रिय स्तरमा उर्जा स्रोतको दिगो सुनिश्चित हुन्छ ।
४. खपतमा वृद्धि, उत्पादन क्षमताको सदुपयोग
नेपाल जलविद्युत उत्पादनमा तीव्र गति अघि बढिरहेको छ । तर, उत्पादनको अनुपातमा आन्तरिक खपत अझै न्यून छ । जति विद्युत उत्पादन बढ्छ सो आधारमा प्रणाली विकास गर्दै खपतका योजनाहरु पनि संगै बढाउनु पर्छ । विद्युत खपतबाट आय आर्जनमा रुपान्तरित हुनुपर्छ । औद्योगिकीकरण र रोजगारीका योजना बनाउनु पर्छ । ग्रामीण क्षेत्रमा विद्युतीय उपकरणको पहुँच बढाउनु, खाना पकाउनुमा विद्युत चुलोको प्रयोग विस्तार गर्नु, यातायात क्षेत्रमा इलेक्ट्रिक सवारी प्रोत्साहन गर्नु, स्थानिय कच्चा पदार्थको प्रयोगबाट स–साना उद्योग स्थापना गर्नुका साथै आवश्यकता बमोजिम औद्योगिकीकरण समृद्धि संगै रोजगारी बढाउन सक्नु पर्छ । यसले उत्पादन क्षमता सदुपयोग मात्र होइन, पेट्रोलियममा निर्भरता घटाएर व्यापार घाटा पनि कम गर्छ ।
५. समृद्धिको आधार ,ऊर्जा आत्मनिर्भरता
सुरक्षित, गुणस्तरीय र चुहावट विद्युत सेवा, किफायती प्रयोग र खपतको वृद्धि एउटै चक्रका हिस्सा हुन् । जब आपूर्ति स्थिर हुन्छ, हानी न्यून हुन्छ, खपत बुद्धिमत्तापूर्ण बढ्छ, त्यसले उद्योग, पर्यटन, कृषि, शिक्षा र स्वास्थ्यजस्ता सबै क्षेत्रमा सकारात्मक असर पार्छ । विद्युत आत्मनिर्भरता मात्र होइन, निर्यात–मुखी उर्जा अर्थतन्त्र निर्माण हुँदै देश आर्थिक समृद्धितर्फ अघि बढ्छ ।
६ ग्रामीण क्षेत्रमा सामुदायिक विद्युतीकरण र सेवा
नेपालको ग्रामीण भूभागमा विद्युत् पहुँच पुग्नु केवल उज्यालोको मात्र कुरा होइन, यो आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको आधारशिला हो । ग्रामीण क्षेत्रमा लामो समयसम्म राष्ट्रिय ग्रिडको सेवा पुग्न नसकेको अवस्थाले समुदाय आफैं सक्रिय भई विद्युतीकरणको जिम्मा लिन थाले । यही आवश्यकता र चाहनाबाट सामुदायिक विद्युतीकरणको अवधारणा जन्मियो ।
ग्रामीण क्षेत्रमा सामुदायिक विद्युतीकरणले विद्युत् मात्र होइन, विकासको बाटो समेत उज्यालो बनाएको छ । यसको निरन्तरता र गुणस्तरीय सेवा सुनिश्चित गर्न समुदाय, सरकार र साझेदार संस्थाबीच मजबुत सहकार्य आवश्यक छ । ऊर्जा पहुँचले गाउँलाई उज्यालो मात्रै होइन, भविष्यको सम्भावना पनि दिएको छ ।
निष्कर्ष
विद्युत केवल उज्यालोको स्रोत होइन, राष्ट्रको आर्थिक इन्जिन पनि हो । सुरक्षित र गुणस्तरीय सेवा, चुहावट नियन्त्रण, किफायती प्रयोग र खपतको सन्तुलित वृद्धि यी नै आधुनिक नेपालका समृद्धिका आधारस्तम्भ हुन् । जसले नेपालमा औद्योगिकीकरण, रोजगारी सिर्जना, वैदेशिक रोजगारीमा न्यूनता, बढ्दो बसाईसराईमा न्यूनता आउँछ ।
(ज्ञवाली सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालका अध्यक्ष हुन् ।)





