बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तीन लाख तिरेर मल्लाज कोतको राँगो छिनाए अनुजले

तीन लाख तिरेर मल्लाज कोतको राँगो छिनाए अनुजले


  • ढोरपाटन संवाददाता
  • असोज १७ २०८२, शुक्रबार

पर्वत/ जिल्लाको जलजला गाउँपालिका–३ मल्लाजको मल्लाज कोत भगवतीमा बलिका रूपमा चढाइने राँगो यस वर्ष तीन लाख रुपैयाँ तिरेर छिनाइएको छ ।

कोत भगवती व्यवस्थापन समितिले पञ्चबली दिने व्यवस्थापन गरेकोमा राँगोको शिर छेदनका लागि गोप्य टेन्डरमार्फत छेदन गर्ने व्यक्तिको टुङ्गो लाग्ने गरेको छ । जसले सबैभन्दा बढी रकम बुझाउने सर्त राखेका हुन्छ उसले नै राँगोको शिर छेदनको मौका पाउने कोत भगवतीको परम्परा रहेको छ ।

यही प्रक्रिया अनुसार यस वर्षको नवदुर्गा पूजामा अनुज मल्लले तीन लाख तीन हजार तीन सय ३३ रुपैयाँमा शिर छेदनको अवसर पाएका हुन् । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार समितिले खरिद गरेको राँगोलाई ‘सरकारी राँगो’ भन्ने गरिएको छ । यसरी छेदनबापत प्राप्त भएको रकमलाई कोषमा राखेर कोत भगवतीको आन्तरिक विकासमा खर्च हुने गरेको छ ।

हरेक वर्ष १०/१५ जनाले राँगोको शिर छेदनका लागि टेन्डर हाल्ने गरेका छन् । सङ्कल्प गरेर टेन्डर हालेकामध्ये जसले यो मौका पाउँछ उसले मनोकांक्षा पूरा हुने विश्वास रहेको छ । नवरात्रीको मौकामा हरेक वर्ष मेला लाग्ने र मेलाको अन्तिम दिन नवमीको दिनमा मेलाको समापन सहित कोत भगवतीको पूजाआजा गर्ने गरिएको छ । सोही पूजाको क्रममा राँगो सहितको पञ्च बली दिने गरिएको हो । ‘राँगोको शिर छेदनको लागि गोप्य टेन्डरबाट बढिबढाउ गरिएको हुन्छ । जसले सबैभन्दा बढी पैसा तिरेको हुन्छ उसले नै छेदनको मौका पाउँछ’, अध्यक्ष आचार्यले भने, ‘समितिले किनेर ल्याउने भएकोले उक्त राँगोलाई सरकारी राँगो भन्ने गरिएको छ । यसरी आएको पैसा कोत मन्दिरको कोषमा राखेर व्यवस्थापन र आन्तरिक विकासका लागि प्रयोग हुन्छ ।’

परापूर्व कालदेखि नै त्यो उक्त ठाउँको सुरक्षाको लागि हतियारहरू राख्ने गरिएको थियो । त्यसैले हरेक दसैँमा दुर्गाको पूजा हुने गरेको छ । धाइरिङ, शालिजा, लेकफाँट, मल्लाज र बाँसखर्कको साझा कोतका रूपमा रहेको उक्त कोत भगवती मन्दिर पुरानो र ऐतिहासिक पनि भएकाले पनि धेरैले मनोकामना पूरा हुने विश्वास गर्ने गरेका छन् । त्यहाँको समुदायले विभिन्न पूजाआजा तथा महायज्ञ लगाएर नियमित पूजाआजाको लागि आर्थिक व्यवस्थापनको काम गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->