जेनजी आन्दोलन गणतान्त्रिक संविधानको नभएर पुराना पुस्ताका नेता तथा भ्रष्टाचारप्रतिको असन्तुष्टिको परिणाम थियो । नवयुवाले गुम्सिएको असन्तुष्टि सडकमा पोखे । त्यो विस्फोटले केपी ओली नेतृत्वको सरकारमात्र हटेन,पुराना पुस्ताका नेताहरुलाई अब राजनीतिबाट बिदा लेऊ भन्ने सन्देश दियो । राजनीतिक पार्टीलाई सच्चिन र युवाहरुमाथि भरोशा गर्दै अगाडि बढ्ने नयाँ अवसर पनि जेनजी आन्दोलनले प्रदान गरेको छ । नयाँ जनादेशका लागि संसद विघटन भएको छ । संघीय गणतन्त्रका अन्य आधार स्तम्भहरु राष्ट्रपति, राष्ट्रिय सभा र प्रदेश सभा उही अवस्थामा छन् । चुनावको घोषणा भएको छ । राष्ट्रपतिले प्रष्ट भाषामा जेनजी आन्दोलनको बलमा पुरानो सरकार हटेको र नयाँ अवस्थातर्फ प्रवेश गरेको बताइ सकेका छन् । भदौ २३ को जेनजी आन्दोलन परिवर्तनका निम्ति थियो भन्नेमा कुनै द्विविधा पनि छैन । भदौ २४ मा बिर्सनलायक तर अक्षम्य विध्वंश भएकै हो । अपराध गर्नेहरु दण्डका भागिदार हुनैपर्छ । जेनजी आन्दोलन आफैंमा क्रान्ति थियो । त्यो क्रान्तिको कार्यादेश स्वीकार्नुको विकल्प छैन । तर, पुराना राजनीतिक दलका खास केही नेताहरु प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटनको प्राविधिक विषयको त्यान्द्रो समातेर जेनजी आन्दोलनको अवमूल्यन गर्नेतर्फ अग्रसर देखिएका छन् । पुराना नेताहरु विश्राम लेऊ र नयाँपन बोकेर आऊ भन्ने सन्देशलाई नजरअन्दाज गर्दै सेनाको सुरक्षा (?) घेराबाट निस्कनासाथ यो उपलब्धिलाई चुनौती दिने उद्घोष गरेका छन् । अपाच्य अभिव्यक्ति दिन थालेका छन् ।
ती पाका नेताहरुको चाल हेर्दा जेनजी पु्स्ताको सहादतप्रति उनीहरुबाट व्यक्त सहानुभूति फगत ‘गोहीको आँसु’ हो । उनीहरु चल्बलाउन थालेका छन् । आफू र आफूमातहत रहेका,राज्यकोषको दुरुपयोग गर्दै पालिएकाहरुलाई साथ लिएर परिवर्तनलाई पछाडि धकेल्ने र पुनः सत्ताको हालिमुहाली गर्ने प्रपञ्च रच्न थालिएको प्रतित भएको छ । यसप्रति जेनजी र सचेत नागरिकले पुनः औंला ठड्याउने अवस्था सिर्जना भएको छ । आन्दोलनको राप र ताप सेलाएको छैन । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएकै छैन । मन्त्रिपरिषद्मा जेनजीहरुको हस्तक्षेपकारी उपस्थिति र त्यसउप्रान्त गरिने निर्णयहरुबाट उत्पन्न हुने परिस्थितिबारे पनि अहिले सोचिएको छैन । युवाहरुको आन्दोलन भ्रष्टाचारको खिलाप थियो । सरकारले भ्रष्टाचार छानबिनको लागि उच्चस्तरीय समिति निर्माणलगायतका अन्य सुधारका कामहरु सुरु गर्नै बाँकी छ । त्यस्तो भएमा आफूहरु इतिहासकै कलंकित व्यक्ति बन्ने त्रासकै कारण उनीहरु परिवर्तनलाई उल्ट्याउने,चुनाव नस्वीकार्ने र नयाँलाई नेतृत्व हस्तान्तरण गर्न तम्सिएका छैनन् । यो कुराप्रति वर्तमान सरकार चनाखो बन्नुपर्छ । भ्रष्टाचारीलाई उन्मुक्ति दिने दिशामा अगाडि बढेमा न यो देशमा चुनाव सम्भव छ, न जेनजी पुस्ताको सहादतबाट प्राप्त उपलब्धि नै रक्षा हुन्छ भन्ने कुरा प्रधानमन्त्रीले राम्रैसँग बुझ्नुपर्छ । आफूलाई आन्दोलनले दिएको म्याण्डेट पूरा गर्न यो सरकारले अहिले टाउको उठाएका दलका पुराना नेताहरुको क्रियाकलापप्रति सावधानीपूवर्क नजर लगाउनु पर्छ । हिजो गरिएका गल्तीबाट उन्मुक्ति दिने कार्य किमार्थ गरिनु हुँदैन । दलका नेताहरुले पनि बुझ्नुपर्ने के हो भने –पुनः मै सत्ता हूँ भन्ने मानशिकताले अगाडि बढ्दा कलंकको अझ कालोटीकाबाहेक केही प्राप्ति हुँदैन । चुनावमा जानुको विकल्प छैन । अतः त्यसकै तयारीमा लाग्दा बेश हुन्छ ।




