जेनजी आन्दोलनको क्रममा भएको जनधनको क्षतिको प्रारम्भिक तस्वीर नै आङ सिरिङ्ग बनाउने खालको छ । मृत्यु हुनेको संख्या बढ्दै छ भनेअरबौंको भौतिक सम्पत्ति जलेर नष्ट भएको छ । भवन र अन्य सामानहरु त कालान्तरमा दुरुस्त बनाउन सकिएला तर महत्वपूर्ण दस्ताबेजहरुको पूर्ति कहिल्यै नहुने भएको छ । प्रधानमन्त्री सुशीला कार्की स्वयंले त्यस्ता महत्वपूर्ण दस्ताबेज जलेकोमा दुःख व्यक्त गरेकी छन् र त्यसमा संलग्नलाई कानूनी दायरामा ल्याउने प्रतिवद्धता जनाएकी छन् । कानूनी शासनको प्रत्याभूतिको लागि अपराध गर्नेलाई कठघरामा उभ्याउनै पर्छ । अपराधीहरु दण्डित हुनैपर्छ ।
तर,भौतिक संरचना र महत्वपूर्ण दस्ताबेज नष्ट हुँदा दैनिक सेवा प्रवाहमा पनि समस्या देखिएको छ । दस्ताबेजको पूर्ति कसरी गर्ने भन्ने विषयलाई एकछिन छाड्दा पनि भवन र फर्निचरजस्ता सामग्रीको जोहो तत्कालको आवश्यकता बनेको छ । शान्ति–सुरक्षा बहालीको लागि नजिकै प्रहरी बिट अत्यावश्यक सर्त हो । तर, पोखराको कुरा गर्ने हो भने जिल्ला प्रहरी कार्यालयदेखि सवैजसो प्रहरी चौकी र बिटहरु जलेका छन् । प्रहरीका बर्दीसम्म पनि बँचेको छैन । कहाँ सुत्ने र खाने भन्ने समस्या छ । उनीहरुको न्यूनतम् आवश्यकताको बन्दोबस्ती अहिलेको पहिलो आवश्यकता हो । कास्कीका प्रहरी कार्यालय सूचारु गर्नका निम्ति नागरिक स्तर र संघ÷संस्थाबाट सहयोग प्रदान भएको छ । यो नागरिकस्तरबाट भएको स्वागतयोग्य कार्य हो ।
चाडबाड नजिकिँदै गर्दा अन्य बेलाभन्दा यत्तिकै पनि सुरक्षा चुनौती थपिन्छ । अहिले त जेलबाट भागेका अपराधीहरुले झन त्रास बढाएका छन् । त्यसैले प्रहरी चौकी र बिट स्थापनालाई पहिलो प्राथमिकतामा राखिनु पर्छ । आन्दोलनको क्रममा भएको ज्यादतिबाट प्रहरी स्वयंको मनोबलसमेत खस्केको छ । उनीहरुको मनोबल बढाउन नागरिक समाजले हातेमालो गर्नुपर्छ । पोखरा महानगर, वडा कार्यालय र सवैजसो सरकारी भवनहरु तोडफोड,लुटपाट र आगजनीबाट खण्डहर बनेका छन् । अहिलेको अवस्थाबाट मुक्तिका निम्ति ती कार्यालयहरुबाट सक्दो छिटो सेवा प्रवाह गरिनुपर्छ । पोखरा महानगरले वैकल्पिक व्यवस्थासहित सेवा थाल्ने उद्घोष गरेको छ । वडाध्यक्षहरुले पुनः खरानीबाटै उठ्ने प्रण गरेका छन् । जे नहुनपर्ने भइसक्यो । अब विगत सम्झने हैन, आगततिर हेर्ने हो । विषमतामा सबै कुरा भनेजस्तो नहुन सक्छ । सेवा प्रवाहमा झन्झटता आउन सक्छ । ती समस्याहरु परिस्थिति सिर्जित हुन् भन्ने मनन गरियोस् । शान्ति–सुरक्षा र प्रशासनिक सेवा प्रवाहलाई पुरानो अवस्थामा फर्काउन नागरिकबाट भरपुर सहयोग होस् ।




