जेनजी आन्दोलनको बेला राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँगै नख्खु कारागारबाट भागेका एक बन्दीले घर पुगेर श्रीमतीको हत्या गरेका छन् । बलात्कार मुद्दामा दोषी ठहर भइ जेल परेका उनी लामो समयसम्म पनि नसुध्रेको र आपराधिक क्रियाकलाप नछाडेको त्यही घटनाले प्रमाणित गरेको छ । कञ्चनपुरमा एक बलत्कारीले पुनः बलत्कार प्रयास गरेको घटनाबाट पनि त्यही सत्य पुष्टि हुन्छ । जेनजी आन्दोलनको क्रममा देशभरका कारागारबाट १३ हजारभन्दा बढी कैदी–बन्दी भागेका थिए । तीमध्ये आधाजसोलाई पुनः कारागार फर्काइएको गृह मन्त्रालयले जनाएको छ ।
तर, गम्भीर अपराध मुद्दामा जेलमा रहेकामध्ये आधाजसो बाहिर रहँदा सुरक्षा चुनौती बढेको छ । समाज त्रसित बनेको छ । अपराध कर्मको सजाय भोगिरहेकाले पुनः त्यही प्रकृतिका घटना घटाउन सक्छन् । अहिले ती अपराधीबाट मात्र नभएर प्रहरीबाट लुटिएका हतियारले पनि आम नागरिकको निन्द्रा खोसेको छ । पोखराकै कुरा गर्दा यहाँबाट लुटिएका ४२ वटा प्रहरीका हतियारमध्ये २१ वटा फेला परेका छैनन् । आन्दोलनको क्रममा देशका विभिन्न ठाउँबाट प्रदर्शनकारीले प्रहरीका हतियार लुटेका थिए । ती हतियारको दुरुपयोग हुने सम्भावना पनि उत्तिकै छ ।
पोखराको वडा प्रहरी कार्यालय बगरबाट लुटिएकामध्ये ३०३ राइफल ८ नाल, हर्नेट राइफल ३ नाल, सर्टगन १ नाल, ग्यासगन १ र पेस्तोल ६ थान भेटिएको छैन् । यस्तै सिआरभी लामाचौर र जिल्ला प्रहरी कार्यालय कास्कीबाट लुटिएकामध्ये १÷१ थान पेस्तोल नभेटिएको प्रहरीको भनाइ छ । हतियार लुटेराहरु पक्कै पनि सही नियतका हैनन र हुँदैनन् । उनीहरुले जतिबेला पनि त्यसको दुरुपयोग गर्न सक्छन् । यो तथ्यलाई प्रहरी प्रशासनले गम्भीरतापूवर्क लिएको छ र हतियार फर्काउने अभियान पनि थालेको छ । तर, परिणाम आइसकेको छैन । त्यसैले सुरक्षा चुनौती पनि बाँकी नै छ ।
यो विषमतालाई मध्यनजर राख्दै नागरिकहरुले सुरक्षामा विशेष चासो राख्नुपर्ने भएको छ । जेनजी आन्दोलनको राप र ताप बाँकी छ । सुरक्षा व्यवस्था चुस्त–दुरुस्त बन्न सकेको छैन । प्रहरीको कार्यालय नै जलेको अवस्था छ । भुइँमा सुतेर सुरक्षामा खटिनुपर्ने बाध्यता छ । दशैं नजिकिएको बेला यत्तिकै पनि चोरी–डकैती बढ्ने गरेको तथ्याङ्क छ । झन अहिले त स्थिति खराब छ । यस्तो बेला नागरिक र सुरक्षा निकायबीच सहकार्यको असाध्यै जरुरत छ । नागरिकले शंकास्पद गतिविधि गर्ने व्यक्तिको सूचना प्रहरीलाई दिने र आवश्यक परेको बेला तत्काल प्रहरीको सहयोग लिनका निम्ति टोलस्तरमै जनपरिचालन गर्न सकिने विकल्पबारे पनि सोच्नुपर्छ । मुख्य कुरा, अपराध कर्म गरेकाहरुलाई पुनः कारागार फर्काउन सम्पूर्ण शक्ति परिचालन गर्नुपर्ने भएको छ ।




