उन्मादी शासकको परिचय बनाएका केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिइसकेका छन् । ओलीले जेनजी (नयाँ पुस्ता) को आन्दोलनसामु घुँडा टेकेसँगै देश नयाँ दिशामा अगाडि बढेको छ । त्यति ठूलो नरसंहार हुँदा अलिकतिमात्र नैतिकता प्रदर्शन गरेको भए, युवाहरुको चाहना संवोधन गर्न अग्रसर भएको भए सायद ओलीको यस्तो अवसान हुँदैनथ्यो । तर, उनले जिम्मेवारीवोध गरेनन्, गल्तीको प्रायश्चित गर्नु त परको कुरा, अह्मपूर्ण अभिव्यक्ति दिइरहे । सत्ताबाट हट्नासाथ यो अक्षम्य अपराधबाट उनले मुक्ति पाउने छैनन् । आउँदा दिनमा उनले आफूले गरेका गल्तीको मूल्य चुकाउनुपर्ने छ । जे होस्, उनी हटेका छन् । जेनजी पुस्ताको आन्दोलनले सफलता प्राप्त गरिसकेको छ । कुशासनका मसिहाहरु सत्ताबाट बाहिरिएका छन् । यो सानो उपलब्धि हैन । अब चाहिँ यो उपलब्धिलाई रक्षा गर्दै कसरी अगाडि बढ्ने भन्नेबारे छिटो निर्णय लिनुपर्ने बेला आएको छ ।
जेनजीको आक्रोश थामिएको छैन । विरोध प्रदर्शनको क्रममा सार्वजनिक सम्पत्ति र महत्वपूर्ण अभिलेखहरु जलाइएको छ । सुरक्षाकर्मी मौन बनेपछि आन्दोलन दिशाहीनजस्तै देखियो । देशका केही अगुवाहरुले आन्दोलकारीलाई शान्त हुन आग्रह गरे पनि मंगलबार साँझसम्म स्थिति तनावपूर्ण नै रह्यो ।
तर, विप्लवपछि कसरी जनजीवन सामान्य तुल्याउने, आन्दोलनबाट प्राप्त उपलब्धिलाई कसरी संस्थागत गर्ने र शासन सत्ताको बागडोर कसले सम्हाल्ने भन्ने प्रष्ट खाका आइसकेको छैन । जेनजी पुस्ताले गरेको आन्दोलन र उनीहरुको चाहनालाई संवोधन गर्नु नै अहिलेको पहिलो आवश्यकता हो । यसका लागि नागरिक समाजका अगुवाहरुले पहलकदमी लिनुपर्छ । एउटा खराब व्यक्तिको विकल्पमा अर्को खराबलाई ल्याउनका निम्ति युवाहरुले यति ठूलो कुर्वानी गरेका हैनन् । जेनजी पुस्ता भ्रष्टाचार र कुशासनको खिलापमा छ । कुशासनको अन्त्य र भ्रष्टाचारमाथि शून्य सहनशीलता आम नागरिकको पनि चाहना हो । अबको सरकार कस्तो हुने,कसको नेतृत्वमा हुने र राज्यले कस्ता नीतिहरु अंगिकार गर्ने भन्नेबारे प्रष्ट खाका जति छिटो निर्माण हुन्छ,त्यति नै छिटो शान्ति बहाली हुन्छ । शान्ति बहालीका निम्ति कायम रहेका संस्थाहरुले पहलकदमी लिनुपर्छ । निजामती प्रशासन र सुरक्षा निकायहरुले सक्रियता देखाउनु पर्छ । आन्दोलनको नाममा भएको अराजकता, तोडफोड र आगजनीजस्ता घटना नियन्त्रण गरिनुपर्छ । जेनजीको आन्दोलनमा घुसपैठ भएको तथा केही व्यक्ति तथा शक्तिहरुले त्यसको उपयोग गर्न खोजेको आभाष पनि भएकै छ । त्यस्ता कुत्सित मनसाय भएका व्यक्ति र शक्तिलाई पाखा लगाउँदै सुशासन कायम गराउन सक्षम तथा युवाहरुले भरोशा गर्ने व्यक्तिको नेतृत्वमा नयाँ सरकार गठन गरिनुपर्छ । नागरिक समाजका अगुवासहितको त्यो अन्तरिम सरकारले सक्दो छिटो आम निर्वाचनको घोषणा गर्दै ताजा जनअभिमत प्राप्त दललाई सत्ता हस्तान्तरणको हुनैपर्छ । लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र नै हो र लोकतन्त्र भनेको जननिर्वाचित जनप्रतिधिले राज्य संचालन गर्ने पद्धति हो । यो कुरालाई केन्द्रमा राख्दै अवको मार्गचित्र कोरिनुपर्छ ।




