आज घटस्थापना । देशमा यति बिघ्न ठूलो घटना नघटेको भए,नवयुवाहरुको ज्यान नगएको भए दशैंको रौनक केही दिनअघि नै सुरु हुन्थ्यो । बजारमा किनमेल पनि ह्वात्तै बढ्थ्यो । तर, जेनजी आन्दोलनको क्रममा भएको ठूलो जनधनको क्षतिले दशैंको आगमनलाई छायाँमा पारिदियो । ठूला व्यापारिक प्रतिष्ठानहरु जलेर खरानी हुँदा,बजारमा रहेका निजी क्षेत्रका संरचनाहरु जलाइएकाले पनि बजारले पनि दशैंको खुलेर स्वागत गर्न सकेन । तर, नयाँ सरकारको गठन,चुनावको घोषणा र निजी क्षेत्रलाई राज्यले दिएको ढाडससँगै देश पुनः बौरिएला भन्ने आशा पलाएको छ । त्यसै पनि, चाडबाडलाई सार्न मिल्दैन । र, दशैं आएको छ । दशैं मनाउन सहरबाट आफ्नो थातथलो फर्कने क्रम सुरु भएको छ । जेनजी आन्दोलनको तोकिएको समयमा परीक्षा संचालन गर्न नसक्दा विद्यालय खुलेका छन् । परीक्षा सकिनासाथ लालाबाला लिएर गाउँ फर्कने उपक्रम ह्वात्तै बढ्छ । तर, लाखौं मान्छे फर्कने बाटोको अवस्थाले भने धेरैलाई झस्काएको छ । पानी पर्ने उपक्रम रोकिएको छैन । वर्षासँगै बाढी, पहिरोका कारण राजमार्गहरु अवरुद्ध छन् । सवैभन्दा चल्तीको नारायणगढ–मुग्लिङ सडक ४८ घण्टासम्म अवरुद्ध रह्यो । मध्यपहाडी राजमार्गका विभिन्न खण्डको अवस्था उस्तै छ । सडक डिभिजनले आइतबारसम्म ११ वटा सडक अवरुद्ध भएको जानकारी गराएको थियो । केही स्थानमा रात्रीकालीन यातायात संचालनमा रोक लगाएर, पहिरा पन्छ्याउने र डाइभर्सन निर्माण गरेर यातायात सुचारु गर्ने प्रयत्न भइरहेको छ । तर, वर्षा नरोकिएकाले जोखिम भने उस्तै छ । चाडबाडमा सजिलै सवारी साधन नपाइने, क्षमताभन्दा बढी यात्रु चढाउने प्रवृत्ति एकातिर छँदैछ भने अर्कोतिर सडकको अवस्थाले त्रास बढाएको छ । अतः यो बेला सरकार र सडक विभागले अझ बढी क्रियाशिलता प्रदर्शन गर्नु जरुरी देखिएको छ ।
पहिलो–सडक सुचारु गराउन सडक विभागले सम्पूर्ण शक्ति लगाओस् । पहिरो पन्छ्याउने उपकरणहरुको व्यवस्थापन गरियोस् । पहिरो र बाढी आउने सम्भावित क्षेत्रहरुमा सुरक्षा सतर्कता बढाइयोस् । रातको समयमा त्यस्ता क्षेत्र निषेधित गरियोस् । कथंकदाचित दुर्घटना भइहाले तत्काल उद्धारमा खटिने जनशक्ति तम्तयार अवस्थामा राखियोस् ।
दोस्रो– नागरिकलाई सचेत तुल्याउने,यातायात व्यवसायीलाई क्षमताभन्दा बढी यात्रु नचढाउन निर्देशन जारी गरोस् । राजमार्ग र मुख्य सडकमा ट्राफिक प्रहरीको निगरानी रहने भए पनि ग्रामीण सडकहरुमा प्रहरी पुग्ने अवस्था छैन । अहिले सवैभन्दा बढी खतरा ग्रामीण सडकहरुमा देखिएको छ । सकसपूर्ण यात्रा गरी गाउँ नजिकै पुगेकाहरुलाई कति बेला घर पुगौँजस्तो लाग्नु स्वभाविक हो । तर, गाउँका बाटाहरुमा न भनेको समयका गाडी पाइन्छ, न सजिलोसँग त्यसमा चढ्न सकिन्छ । क्षमताभन्दा बढी यात्रु चढाएर गाउँ उक्लँदा दुर्घटनाको जोखिम बढी हुन्छ । त्यही जोखिम न्यूनीकरण गर्न म्याग्दीमा यातायात व्यवसायीहरुलाई क्षमताभन्दा बढी यात्रु चढाउन आग्रह गरिएको छ । यातायात व्यवसायी राजी बनेका छन् । यो खुुसीको कुरा हो । गाम्रीण सडकको सुुरक्षाको निम्ति पालिकाहरुले यस्तै अभ्यास गरून् । चाडबाड मनाउन गाउँ फिर्न लागेकाहरु सुुरक्षित रुपले घर पुगून् । त्यसो त, आफ्नो सुरक्षाको निम्ति यात्रुहरुले पनि सचेतता अपनाऊन् । ज्यानभन्दा ठूलो केही छैन भन्ने मनन गरून् ।




