सामाजिक सञ्जाल बन्दको विरुद्धमा जेनजी (नयाँ पुस्ता) ले गरेको आन्दोलनको क्रममा उन्मादी सत्ता विवेकहीन र क्रुर बनेपछि होनाहार युवाहरुको अनाहकमा ज्यान गएको छ। सयौं घाइते छन् । मृत्यु हुनेको संख्या बढ्दै छ । सरकारले आवश्यकताभन्दा बढी बल प्रयोग गरेकैले यति ठूलो संख्यामा युवाहरुको ज्यान गएको हो । युवाहरु वर्तमान सरकारप्रति असन्तुष्ट थिए । असन्तुष्टि सामाजिक सञ्जालमा पोखिएकै थियो । सत्ताको हालिमुहाली गरेका वर्तमान नेताहरु सच्चिएलान् कि भन्ने आशामा उनीहरुबाट सचेततापूर्वक खबरदारी पनि भएकै थियो । तर, वर्तमान सरकार युवाहरुको त्यो खबरदारीको विरुद्धमा रह्यो । सरकारमाथि छुस्स कसैले केही भन्नासाथ त्यही व्यक्तिमाथि खनिने र कारवाहीको डण्डा चलाउने काम गरियो । प्रधानमन्त्री केपी ओलीले त्यसको नेतृत्व गरे र उनलाई साथ दिने नेपाली कांग्रेससहितका दलहरुले हाँमा हाँ मिलाए । त्यहाँसम्म पनि युवाहरुले सहेकै थिए ।
तर, नियमनका सवै प्रक्रियाहरुलाई बिर्सेर सरकारले एकाएक सामाजिक सञ्जाल नै बन्द गरिदियो । दर्ता हुन नआएको भन्दै गत बिहीबार सरकारबाट गरिएको निर्णयले आक्रोश बढायो । युवाहरु स्वतः स्फूर्त रुपमा सडकमा निस्के । युवाहरु पूर्वजानकारी दिएरै सडकमा आएका थिए । युवाहरुलाई अस्थिरता चाहनेहरुले भड्काउने खतरा थियो नै ! ढोरपाटन दैनिकले सम्पादकीयमार्फत् युवाहरुलाई संयम हुन आग्रह गरेको थियो । सम्भावित परिस्थितिको आँकलन गर्न संचार माध्यमले सरकारको ध्यानाकर्षण गराएकै थिए । ती सवै कुरा सुनिएन । सरकार जिम्मेवार हुन्थ्यो भने, सडकमा निस्कन आँटेका युवालाई घरमै बस्ने वातावरण निर्माण गर्न कठीन थिएन ।
सामाजिक सञ्जाल खुल्ला गरिदिएको भएमात्र पुग्थ्यो । तर,होस गुमाएको उन्मादी सरकारले त्यता सोच्दा पनि सोचेन । सम्भावित घुसपैठप्रति आँखा चिम्लियो । बरु, युवाहरु स्वतः स्फूर्त रुपले सडक निस्कनासाथ दमन गर्ने रणनीति अख्तियार ग¥यो । बन्दुकको गोलीले नै युवा आवाज बन्द गराउने धृष्टता गर्दै भकाभक गोली चलायो । युवाहरुको रगतको होली खेल्दै यो सरकारले आफ्नो औचित्य समाप्ति भएको पुष्टि ग¥यो । सत्यलाई छोप्न सकिँदैन । सरकारले प्रदर्शनमा भएको घुसपैठका कारण बल प्रयोग गर्नु परेको जिकिर गरिरहेको छ । तर, दमनकारी सरकारको भनाइ मान्न कोही तयार छैनन् ।
सरकार नृशंस रुपले प्रस्तुत भएकैले परिस्थिति बिग्रिएको हो । जिम्मेवारी सरकारले लिनैपर्छ । अब सामाजिक सञ्जाल खुल्ला गरेरमात्र पनि पुग्दैन । नैतिकता देखाउनै पर्छ । गृहमन्त्रीको राजीनामा वा घटनाको छानबिन समिति निर्माणले मात्र सरकारको हिंश्रक अनुहार र चरित्र छोपिँदैन । वर्तमान सत्ताका नेतृत्वकर्ताले हत्याको प्रायश्चित गर्नुपर्छ । घटनाको निश्पक्ष छानबिन र सत्ताबाट बहिर्गमित हुँदै नयाँ पुस्ताका निम्ति ठाउँ छाड्दा नै लोकको कल्याण हुन्छ ।
अहिले राजनीतिमा होमिएका युवाहरु परिक्षणमा होमिन तयार र सक्षम छन् । यसो भनिरहँदा आन्दोलनमा होमिएका जेनजी पुस्ताले पनि संयमता प्रदर्शन गर्नैपर्छ । अराजकता मच्चाउँदैमा लक्ष्य प्राप्ति हुँदैन र त्यसले देशलाई अझ डरलाग्दो भड्खालोमा जाक्छ भन्ने मनन गर्नैपर्छ । सुरक्षाकर्मीलाई उत्तेजित बनाउने, सार्वजनिक सम्पत्तिमाथि आक्रमण गर्ने प्रवृत्तिबाट टाढा रहेर शान्तिपूर्ण आन्दोलन गर्दा नै उपलब्धि हात लाग्छ भन्ने मनन गर्नुपर्छ ।




